Logo
Logo

‘माओवादीसँग मिलेर नयाँ यात्रा सुरू गर्न सकिन्छ’


प्रभु शाह, पूर्वएमाले नेता


तपाईंलाई एमालेले टिकट दियो तर, एमालेको चिन्ह छाडेर किन स्वतन्त्र उठ्नुभयो ?
एमालेको केन्द्रीय कमिटी बैठकले एक्लै निर्वाचन लड्ने निर्णय गरेको थियो । तर, त्यो निर्णयलाई अध्यक्ष केपी शर्मा ओलीले मिच्दै उपेन्द्र यादवको पार्टी जसपासँग गठबन्धन गरे । यो गठबन्धन एमालेको नीति र निर्णयविपरीत थियो । ओलीले कुर्सीका लागि अपवित्र गठबन्धन गरेपछि मैले एमालेको चुनाव चिन्ह छाडेर स्वतन्त्र उम्मेदवारी दिएको हुँ ।

एमाले नेताहरू त प्रभु साहबाट गम्भीर धोका भयो भन्दै छन् नि ?
एमाले नेताहरूले उठाएका विषय भ्रमपूर्ण छन् । आफ्नो गल्तीको ढाकछोप गर्न अरूतिर विषयान्तर गर्ने कोसिस उनीहरूले गरेका छन् । गल्ती छोप्न जति कोसिस गरेपनि उनीहरू सफल हुँदैनन् । ओलीले कुर्सीका लागि अपवित्र गठबन्धन गरे । एमालेका नेताहरूले त्यसको विषयान्तर गर्न प्रभु साहले यो गर्यो, त्यो गर्यो भनिरहेका छन् । अहिलेका जनता त्यति मूर्ख छन् जस्तो लाग्दैन जसले जे भने पनि पत्याइहाल्ने ।

नेताले बोल्दा सोचेर बोल्नुपर्छ । जसरी भगवानमाथि अविश्वास हुँदैन, त्यसैगरी नेतामाथि पनि अविश्वास हुनुहुँदैन । जसरी घरको सदस्यले अभिभावकमाथि विश्वास गर्छ, झुटो बोले पनि एकछिन सत्य नै लाग्छ । त्यस्तो सम्बन्ध नेता र जनताको बीचमा हुनुपर्छ । अहिले त नेताहरूको बोलीको ठेगान नै छैन । हावादारी कुरा गर्छन । निष्ठाको राजनीति नै छैन । विश्वासको ठूलो संकट छ । ओली संकटमा भएको बेला पार्टी र पद त्यागेर हामीले साथ दियौँ । मधेसमा एमालेलाई टेक्ने ठाउँ दियौँ । त्यस्तो व्यक्तिलाई समेत दुव्र्यवहार गरिन्छ भने एमालेमा अरूको हालत के होला ?

सत्तारूढ गठबन्धनसँग प्रतिष्पर्धा गर्न अर्को गठबन्धन त आवश्यक परिहाल्यो नि होइन ?
स्थानीय तह निर्वाचनको मतले के देखियो भने एमाले एक्लै निर्वाचन जित्दैन । जे भए पनि मत बढाउने नाममा एमालेले अराजनीतिक काम गरेको छ । निष्ठाको राजनीति गर्दा मत त जनताले बढाउने हुन नि । त्यतातर्फ एमाले नेतृत्वको ध्यानै गएन । कुनै पनि क्षेत्रका एमाले कार्यकर्ताले जसपा चाहियो भनेका छैनन् । अनि किन जसपासँग गठबन्धन गर्न हतार भयो ?

