Logo
Logo

झापा-२ : पूर्वसहकर्मीबीच कडा टक्कर


2k
Shares

झापा । यसपटक झापा–२ मा एमालेका प्रदेश इन्चार्ज देवराज घिमिरे र एमालेकै पूर्व नेता हरी रानाको उम्मेदवारीले सबैको ध्यान खिचेको छ ।

अरु दलका र स्वतन्त्र उम्मेदवार पनि मैदानमा छन् । तर, घिमिरे र रानाबीच नै मुख्य प्रतिस्पर्धा हुने छ । अर्जुनधाराका निर्वतमान मेयर राना एमाले छाडेकै दिन माओवादीबाट टिकट लिएर घिमिरेलाई चुनौती दिँदैछन् ।

रानालाई गठबन्धन दल कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ । एमाले उम्मेदवार घिमिरेलाई राप्रपा र जसपाले सघाउँदै छन् । दुवै नेता ४० वर्षदेखि एमालेको राजनीतिमा थिए ।

व्यक्तिगत रूपमा पनि राम्रै सम्बन्ध थियो । तर, समयको चक्रले एकअर्काको प्रतिस्पर्धी बनायो । टिकट नपाउने अवस्था भएपछि एमाले परित्याग गरी माओवादी रोजे । घिमिरेका लागि संसदीय चुनाव पहिलो हो । एमालेमा लामो राजनीति गरे पनि पहिलो पटक सांसदका लागि मैदान उत्रेका हुन् ।

घिमिरे कुशल संगठक हुन् । पाका राजनीतिज्ञ भएकाले अन्तरपार्टी कलह मिलाउन उनको भूमिका खोजिने गरेको छ । पहिलेका निर्वाचनमा झापामा एमाले जिताउन रानाको प्रमुख भूमिका हुने गरेको थियो । यसपटक एमालेलाइ नै चुनौती दिइरहेका छन् । गठबन्धनको चुनौति सहजै पन्छाउने एमाले उम्मेदवार घिमिरेको भनाइ छ ।

राप्रपाको मत पनि पाउँने भएकाले निर्वाचन सजिलै जित्नसक्ने विश्लेषण एमालेको छ । तर, यहाँ एमालेलाई त्यति सहज भने छैन । एमालेभित्रै टिकट नपाएका बिर्तामोडका निवर्तमान मेयर ध्रुवकुमार शिवाकोटी, पूर्व सांसद पवित्रा निरौला, एमालेका पूर्वसचिव नरेश खरेल र प्रेम गिरीको असन्तुष्टिले चुनौतिको पहाड खडा भएको छ । यो क्षेत्रमा अर्जुनधारा र बिर्तामोड नगरपालिका पर्छन् ।

दुवैमा एमालेले मेयर–उपमेयरसहित १६ वटा वडा जितेको छ । स्थानीय निर्वाचनमा एमाले ३३ हजार ३ सय ७२, कांग्रेसले ३२ हजार ६ सय ७२, राप्रपाले ९ हजार ५ सय ३१, माओवादीले २ हजार ४ सय ३७, जसपाले ५ सय ३ र एस १ सय ७३ मत पाएका छन् ।

यसले सत्तारुढ गठबन्धनभन्दा एमाले बलियो देखाएको छ । तर, राना राना एमाले पृष्ठभूमिको फाइदा उठाएर निर्वाचन जित्ने दाउमा छन् । रानालाई राप्रपाको पनि लोकप्रिय भोट खस्ने गठबन्धनको दाबी छ ।

राना सहयोगी र सरल नेताका रूपमा परिचित छन् ।

प्रतिक्रिया दिनुहोस्