Logo
Logo

मेक्सिकोमा फेरि पत्रकारको हत्या


- दृष्टि न्युज/संवाददाता


टोलुका, ८ भदौ (एएफपी) । मेक्सिकोको एउटा समाचार अनलाइनका प्रमुखकको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । सन् २०१९ भित्रै मेक्सिकोमा यो सहित १० जना पत्रकारको हत्या भइसकेको छ ।
मेक्सिकोका सरकारी वकीलले जारी गरेको प्रारम्भिक विवरणमा नेभिथ कोन्डेस जारामिल्लोको शव शनिबार बिहान फेला परेको र शरीरमा तिखो वस्तुले घोचेका निलडाम रहेको उल्लेख छ । प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
तेजुपिल्को नामको सानो शहरमा सञ्चालित स्थानीय अनलाइन सञ्चार माध्यमको प्रमुखको रुपमा नेभिथ कार्यरत थिए । उनी स्थानीय रेडियोमा समेत समाचार वाचकको रुपमा कार्य गर्दथे ।
रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले कोन्डेस जारामिल्लोमाथि जुन र गत वर्षको नोभेम्बरमा अज्ञात समूहले धम्की दिएको बताएको छ । उनले संघीय सरकार समक्ष आफ्नो सुरक्षाका लागि आग्रह गरेका थिए ।
सन् २००० यतामात्र मेक्सिकोमा करिब १०० जना पत्रकारको हत्या भइसकेको छ । लागूपदार्थको अवैध कारोबार र राजनीतिक भ्रष्टाचारका कारण पत्रकारमाथि बारम्बार आक्रमण हुने गरेको छ । मेक्सिकोमा अधिकांश हत्याका घटनाको ठोस अनुसन्धान र दोषीमाथि कारबाही विरलै हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्