जसपासँगको गठबन्धन देश र जनताको पक्षमा भएको हो कि निजी स्वार्थमा ? जसपालाई साम्प्रदायिक र प्रतिक्रियावादी शक्ति भन्ने एमाले र एमालेलाई संघीयता विरोधी, प्रतिगामी, परिवर्तनको एजेन्डाविरोधी, मधेशविरोधी भन्दै राष्ट्रपतिको पुत्ला जलाउने जसपाबीच कसरी गठबन्धन भयो ? अघिल्लो दिनसम्म त जसपाका कार्यकर्ता राष्ट्रपतिलाई कालो झण्डा देखाउदै हुनुहुन्थ्यो । एकाएक के त्यस्तो आइलाग्यो र गठबन्धन भइहाल्यो ? ओली र यादवबाट अपवित्र राजनीति भयो । भागबण्डाको राजनीति बाहेक यो अरू केही होइन । एमाले–जसपा गठबन्धन देशको पक्षमा पनि छैन, राजनीतिको पक्षमा पनि छैन । यो एमाले र कम्युनिस्ट आन्दोलनको पक्षमा पनि छैन ।

वामपन्थी शक्तिहरू एक ठाउँमा उभिनैपर्छ । नेपालको अहिलेको शक्ति सन्तुलनको स्थिति निर्वाचनपछि तलमाथि हुन्छ । त्यो शक्ति सन्तुलनले नयाँ आवश्यकताको अनुभूति गराउँछ । र, समयको त्यही मागलाई ध्यान दिएर कम्युनिस्ष्टहरूले नयाँ यात्रा सुरू गर्नुपर्छ ।

तर, तपाईंले टिकट खल्तीमा राखेर एमालेलाई धोका दिनुभयो रे नि त ?
टिकट खल्तीमा नराखे कहाँ राख्नुपर्ने हो ? हामीले करिब ५ बजे उम्मेदवारी दर्ता गरेका हौँ । मैले नैतिकता र निष्ठाको राजनीतिलाई कायम राख्ने कोसिस गरेको हुँ । मैले आफ्नो असहमति खुलेर राखेको छु । मलाई अचम्म लाग्छ, त्यत्रो पार्टी, सांसद पद छाडेर आएको प्रभु साहलाई यस्तो व्यवहार गर्ने ओलीले अरूलाई कस्तो गर्नुहोला ?

जसपासँगको छलफलमा तपाईं पनि हुनुहुन्थ्यो नि होइन ?
उहाँहरूले पहिल्यै सहमति गरिसक्नुभएको रहेछ । छलफलमा होइन, म बालकोटमै भएकाले सहमतिपत्रमा हस्ताक्षर गर्ने बेलामा पुगेको थिएँ । त्यही बेला कस्तो सम्झौता रहेछ भन्ने थाहा भयो । त्यसअघि मैले कुनै चाल पाएको थिइनँ । त्यही बैठकमा मैले आफ्नो कुरा भन्न खोजेको थिएँ । तर, उपेन्द्रजीले तपाईंहरूको आन्तरिक कुरा यहाँ नगर्नुस भन्नुभयो । मैले भनेको थिएँ– यो सम्झौता देश र जनताको पक्षमा छैन । हाम्रो पार्टीको पक्षमा छैन । हाम्रो कार्यकर्ताको पक्षमा छैन । यस्तो सम्झौतालाई स्वीकार्न सकिँदैन । मैले स्वीकारे पनि कार्यकर्ताले स्वीकार्दैनन् । कार्यकर्ताले स्वीकारे पनि जनताले स्वीकार्दैनन् ।

तपाईं ओलीसँग निकै नजिक हुनुहुन्थ्यो, यसबारेमा कुरा गर्नुभएन ?
मैले ओलीसँग कुरा गर्ने प्रयास गरेँ । तर, ओलीले समय दिनुभएन । ओली झापा जाने दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म यही विषयमा छलफल गर्न कुरेर बसेको थिएँ । तपाईंले जसपासँग गठबन्धन गरिसक्नुभयो, धनुषामा जस्तै कम्तिमा रौतहटमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न छाडिदिनुस् भनेको थिए । त्यसको पनि सुनुवाइ भएन । सिट दोस्रो कुरा हो, निष्ठा र प्रतिष्ठा हेर्नुपर्छ । एक्लै लड्छु भन्ने निर्णय गर्ने अनि एकाएक उपेन्द्रसँग किन तालमेल ? ओलीले अनैतिक काम गर्नुभयो । जनस्तरबाट यो सम्झौतालाई खारेज गरिन्छ भन्दा पनि ओलीले मान्नुभएन । एमाले अरू पार्टीभन्दा स्पष्ट र व्यवस्थित छ भन्ने लाग्थ्यो । तर, त्यो भ्रम मात्रै रहेछ ।

