काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)ले आगामी निर्वाचनका लागि संयुक्त निर्वाचन परिचालन समिति बनाएको छ ।
अनेरास्ववियुको केन्द्रीय कार्यालय बागबजारमा शुक्रबार बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले प्रतिनिधिसभाका १६५ र प्रदेश भाको ३३० वटै निर्वाचन क्षेत्रमा संयुक्तरुपमा निर्वाचन परिचालन समितिको साझा संयन्त्र निर्माण गर्ने र परिचालन गर्ने निर्णय गरेको हो ।

संयुक्त विद्यार्थी संगठनका अध्यक्षहरु गठबन्धनका शीर्ष नेतृत्व र विद्यार्थी संगठनका पूर्व अध्यक्षहरुको निर्वाचन क्षेत्रमा प्रचारप्रसारमा सहभागी बन्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
संयुक्त विद्यार्थी निर्वाचन परिचालन समिति सम्बन्धित निर्वाचन क्षेत्रको बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारसँग जोडिएर परिचालनको कार्यक्रम बनाउने निर्णय गरेको हो ।
साथै संयुक्त विद्यार्थी निर्वाचन परिचालनको निर्वाचन क्षेत्रीय स्तरको बैठक एकआपसमा आलोपालो अध्यक्षतामा बस्ने पनि जनाइएको छ ।
सम्बन्धित निर्वाचन क्षेत्रमा मतदाता भएका संयुक्त विद्यार्थी संगठनका पदाधिकारीहरुसँग आवश्यक समन्वय गर्ने र गठबन्धनमा आवद्ध विद्यार्थी संगठनका विभिन्न निकायमा क्रियाशील सम्पूर्ण नेता कार्यकर्तालाई एक हप्ता भित्र आ–आफ्नो निर्वाचन क्षेत्रमा अनिवार्य केन्द्रित हुन समितिले निर्देशन गरेको छ ।












