
काठमाडौं । काठमाडौं नक्सालमा शङ्कर ग्रुपले ८ अर्ब लगानीमा पाँचतारे होटल हिल्टन निर्माण गरिरहेको छ ।
होटल निर्माणका लागि शङ्कर ग्रुपले ६ अर्ब बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको छ । ६ अर्ब कर्जाको न्यूनतम् ब्याजदर १२ प्रतिशत मात्रै मान्ने हो भने पनि वार्षिक ७० करोड त ब्याजमा मात्रै खर्च गर्नुपर्छ ।
यद्यपि अहिले वाणिज्य बैंकले कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुर्याइसकेका छन् । हिल्टन होटलमा १ सय ७४ वटा कोठा रहनेछन् । यदि होटलमा भएका सबै कोठा ३ सय ६५ दिन नै सञ्चालन हुने हो भने कर्जाको ब्याज तिर्नका लागि मात्रै प्रत्येक कोठाले न्यूनतम दैनिक ९ हजार ५ सय रुपैयाँभन्दा बढी आम्दानी गर्नुपर्छ ।
तर घट्दो अवस्थामा रहेको पर्यटकको सङ्ख्याका आधारमा हेर्दा सो अनुसारको आम्दानी हुने सम्भावना निकै कम छ । जुन समस्या हिल्टनले मात्रै होइन अन्य निर्माणधीन तारे होटलले पनि भोग्नुपर्ने देखिएको छ । कोरोना महामारीको असर, बढ्दो ब्याजदर, पर्यटक आगमनमा भएको सङ्कुचन तथा सस्तो दरमा कोठा बिक्री गर्नुपर्ने बाध्यताका कारण तारे होटलमा भइरहेको अर्बौ लगानी जोखिममा देखिएको जानकारहरुको बुझाइ छ ।
निर्माणाधीन होटलमा कोरोना महामारी, बढ्दो ब्याजदर, पर्यटक आगमनमा भएको सङ्कूचन तथा सस्तो दरमा कोठा बिक्री गर्नुपर्ने बाध्यता छ । होटल एशोसिएशन नेपाल (हान)का अनुसार अहिले मुलुकभरका होटलको औसत ‘अकुपेन्सी’ २५ प्रतिशत छ । अझ काठमाडौँ बाहिरका होटलमा १५ प्रतिशतको मात्रै अकुपेन्सी छ । होटलमा भइरहेको लगानीमाथिको प्रतिफल सुनिश्चितका लागि पूर्ण दरमा बिक्री गर्ने हो भने पनि अकुपेन्सी ९० प्रतिशतभन्दा माथि हुनुपर्छ ।
नेपाल भ्रमण वर्ष २०११ का संयोजक समेत रहनु भएका तथा हानका पूर्वअध्यक्ष पर्यटन व्यवसायी योगेन्द्र शाक्य पनि होटलमा ओइरिएको लगानीमाथिको प्रतिफल सुनिश्चित नभएको स्वीकार गर्छन् । उनका अनुसार हाल तारे होटलले औसतमा प्रतिकोठा ७० देखि ९० डलरसम्म बिक्री गरिरहेका छन् ।
यही अवस्था रह्यो भने होटलहरुले ब्याज मात्रै तिर्न पनि हम्मेहम्मे पर्ने उनको भनाइ छ । ‘यदि पूर्ण दरमा कोठा बिक्री गर्न नसक्ने हो भने कर्जा चुक्ताका लागि मात्रै पनि होटलले बराबरको आम्दानी गर्न सक्दैनन् । होटलले गर्ने आम्दानीको ७० प्रतिशत हिस्सा कोठा बिक्रीबाट आउँछ । बाँकी ३० प्रतिशत आम्दानी खाना र अन्य कार्यक्रममार्फत् हुन्छ’ उनले भने, ‘होटलले लगानीमाथिका प्रतिफल सुनिश्चितका लागि औसतमा कोठा ३ सयदेखि ३५० डलरमा बिक्री गर्न सक्नुपर्छ ।’