रौतहटमा तालमेल गर्न नहुने कारण के थियो ?
रौतहटको धरातल फरक छ । मधेशी पार्टीको धरातलविपरीत सेन्टिमेन्ट रौतहटमा छ । त्यहाँ मिल्ने सम्भावना नै छैन । त्यस्तो ठाउँमा जबरजस्ती गर्नुभयो । त्यसपछि मैले साथीलाई राखेर भने, म अनैतिकको राजनीति गर्दिनँ । गौर हत्याकाण्डका पीडितहरू न्यायको प्रतीक्षामा छन, म साम्प्रदायिक घटना गराउनेलाई मतदाताको घरमा लगेर मत माग्न सक्दिनँ । मेरो नैतिकताले त्यस्तो काम गर्न दिँदैन ।

त्यसो भए टिकट किन लिनुभयो त ?
म टिकट लिन बालकोट गएको छैन । मैले टिकटबारे चासो पनि राखेको थिइन । मलाई टिकट घरमै पठाइएको थियो । राति रघुवीर महासेठको पीएले मलाई टिकट छाडेको हो । रौतहट जिल्लाको टिकट भनेपछि मैले लिएको हुँ । रौतहटमा कोही पनि एमालेबाट निर्वाचन लड्ने पक्षमा थिएनन् । मेरै आधारमा झण्डै ११ वटा प्रतिनिधिसभा र २५ वटा प्रदेशसभामा साथीहरूले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराइसकेको अवस्था थियो । मैले जसपालाई नस्वीकार्नुस्, जसपा जहाँजहाँ लड्छ त्यहाँ तपाईंहरू नोमिनेसन दिनुस् भनेको थिएँ ।

अरूलाई स्वतन्त्रबाट लडाएर म एमालेबाट निर्वाचन लड्न मिल्दैन । त्यसो गरेको भए, मबाट गल्ती हुन्थ्यो, निष्ठाको राजनीति हुँदैनथ्यो । यसमा ओलीले सरासर झुटो बोल्नुभयो । म प्रश्न गर्न चाहन्छु– मैले कोसँग टिकट मागे ? मैले तपाईसँग टिकट मागेको छु ? प्रभु साहलाई देखाएर आफ्नो अपराध छोप्न खोज्ने ?

तपाईंले बेलैमा भनिदिएको भए एमालेबाट अर्को उम्मेदवारले मौका पाउने थियो नि ?
एमालेबाट को थियो र मेरो क्षेत्रबाट निर्वाचन लड्न तयार ? एमालेबाट त सर्वसम्मत नामै प्रभु साहको नाम मात्रै थियो । पार्टीका सबै कमिटीबाट प्रभु साहको एकल नाम सफारिस भएको थियो । कोही विकल्पमा थियो र ? रौतहटको साथीहरू जीवितै छन्, उनीहरूलाई सोधे भइहाल्यो नि ।

तपाईं पूर्वमाओवादी पृष्ठभूमिकाको नेता, एमाले पृष्ठभूमिकै कोही नेता निर्वाचन लड्न तयार हुन्थे होला नि ?
एमाले पार्टी विभाजन भएपछि प्रदेशमा जतिजना थिए, त्यसको झण्डै दुईतिहाइको हाराहारी माधवकुमार नेपालसँग गए । रौतहट जिल्लाको ७५ जनाको जिल्ला कमिटीमा ८ जना मात्रै एमालेमा रहे । त्यसको रेकर्ड निर्वाचन आयोगमा अहिले पनि होला । जनप्रतिनिधि बाँडफाँड हुँदा एकाध प्रतिशत बाहेक सबै एकीकृत समाजवादीमा गए । पुरानो एमाले त माधव नेपालतिर थियो । पछि हामीले एमालेलाई फैलाइरहेका थियौँ ।

फेरि पनि एमाले सक्ने काम त ओलीबाटै भयो नि । मधेसमा ओली कमजोर, माधवकुमार नेपालपक्ष बलियो थियो । मधेसमा पार्टी प्रवेशको लहर नै ल्याएका थियौँ । जसले गुण लगाउँछ, त्यसलाई नै नङ्ग्याउने नेताले देश र जनतालाई के गर्ला ?

