Logo
Logo

बीवाइडीको विद्युतीय कार एटो-३ नेपालमा सार्वजनिक, मूल्य ८९ लाख ९० हजार


945
Shares

काठमाडौं । बीवाइडीको विद्युतीय गाडी एटो–३ नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले इलेक्ट्रिक एसयुभी शनिबार एक कार्यक्रमबीच सार्वजनिक गरेको हो ।

कम्पनीले यो गाडीको मूल्य ८९ लाख ९० हजार रुपैयाँ तोकेको छ । साथै बुकिङ पनि खुलेको कम्पनीले जनाएको छ । अहिले गाडी बुक गर्ने ग्राहकले चार्जर र भीटुएल केवल निःशुल्क पाउने कम्पनीले जनाएको छ ।

हाल यो गाडी ४ वटा रङमा उपलब्ध छ भने बुकिङ गरेको एक महिनाभित्र गाडी डेलिभरी गरिने कम्पनीले जनाएको छ ।
चर्चित हास्यअभिनेता हरिवंश आचार्य यो ब्रान्डको नेपालको ब्रान्ड एम्बास्डर हुन् । बीवाइडीको यो गाडी डेडिकेटेट इभी प्लेटफर्ममा तयार पारिएको छ ।

अष्ट्रेलियन एनक्यापमा यसले ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ । यस्तै ग्लोबल एन्क्याप टेस्टमा पनि फाइभ स्टार रेटिङ प्राप्त गरेको छ । बीवाइडीले प्रदान गर्ने रेन्जमा कुनै पनि फरक नपर्ने भएकाले ग्राहकले यो गाडी लामो समयदेखि पर्खिरहेको कम्पनीको भनाइ छ ।

कम्पनीको गाडीमा ब्लेड ब्याट्री प्रयोग गरिएको छ । विश्वको सबैभन्दा धेरै विद्युतीय गाडी उत्पादन गर्ने कम्पनी बीवाइडी आफैं ब्लेड ब्याट्री उत्पादकसमेत हो ।

अहिलेसम्म आएका अन्य ब्रान्डका विद्युतीय गाडीहरुमा भने लिथियम–आयन ब्याट्री प्रयोग भएको छ । यसमा ५० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान भएको जनाइएको छ, जसले २०० एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्दछ ।
बिक्रेता कम्पनी साइमेक्सले हाललाई नेपाली बजारमा ठूलो क्षमताको ६०.४ किलोवाट क्षमताको ब्याट्री प्याक भएको एटो–३ उपलब्ध हुने जनाएको छ ।

यसमा रहेको ब्याट्रीले एक पटकको फुल चार्जमा ४२० किलोमिटर दुरीसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।
यो गाडीमा फास्ट चार्जिङको सुविधा पनि उपलब्ध छ । यसलाई फाष्ट चार्जरबाट चार्ज गर्न ८० किलोवाटको फास्ट चार्जर आवश्यक पर्दछ, जसले ४५ मिनेटमै फुल चार्ज गर्ने दाबी गरिएको छ ।

एटो–३ मा १२.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ, जसमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कम्प्याटिबल कनेक्ट गर्न सकिन्छ ।

सुरक्षाका लागि पनि यस गाडीमा ७ एसआरएस एयरब्याग, इपीएससहितको एबीएस, हिल डिसेन्ट कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल सिस्टम र टायर प्रेसर मोनिटरिङ जस्ता फिचर उपलब्ध छन् ।

यसमा अटोमेटिक इमरजेन्सी ब्रेकिङ सिस्टम छ भने यसमा प्यानोरामिक सनरुफ, रुफरेल, इलेक्ट्रिकल्ली हिटेड र एड्जस्टेबल साइड मिरर, १८ इन्चको अलोय ह्वील, इन्टिग्रेटेड डीआरएल सहितको एलईडी हेडलाइट, एलईडी टेललाइट र ५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले जस्ता फिचर पाउन सकिन्छ ।

यस्तै यसको पछाडि बुट स्पेस अर्थात् डिकीमा १३३० लिटरसम्मको समान अटाउने क्षमताको छ । यस्तै, रियर सिटडाउन पनि गर्न मिल्छ । यसमा एडजष्टेबल सिटहरु छन् । टेलगेट वन टचमा खोल्न र बन्द गर्न सकिन्छ भने रियरक्रस ट्राफिक अलर्टहरुको समेत सुविधा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्