Logo
Logo

चुनावी मैदानमा ५ पूर्वप्रहरी अधिकारी, सबैको जित अनिश्चित



काठमाडौं । राजनीतिबारे बनेको गलत भाष्य हो– फोहोरी खेल । तर, भाष्य र वास्तविकता फरक छ । वास्तवमा राजनीतिप्रति सबैको आकर्षण छ ।

राजनीतिलाई सधैँ हाँसोको विषय बनाउनेदेखि ‘राजनीतिक हस्तक्षेपबाट आजित भैँयो’ भन्ने सुरक्षाकर्मी समेत अन्तत राजनीतिमा रसिक हुने गरेका छन् ।

मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा विगतमा राजनीति सुन्नै नचाहने पूर्व सुरक्षा अधिकारी समेत सामेल छन् । उनीहरु राजनीति नै अन्तिम शक्ति हो भन्दै निर्वाचनमा होमिएका छन् । चुनावी मैदानमा पूर्वप्रहरी प्रमुखदेखि सेवा अवधिमा अधिक चर्चा कमाएका अफिसरहरू समेत सामेल छन् ।

पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल महिना दिन अगाडि नेकपा एमाले प्रवेश गरे । साढे दुई वर्षअघि प्रहरी महानिरीक्षक पदबाट अवकाश पाएका काठमाडौं–६ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेका उम्मेदवार हुन् ।

प्रहरी प्रमुख हुँदा र अवकासपछि एमालेका विभिन्न गतिविधिमा सहयोग पुर्याउँदै आएका सर्वेन्द्र प्रहरी सेवामा रहँदा राम्रै पहिचान बनाएका प्रहरी प्रमुख हुन् । 

पूर्वडिआइजी नवराज सिलवाल यसपटक पनि नेकपा एमालेबाट ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । ०७४ मा प्रहरी सेवाबाट राजीनामा दिएलगत्तै एमाले प्रवेश गरेका नवराज लगत्तै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

चर्चित प्रहरी अधिकृत पूर्वडिआइजी रमेश खरेलले ‘सुशासन पार्टी नेपाल’ नामक राजनीतिक दल खोलेका छन् । रमेश त्यस पार्टीका अध्यक्ष समेत हुन् । 

रमेश काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । उनी चुनावी प्रचारमा पूर्णरूपले होमिएका छन् । अन्य दल ठूला–ठूला चुनावी कार्यक्रम गरेर हिँडेका छन् । तर, रमेश भने केही सहयोगीसहित मतदाताको घर–घर पुगेर भोट मागिरहेको छन् ।

त्यसैगरी सशस्त्र प्रहरीका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठ पनि राष्ट्रिय प्रजातन्त्र पार्टीबाटै काठमाडौं–४ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार भएका छन् ।

अर्का पूर्वआइजिपी ध्रुवबहादुर प्रधान पनि चुनावी मैदानमा छन् । ध्रुव राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नवलपरासी–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । ध्रुवले राजनीति रोजेको दुई दशक भइसकेको छ । तर, सांसद बन्ने उनको चाहना भने पूरा भएको छैन ।

पूर्वप्रहरी प्रमुख र चर्चित अधिकारीहरू राजनीतिमा होमिनुलाई निरन्तर शक्तिको चाहनाको रुपमा समेत व्याख्या गर्ने गरिएको छ । तर, राजनीति र प्रहरी सेवा फरक रहेकाले चुनावी मैदानमा उत्रिदैमा उनीहरूले सत्ता र शक्ति प्राप्त गर्न भने भनेजस्तो सजिलो नरहेको विश्लेषण हुने गरेको छ ।

चुनावी मैदानमा रहेको पाँचै पूर्वप्रहरी अधिकारीलाई जित भने सहज छैन । सत्तारुढ गठबन्धनविरुद्ध चुनावी मैदानमा रहेका खनाल र सिलवाललाई गठबन्धन भारी पर्ने देखिन्छ । त्यसैगरी, एक्लै चुनावी मैदानमा रहेका खरेल र राप्रपाबाट मैदानमा रहेका अन्य उम्मेदवारलाई पनि गठबन्धन नै भारी पर्ने भएको छ । 

प्रतिक्रिया दिनुहोस्