उपेन्द्र यादव र रघुवीर महासेठसँगको व्यक्तिगत रिसईबीका कारण तपाईंले एमाले छाड्नुपर्ने अवस्था आएको हो ?
माओवादीमा राजनीतिलाई शुद्ध पेशा बनाएर जीवन समर्पण गरेको देखिन्थ्यो । एमालेमा त्यस्तो एकदमै अपवादमा हामीले देख्यौँ । जति पनि ठूला नेताहरू छन्, ती ठूला कारोबारी छन् । ती कारोबारीहरूले राजनीतिक ओहोदा प्राप्त गरेपछि त्यस्तो पार्टीले के गर्ला भन्ने मेरो चिन्ता हो ।

दलाल पुँजीपतिहरूले देशको समृद्धिका लागि काम गर्न सक्छन ? नाफाको लागि कम्पनी खोलेको ठेकेदारले देशको विकास गर्छु भनेर हुन्छ ? एमालेको नेतृत्व तहमा अराजनीतिक मानिस हाबी छन् । राजनीतिक सोचबाट प्रेरित छैनन् । उनीहरू सत्ता र स्वार्थभन्दा बाहिर निस्कनै सकेका छैनन् । एमालेमा सत्तालाई आफ्नो व्यापार, व्यवसाय र कारोबारसँग जोड्ने धेरै रहेछन् । हामी समृद्धिको कुरा गर्छौ, त्यो त श्रमजीविको लागि हुनुपर्छ । दलालपुँजीपतिहरूलाई प्राथमिकता दिएपछि कसरी देशमा समृद्धि आउँछ ? समृद्धि ल्याउनका लागि त्यहीअनुसारको नेतृत्व चाहिन्छ । एमालेमा त्यस्तो देखिएन ।

निर्वाचनपछि तपाईँको भूमिका के रहन्छ ?
नेपाली जनतालाई समृद्धि चाहिएको छ । यसका लागि राजनीतिक नेतृत्वप्रति जनतामा विश्वास जागृत हुनुपर्छ । अहिले नेतृत्वको ठूलो संकट छ । विश्वासको संकट चुलिएको छ । आगामी निर्वाचनले नेतृत्वप्रतिको संकट अन्त्य होस भन्ने मेरो चाहना छ । निर्वाचनपछि अहिलेको परिस्थितमा ठूलो बदलाव आउँछ । त्यो बदलावले एउटा नयाँ बाटोतर्फ हामीलाई निर्देश गर्नेछ र त्यसतर्फ हामी जानुपर्छ । देशलाई समृद्धिको बाटोमा लैजान मेरो मुख्य भूमिका रहन्छ ।

तपाईं एमालेमै सक्रिय हुनुहुन्छ कि माओवादीमा फर्किनु हुन्छ ? कि नयाँ पार्टी बनाउने सोच छ ?
माओवादी निर्वाचनपछि यही रूपमा रहन्छ जस्तो मलाई लाग्दैन । त्यसमा कुनै नयाँ परिवर्तन आउँछ । त्यो नयाँ परिवर्तन अनुसार हामी नयाँ यात्रा सुरू गर्न सक्छौँ ।

फेरि वाम एकताको सम्भावना छ कि छैन ?
वामपन्थी शक्तिहरू एक ठाउँमा उभिनैपर्छ । नेपालको अहिलेको शक्ति सन्तुलनको स्थिति निर्वाचनपछि तलमाथि हुन्छ । त्यो शक्ति सन्तुलनले नयाँ आवश्यकताको अनुभूति गराउँछ । र, समयको त्यही मागलाई ध्यान दिएर कम्युनिस्ष्टहरूले नयाँ यात्रा सुरू गर्नुपर्छ ।

