गुल्मी । आगामी मंसिर चार गते हुने संघीय तथा प्रदेशसभा निर्वाचनमा गुल्मीमा एउटै पार्टीबाट विभाजित भएका नेताहरूबीच प्रतिस्पर्धा हुने भएको छ । गुल्मी–२ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट र नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीबीच प्रतिस्पर्धा हुने भएको हो ।

०५६ देखि लगातार उम्मेदवार बन्दै आएका विष्ट र लामो समय एउटै पार्टी राजनीति गरेर अलग्गिएकी झाँक्रीबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । गुल्मीमा एकीकृत समाजवादीको बलियो पकड नभएपनि झाँक्री नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका सत्तारुढ गठबन्धन दलको साझा उम्मेदवार रहेकोले दुवै जनाबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।
०४८ सालमा कांग्रेसका रुद्रमणि भण्डारीले जितेबाहेक साविकको गुल्मी–३ र हाल–२ मा वामपन्थीहरुले जित्दै आएका छन् । ०५६, ०७० र ०७४ को निर्वाचन विष्टले जितेका थिए । ०६४ सालमा माओवादीका चन्द्रबहादुर थापाले उनलाई हराएका थिए ।











