Logo

बलात्कार प्रयासको आरोपमा वडा सचिवविरुद्ध मुद्दा दर्ता


Published On : 24 August, 2019

ओखलढुंगा, ७ भदौं । ओखलढुंगाका एक वडा सचिवविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका–७ का वडा सचिव ४५ वर्षीय चेतबहादुर कट्वालविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको हो । वडा सचिव कट्वाल सुनकोशी गाउँपालिकाको च्यानमका स्थानीय बासिन्दा हुन् ।
भदौ १ गते स्थानीय एक २३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको उजुरीका आधारमा वडा सचिव कट्वालविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो । पीडितको जाहेरीपछि आरोपित फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
यसैगरी प्रहरीले बलात्कार आरोपमा एक सरकारी कर्मचारीसहित दुई जनाविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको छ ।
सात वर्षीया बालिका बलात्कार गरेको अभियोगमा मोलुङ गाउँपालिका–६ श्रीचौरका १८ वर्षीय कुमार तामाङविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएको हो । नाताले भाञ्जी पर्ने ती बालिकालाई घरैमा गएर मङ्गलबार बलात्कार गरेपछि अभिभावकको उजुरीका आधारमा घरैबाट पक्राउ गरेर मुद्दा चलाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । रासस

प्रतिक्रिया दिनुहोस्