
एजेन्सी । क्याटलान क्लब बार्सिलोना च्याम्पियन्स लिगको जारी सिजनको समूह चरणबाटै बाहिरिने संघारमा पुगेको छ ।
बुधबार राति भएको खेलमा इन्टर मिलानसँग ३–३ गोलको बराबरी खेलेसँगै बार्सिलोनाका लागि अघिल्लो चरणको यात्रा कठिन बनेको हो । खेल बराबरीमा सकिएसँगै समूह सीमा रहेको बार्सिलोना इन्टर मिलानभन्दा ३ अंकले पछि परेको छ ।
अब यी दुवै टोलीले बार्यन म्युनिख र भिक्टोरिया प्लजेनसँग खेल्न बाँकी छ । यस्तोमा बार्सिलोनाले दुवै खेलमा जित हात पारेको र इन्टर मिलानले दुवै खेल हारेको वा दुवैमा बराबरी गरेको अवस्थामा मात्र बार्सिलोना माथिल्लो चरणमा पुग्नेछ ।
बुधबार खेलको ४०औं मिनेटमा डेम्बेलेले गोल गर्दै टोलीलाई अग्रता दिलाए । ५०औं मिनेटमा बरेला र ६३औं मिनेटमा मार्टिनेजको गोलमा इन्टर मिलानले नतिजा उल्ट्याउँदै खेल २–१ को अवस्थामा ल्याएको थियो ।
८२ औं मिनेटमा बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले बराबरी गोल फर्काए । तर, ८९औं मिनेटमा इन्टरका लागि रोबिन गोसेन्सले अर्को गोल गरे ।
खेलको इन्ज्युरी समयमा लेवान्स्डोस्कीले व्यक्तिगत दाेस्राे गाेल गर्दै हारबाट बचाए ।











