Logo
Logo

यस्ता छन् एकीकृत समाजवादीका ८ नीतिगत प्रतिबद्धता (पूर्णपाठ)



काठमाडौं । नेकपा एकीकृत समाजवादीले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित घोषणापत्र सार्वजनिक गरेको छ ।

एकीकृत समाजवादीले घोषणापत्रमार्फत ८ वटा नीतिगत प्रतिवद्धताहरू सार्वजनिक गरेको छ । प्राप्त उपलब्धिको रक्षा र विस्तार, लोकतन्त्रको सुदृढीकरण र विकास, निर्वाचन प्रणालीमा सुधार, सुशासन र पारदर्शिता, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड, आर्थिक–सामाजिक रूपान्तरण ः समाजवादका आधार निर्माण, राष्ट्रिय हित र स्वाभिमानको संवद्र्धन र योजना प्रणालीमा आमूल परिवर्तन गरी ८ वटा विषयमा नीतिगत प्रतिवद्धता जनाएको हो ।

एकीकृत समाजवादीले घोषणापत्रमार्फत जनाएको ८ प्रतिवद्धता (पूर्णपाठ)–

हाम्रा मुख्य नीतिगत प्रतिवद्धताहरू

आदरणीय जनसमुदाय,
अब हामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ का सन्दर्भमा आफ्ना मुख्य नीतिगत प्रतिबद्धताहरू उल्लेख गर्न चाहन्छौँ । हामी यिनै नीतिगत प्रतिबद्धताका आधारमा आगामी दिनमा अगाडि बढ्नेछौँ ।

१. प्राप्त उपलब्धिको रक्षा र विस्तार
नेपाली जनताको लामो र बलिदानीपूर्ण सङ्घर्षबाट मुलुकमा महत्वपूर्ण उपलब्धिहरू हासिल भएका छन् । सामन्ती राजतन्त्रलाई परास्त गरी स्थापना गरिएको समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशिता, सामाजिक न्याय र धर्मनिरपेक्षतासहितको राजनीतिक प्रणाली समाजको आर्थिक–सामाजिक रूपान्तरणको आधारका रूपमा रहेको छ । अहिले मुलुकमा एकातर्पm प्राप्त उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धिहरूका लागि पहल गर्ने पक्ष छ भने अर्कोतर्पm यी उपलब्धिहरूलाई समाप्त गरेर भए पनि आफ्नो स्वेच्छाचारी शासन सञ्चालन गर्ने दुराकाङ्क्षा राख्ने पक्ष छ । अहिलेको निर्वाचनमा यिनै दुई पक्षका बिच प्रतिस्पर्धा हुन गइरहेको छ । हामी प्राप्त उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धिहरूका निम्ति निरन्तर पहल गरिरहने पक्षमा नै मत जाहेर गर्ने छन् ।

२. लोकतन्त्रको सुदृढीकरण र विकास
अहिले मुलुकमा बहुदलीय प्रतिस्पर्धात्मक, समानुपातिक एवं समावेशी सहभागितामुलक विशेषतासहितको लोकतन्त्र कायम छ । यो हाम्रो आफ्नै मौलिक विशेषता हो । यो नै पर्याप्त भने छैन र सुदृढ एवं सुस्थिर बन्न सकेको छैन । यसका विरुद्ध अनेक प्रकारका षड्यन्त्र भइरहेका छन् । हामी यस विरुद्धका सबै षड्यन्त्रहरूलाई परास्त गर्दै यसलाई सुदृढ र सुस्थिर बनाउँन र समाजवादी लोकतन्त्रको रूपमा विकास गर्न चाहन्छौँ । समाजमा व्याप्त गरिबी, अभाव, पछौटेपन, असमानता र विभेदको अन्त्य गर्दै समृद्धि, सामाजिक न्याय र समानतामा आधारित सभ्य एवं सुसंस्कृत समाज निर्माण गर्न सकिन्छ भन्ने हाम्रो दृढ प्रतिबद्धता छ ।

