काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले शुक्रबार (आज)बाट आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकोमा बाँकी रहेको ५० हजार ३१० कित्ता शेयर सहित ६ लाख ७० हजार ३१० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
यसमध्ये ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ६ लाख २३ हजार ३८९ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले निष्काशन गरेको शेयरमा छिटोमा कार्तिक १ गतेसम्ममा आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।












