Logo
Logo

नवौं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा आर्मीको विजयी सुरुआत


65
Shares

दमौली । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तनहुँमा आजदेखि सुरु भएको महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लवले विजयी सुरुआत गरेको छ ।

व्यास नगरपालिका–१ निर्मल माविस्थित खेलमैदानमा भएको उद्घाटन खेलमा मधेश प्रदेशलाई पराजित गर्दै विभागीय टिम त्रिभुवन आर्मीले विजयी सुरुआत गरेको हो । विजयसँगै त्रिभुवन आर्मी क्लवले दुई अंक जोडेको छ ।

त्रिभुवन आर्मी क्लवले मधेश प्रदेशलाई ७१–१३ अंकले पराजित गरेको नेपाल बास्केटबल संघका केन्द्रीय सचिव फणिन्द्रमान श्रेष्ठले जानकारी दिए ।

त्रिभुवन आर्मी क्लवले पहिलो क्वाटरमा २२–०, दोस्रो क्वाटरमा २२–६, तेस्रो क्वाटरमा १४–४ र चौथो क्वाटरमा १३–३ अंक प्राप्त गरेको थियो । खेलमा त्रिभुवन आर्मी क्लवका रोशनी श्रेष्ठले सबैभन्दा बढी २१ अंक जोडेका थिए । मधेश प्रदेशका तर्फबाट पुष्पा बलामीले सात अंक जोडेका थिए ।

प्रतियोगिता अन्तर्गत शनिबार छ खेल आयोजना हुनेछ । पाँच जना खेल्ने (फुलकोर्ट)तर्फ दुई र तीन जना खेल्ने (थ्री वाई थ्री)तर्फ चार खेल सञ्चालन हुनेछ । खेल लिगका आधारमा सञ्चालन हुने जनाइएको छ ।

पाँच जना खेल्नेतर्फ शनिबार बागमती प्रदेश र प्रदेश–१ तथा त्रिभुवन आर्मी क्लव र सुदुरपश्चिमबीच खेल हुनेछ । तीन जना खेल्नेतर्फ बागमती प्रदेश र मधेश प्रदेश, त्रिभुवन आर्मी क्लव र लुम्बिनी प्रदेश, सुदुरपश्चिम प्रदेश र प्रदेश–१ तथा सशस्त्र प्रहरी र गण्डकी प्रदेशबीच खेल हुनेछ ।

प्रतियोगितका लागि फुल कोर्ट (पाँच जना खेलाडी) र थ्री वाई थ्री (तीन जना खेलाडी)का लागि छुट्टाछुट्टै समूह विभाजन गरिएको छ । पाँच जना खेलाडी खेल्नेतर्फ समूह ‘ए’ मा नेपाल आर्मी, सुदुरपश्चिम प्रदेश र मधेश प्रदेश छन् भने समूह ‘बी’मा बागमती, गण्डकी प्रदेश र प्रदेश–१ छन् ।

तीन जना खेलाडी खेल्नेतर्फ समूह ‘ए’मा मधेश, बागमती, लुम्बिनी र नेपाल आर्मी छन् भने समूह ‘बी’मा प्रदेश–१, सशस्त्र प्रहरी, गण्डकी र सुदुरपश्चिम प्रदेश छन् ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले नवौ राष्ट्रिय खेलकुद अन्तर्गत एक खेल तनहुँमा गर्न पाउनु गौरवको विषय भएको बताए । वाग्लेले जिल्लामा खेलका पूर्वाधार बनाउनेतर्फ स्थानीय सरकारको ध्यानाकर्षण गराए ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जिल्लामा पूर्वाधार निर्माणका लागि स्थानीय सरकारबीच साझेदारी गर्ने बताए । शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृ्ष्णराज पण्डितले नवौ खेलकुद प्रतियोगिता सम्पन्न गराउन पालिकाको सहयोग रहने बताए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेको अध्यक्षतामा आयोजित कार्यक्रमको अवसरमा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । त्यसअघि दमौली बजारमा विभिन्न जातजाति, विद्यालय, युवा क्लवको लगायतमा झाँकी प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्