तर सो बराबरको खर्च गर्ने पर्यटकको सङ्ख्या नबढ्दासम्म सम्भव नहुने उनको भनाइ छ । ‘सन् २०११ मा नेपाल भ्रमण वर्ष मनाउँदा होटलको सङ्ख्याका आधारमा हेर्दा १० लाख पर्यटक आवश्यक थियो, सन् २०२० मा होटलको सङ्ख्या र पूर्वाधारका आधारमा २० लाख पर्यटक चाहिन्थ्यो भने अब त्यो सङ्ख्या बढेर ३० लाख पुगेको छ,’ उनले भने ।
उनका अनुसार सन् २०११ र २०२० मा पर्यटक ल्याउने लक्ष्य लिनुका पछाडि केही वैज्ञानिक कारण थिए । यसमा बढ्दो होटलहरुको सङ्ख्या र अकुपेन्सीका आधारमा त्यति पर्यटक आवश्यक छ भनिएको थियो । लक्ष्यअनुसार पर्यटक नआउँदाको प्रत्यक्ष असर होटलहरुमा बढिरहेको लगानी र त्यसको प्रतिफलमा देखिने अनिश्चित भएको शाक्यको भनाइ छ ।
उद्योग विभागको तथ्याङ्क हेर्ने हो भने निर्माणाधीन तारे होटलमा भएको लगानी मात्र रु ५० अर्बभन्दा बढी छ । एकातिर धमाधम तारे होटलमा लगानी बढिरहने र अर्कोतर्फ अपेक्षाकृत रुपमा विदेशी पर्यटकको सङ्ख्या नबढ्दा लगानीमाथिको प्रतिफलको सुनिश्चित हुन सकेको छैन ।
करिब ४० वर्षदेखि पर्यटक व्यवसायमा समर्पित वसन्त मिश्र पनि होटलमा भइरहेको लगानीको प्रतिफल सुनिश्चित हुने आधार नदेखिएको बताउँछन् । यद्यपि पर्यटन क्षेत्रमा ओइरिएको लगानीलाई भने उनी सकारात्मक लिन्छन् । सरकारको नीति, पूर्वाधारमा तीव्र विकास, नयाँ गन्तव्यको खोजी,विश्व बजारमा गरिने प्रचारप्रसारमा सुधार नगर्दासम्म अहिले होटलहरुमा भइरहेको लगानीले निर्धारित समयमा प्रतिफल दिन गाहे हुने उहाँको भनाइ छ ।
हानका वरिष्ठ उपाध्यक्ष विनायक शाहका अनुसार नेपालमा सञ्चालित होटलमा ५० हजार कोठा छन् । त्यसबाहेक निर्माण भइरहेका होटलका कारण २ हजार कोठा थप हुनेछन् । एकातिर होटलमा लगानी बढिरहेको छ । अर्कातर्फ आम्दानी सङ्कुचन हुँदै गएको छ । कोरोना महामारीका कारण घटेको पर्यटक आगमनको सङ्ख्या सन् २०१९ मा जत्तिकै पुर्याउन सन् २०२५ सम्म कुर्नपर्ने अवस्था छ ।
उद्योग विभागका अनुसार हाल पाँचतारे मान्यता प्राप्त होटलको सङ्ख्या १७ वटा छ । यसमा कोरोना महामारीपछि दरबारमार्गको होटल डेला अन्नपूर्ण र लाजिम्पाटको होटल सांग्रिला बन्द छन् । त्यसबाहेक सञ्चालित होटलहरुको कोरोना महामारीपछि आम्दानीमा सुधारका सङ्केत देखिन थालेका छन् ।
निर्माणाधीन केही पाँचतारे होटलहरुमा हिल्टन, सेराटन, बुढानीलकण्ठ हेरिटेज, द म्यासिफ, ट्रयाङकुलिटी रोयल, इस्टर्न होटल, सूर्य नेपाल, होटल सेफ्रोन, गोपिकृष्ण कम्प्लेक्स, आयुष्मानलगायतका होटल छन् ।