ओलीले एकदम विश्वास गरेको व्यक्ति नै यसरी विद्रोही बन्नुपर्ने अवस्था कसरी आयो ?
सर्वोच्च अदालतले एमाले र माओवादीको एकताबाट बनेको नेकपा भंग गरिदिएपछि म पार्टीको बैठकमा सहभागी हुन छाडेँ । नेकपाको निरन्तरता भन्ने अनि पुरानै शैलीमा पार्टीलाई चलाउने भएपछि समस्या आउने नै भयो । मैले नेकपाकै निरन्तरतामा एमाले जाओस भन्ने सोचेको थिएँ ।

यसमा धेरै लामो अन्तरसंघर्ष चल्यो । विधान महाधिवेशनले नै नेकपाको निरन्तरता भनेपछि एमालेमा म जोडिएँ । समृद्ध नेपाल बनाउने अभियानमा जनादेश प्राप्त भएको थियो । तर, दुई अध्यक्षका कारण अभियान सफल भएन भन्ने निष्कर्षका साथ एउटै अभियान, एउटै नेतृत्व भन्ने हिसाबले ओलीलाई साथ दिएको हो । ओली सबै धारका साझा नेता बनुन भन्ने हाम्रो अपेक्षा थियो । तर, माओवादी पृष्ठभूमिबाट आएका र एमालेकै १० भाइलाई समेटेर जान ओलीले चाहनुभएन ।

माओवादी पृष्ठभूमिका नेतालाई त समेटेकै देखिन्छ त ?
बादलजीले कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने कुरा मिडियाबाट थाहा पाउनुपर्छ । बादल समानुपातिकमा रहेको मिडियाबाट थाहा हुन्छ । फेरि श्रीमतीलाई समानुपातिकमा राखेर बादललाई काठमाडौं–१० बाट निर्वाचन लडाउने कुरा पनि मिडियाबाटै थाहा हुन्छ । अष्टलक्ष्मी शाक्य कहाँबाट निर्वाचन लड्ने भन्ने पनि मिडियाबाटै थाहा हुन्छ । बादललाई बदनाम गराउने काम ओलीबाट भएको छ । बादलसँग सल्लाह नै नगरी श्रीमतीलाई समानुपातिकमा राखिएको छ । सल्लाह नै नगरी काठमाडौं–१० बाट उठ भनेको छ । कमसेकम एक पटक सल्लाह त गर्नुपर्छ ।

अष्टलक्ष्मीले निर्वाचन नलड्ने भनेको त्यसै हो र ?
एमाले पार्टी कसरी चलिराखेको छ भन्ने यो एउटा उदाहरण हो । हाम्रो अपेक्षा ओली सबैको साझा राजनेता बन्ने थियो । तर, ओलीले आफ्नै पार्टीका विभिन्न धाराहरूलाई सन्तुलन गर्न सक्नुभएन । झन् पूर्वाग्रही बन्नुभयो । सबैलाई समेटेर देशलाई अगाडि बढाउनुको सट्टा ओलीबाट बदला साँध्ने काम मात्रै भयो ।

ओलीलाई पनि घुमाउन सक्ने कस्तो नेता भनेर तपाईंमाथि जिज्ञासा राख्नेहरूलाई के भन्नुहुन्छ ?
म त एउटा सोझो किसानको छोरा हुँ । नेपाल समृद्ध बनोस् भन्ने कामना छ । त्यही अनुसार आफूलाई अगाडि सारेको छु । भइरहेको पार्टी, भइरहेको सांसद पद छाडेर हिँड्ने व्यक्ति मै हुँ । अहिले एमालेको स्थायी कमिटी सदस्य छाडेर स्वतन्त्र उम्मेदवार बनेको छु । मैले ओलीलाई घुमाएको होइन, त्याग र निष्ठाको राजनीति गरेको हुँ ।

प्रतिक्रिया दिनुहोस्