Logo

‘नेपाल बिआरआईबारे फैलाइएको अफवाहविरुद्ध लड्न तयार’


Published On : 24 August, 2019

काठमाडौं, ७ भदौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले चिनियाँ राष्ट्रपतिले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनालाई असफल बनाउन चालिएका कदमविरुद्ध नेपाल राजनीतिक रुपमा लड्न तयार रहेको बताएका छन् ।
चीनमा आयोजना गरिएको ‘गुआंङडोङ २१औँ शताब्दी म्यारी टाइम सिल्करोड अन्तर्राष्ट्रिय एक्स्पो’मा बोल्दै पूर्वप्रधानमन्त्री ुमेत रहेका नेता खनालले दक्षिण एशियामा बिआरआईका विरुद्ध लक्षित गर्दै चलेका अभियानको कुनै अर्थ नभएको टिप्पणी गरे । उनले त्यस्ता अफवाहविरुद्ध एक भएर लड्न नेपाल तयार रहेको बताए । नेता खनाल चिनियाँ सरकारको निमन्त्रणमा चारदिने चीन भ्रमणमा छन् ।
नेता खनालले सन् २०१७ मा बिआरआईमा नेपाल र चीनबीच भएको समझदारीपछि नेपाल औपचारिक रुपमा बिआरआईमा सहभागी हुने मुलुक बनेको बताए । उनले समझदारीपूर्व विभिन्न चरणमा द्विपक्षीयरुपमा विभिन्न समझदारी भएको स्मरण गर्नुभयो । ती समझदारीपत्र बिआरआईको आधारपत्र तयार गर्न सहायक भएको उनको भनाइ थियो ।
नेपाल र चीनबीच एक हजार ६०० वर्ष पुरानो सम्बन्ध रहेको उल्लेख गर्दै नेता खनालले अब साँस्कृतिक र व्यापारिक आधारमा नेपाल र चीनबीचको सम्बन्ध विकास गरिनुपर्नेमा जोड दिएका छन् । बिआरआईको प्रवाभकारी कार्यान्व्यनका लागि नेपाल–चीन आर्थिक करिडोरको विकास गर्न उनले प्रस्ताव गरे ।
त्यसैगरी ‘ट्रान्स हिमालय इकोनोमी करिडोर’को स्थापना र नेपाल चीनबीचको रेल सञ्जालको सम्बन्धले सिल्क रोडको ल्हासा–काठमाडौँ–भारत खण्डलाई पुनःजीवित पार्ने र जसको लाभ नेपालले लिनसक्ने उनको भनाइ थियो ।

सम्बोधनका क्रममा नेता खनालले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धका बारेमा स्मरण गरेका थिए । ‘काठमाडौँको साँस्कृतिक उत्कृष्टता चीनले आयात गरेको थियो, जुन आज पनि बेइजिङको सेतो प्यागोडाशैलीमा देख्न सकिन्छ, जुन अरनिकोद्वारा निर्माण गरिएको थियो’ उनले भने । दुई देशबीच गहिरो साँस्कृतिक तथा आर्थिक सम्बन्ध रहेको र इतिहासको विभिन्न कालखण्डमा दुई देशबीच वैवाहिक सम्बन्धसमेत स्थापित भएको उनले उल्लेख गरे ।
नेता खनालले अर्थतन्त्र, वातावरण संरक्षण, प्रविधि हस्तान्तरण, संस्कृतिक आदानप्रदानलगायत क्षेत्रमा दुवै देशले सहकार्य गर्नसक्ने प्रशस्त सम्भावना रहेको बताए । ‘आज नेपालले आर्थिक समृद्धि चाहेको छ, जुन दुई देशबीचको आर्थिक तथा सामाजिक सम्बन्धका आधारमा विकसित हुनसक्छ’, उनले भने, ‘कर नीति, कानून, नीति नियम र मुद्राको आदानप्रदानको सिधा प्रणालीलाई सहज बनाउने र अन्य गतिविधिमा दुई देशबीच एक समझदारी हुनु आवश्यक छ ।’
चीनमा आयोजित अर्को एक कार्यक्रममा उनले पर्यावरणको संरक्षण, हिमाली क्षेत्रमा बढ्दो मौसम परिवर्तन र वातावरणीय मुद्दालाई दुवै मुलुकले एक साथ सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए । उनले नेपाल–चीनबीच कृषि तथा चिया, पर्यटन र अन्य विविध क्षेत्रमा द्वीपक्षीय सहयोग आदानप्रदान हुनसक्ने आँैल्याएका छन् । नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० सफल बनाउन चीन सरकारको सहयोगको अपेक्षा गर्दै उनले नेपालले चिनियाँ पर्यटकलाई दिनसक्ने सुविधाका बारेमा दुई देशकाबीच सहकार्य गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्