
डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो उम्मेदवारीविरुद्ध परेको उजुरीको जवाफ पठाएका छन्।
देउवाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्नी डा. आरजू राणा देउवामार्फत उजुरीको जवाफ बुझाएका हुन्। देउवाले पठाएको जवाफ बिहान साढे ११ बजे कार्यालयमा दर्ता भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए।
देउवाले प्रमाणसहित जवाफ पठाएको उनले बताए। देउवालाई जवाफ पठाउनका लागि दिउँसो २ बजेसम्मको समय दिइएको थियो।देउवाका विपक्षी उम्मेदवार नेपाली कांग्रेस (बीपी) का उम्मेदवार कर्णबहादुर मल्लले जन्म मिति फरक भएको भन्दै दिएको उजुरी दिएका थिए।
डडेल्धुराबाट उम्मेदवारी दिएका प्रधानमन्त्री देउवाको मनोनयनविरुद्ध सोमबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागी आयोगले आइतबार उम्मेदवारी मनोनयन गरेका उम्मेदवारविरुद्ध सोमबार १० देखि ३ बजेसम्म दाबी विरोधको समय तोकेको थियो ।











