
काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दैछ । आधिकारी उम्मेदवार विरुद्ध परेको बागी उम्मेदवारीको विषयमा छलफल गर्न बालुवाटारमा दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएको नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।
महासचिव भुसालका अनुसार बैठकमा प्रतिनिधि र प्रदेश सभामा गठबन्धन भएका क्षेत्रमा गठबन्धन दलका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई फिर्ता गर्न निर्देशन दिएपनि कतिपयले फिर्ता नलिएकाले उनीहरुलाई कस्तो कारवाही गर्ने भन्नेबारे छलफल हुनेछ ।
‘बागी उम्मेदवारी दिएकाहरुले कसले फिर्ता गरे र कसले गरेनन् भन्नेमा छलफल हुन्छ र फिर्ता नगर्नेलाई कारवाही आआफ्नो पार्टीले कडा कारवाही गर्नुपर्ने हुन्छ, त्यही विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो’, भुसालको भनाइ छ ।
गठबन्धनका शीर्ष नेताले सोमबार नै संयुक्त अपिल जारी गर्ने भएका छन् । अपीलमा गठबन्धनको औचित्य र गठबन्धनका उम्मदेवारलाई किन मत दिने भन्ने बारे खुलाउँदै अपिल जारी गर्न लागेका हुन् ।
त्यस्तै गठबन्धनका प्रमुख दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलना गर्दै छ । दिउँसो ३ बजे पार्टीको केन्द्रिय कार्यालय सानेपामा हुने पत्रकार सम्मेलन मार्फत निर्वाचन लक्षित रणनिति र पार्टीको पछिल्लो गतिबिधिबारे जानकारी गराउने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।











