काठमाडौं । बैंक अफ काठमाण्डूले तिहारलाई लक्षित गर्दै आफ्ना ग्राहक महानुभावलाई मोबाइल बैंकिङबाट क्यूआर स्क्यान गरी विधुतिय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले २५ प्रतिशतसम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको छ ।

नगद फिर्ता योजना यही २०७९ कात्तिक १ गते मंगलबारबाट २०७९ साल कात्तिक ६ गते आइतबारसम्म मात्र रहने छ । यस योजनाअन्तर्गत बैंकको मोबाइल बैंकिङमार्फत प्रथमपटक क्यूआर स्क्यान गरी कारोबार गर्ने ग्राहकले मात्र नगद फिर्ता पाउनेछन् ।
उक्त नगदफिर्ता योजनाअन्र्तगत बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताले नगद फिर्ताका लागि योजना अवधिको प्रथम कारोबार रकमको २५ प्रतिशत वा रु १५० सम्मको नगदफिर्ता पाउनेछन् । बैंकले यस योजनाबाट समग्र विद्युतीय कारोबारमा वृद्धि हुने विश्वास लिएको छ ।
बैंकले ग्राहक तथा शेधरधनीको उच्चतम् लाभलाई ध्यानमा राखी विभिन्न समयमा ल्याएको विभिन्न ग्राहकमैत्री योजना तथा बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव ल्याएको थियो ।
विद्युतीय कारोबारमा बैंकको ग्राहकलाई उत्प्रेरित गर्ने हेतुले बैंकले विभिन्न इ–कमर्स प्लेटफर्म, विभिन्न होटल, रेस्टुरेन्ट, फिटनेस सेन्टर, स्टोर, अस्पताल, स्वास्थ्य क्लिनिक, इन्स्टिच्युटमा छुट प्रदान गरिरहेको र भविष्यमा पनि विभिन्न नगदफिर्ता तथा छुटको योजनाहरु ल्याई ग्राहकलाई लाभान्वित बनाउन बैंक प्रतिवद्ध रहेको जनाएको छ । हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालय, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।