३. निर्वाचन प्रणालीमा सुधार
अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो, भड्किलो र जटिल समेत छ । हामी यस निर्वाचन प्रणलीमा सुधार गरेर सरल र कम खर्चिलो बनाउन चाहन्छौँ । यसै पटक पनि हाम्रो पार्टीले कमभन्दा कम खर्चिलो चुनाव प्रचार अभियान सञ्चालन गर्ने छ र हाम्रा उम्मेदवारहरूले पनि कम खर्चिलो चुनाव प्रचार अभियान सञ्चालन गर्ने छन् ।
४. सुशासन र पारदर्शिता
सुशासन र पारदर्शिता लोकतन्त्रका अपरिहार्य पक्ष हुन् । जनताले सुशासन र पारदर्शिता महसुस गर्न पाएको अवस्था अहिले छैन । भ्रष्टाचार, कमिसनतन्त्र, अपारदर्शिता र ढिलासुस्ती क्यान्सर रोग जस्तै गरी पैmलिरहेको छ । सङ्घीयताको मर्मअनुरूप जनताको घरदैलोमै प्रभावकारी सेवा प्रदान गर्न पनि सकिएको छैन । हामी यस स्थितिमा परिवर्तन गर्नैपर्ने पक्षमा छौँ । भ्रष्टाचारमा शून्य सहनशीलतासहितको सुशासन, पूर्ण पारदर्शिता र सङ्घीयताको मर्म अनुरूप जनताको घरदैलोमै प्रभावकारी सेवाप्रदान नै हाम्रा दृढप्रतिज्ञा हुन् ।

५. आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड
नेपालको पछौटेपन, आयात आधारित राजस्वको मूल स्रोत, डरलाग्दोरूपमा बढ्दै गैरहेको व्यापार घाटा, चर्को बेरोजगारी, कृषिबाट सक्रिय जनशक्तिको पलायन, युवाहरूको विदेश पलायन, ऋणको मात्रामा निरन्तर वृद्धि, बजेटको पुँजीगत खर्च नहुने समस्या, महङ्गीको अचाक्ली वृद्धि, कालोबजारी, उत्पादनका स्रोत–साधनहरूमा दलाल पूँजीपतिहरूको नियन्त्रण, मिटर ब्याजीको शोषण, वित्तीय क्षेत्रमा मौलाएका विकृतीहरू, अभाव र गरिबी नेपाली अर्थतन्त्रका आधारभूत समस्या हुन् । हामीले जबसम्म हाम्रो आफ्नै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सक्तैनौँ तबसम्म अर्थतन्त्रका उपर्युक्त समस्याबाट मुक्त हुन सकिदैन र हाम्रो परनिर्भरता कायमै रहन्छ । कृषि, उद्योग, ऊर्जालगायत क्षेत्रमा उत्पादन वृद्धि र पर्यटन, व्यवस्थापन एवं सूचना प्रविधिजस्ता सेवा क्षेत्रहरूको विकास र विस्तार गरेर परनिर्भरता कम गर्दै जानु र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्नु आजको हाम्रो मुख्य आर्थिक कार्यभार हो । यो कार्यभार वहन गर्नका निम्ति हामी दृढतापूर्व अगाडि बढ्न चाहन्छौँ । यसमा हामीलाई जनताको साथ चाहिएको छ ।

६. आर्थिक–सामाजिक रूपान्तरण : समाजवादका आधार निर्माण
हाम्रो लक्ष्य वैज्ञानिक समाजवाद हो । वैज्ञानिक समाजवाद भनेको सबै जनताका निम्ति खाना, छाना र नना तथा शिक्षा, स्वास्थ्य र रोजगारी उपलब्ध गराइएको, उत्पानका साधनमाथि समान हक भएको र सामाजिक न्याय एवं समानतासहितको समाज व्यवस्था हो । वर्तमान नेपाली समाजमा आर्थिक–सामाजिक रूपान्तरणका लागि व्यापक अभियान सञ्चालन नगरी त्यो अवस्था निर्माण गर्न सकिदैन । आर्थिक–सामाजिक रूपान्तरण अभियान सञ्चालन गर्न प्रतिवद्ध छौं ।

७. राष्ट्रिय हित र स्वाभिमानको संवर्द्धन
हाम्रो राष्ट्र भूपरिवेष्टित मात्र होइन दुई ठुला शक्तिशाली राष्ट्रहरूबिच अवस्थित समेत छ । यो राष्ट्र इतिहासमा कहिल्यै कसैको उपनिवेश भएन तर वेला–वेलामा बाह्य हस्तक्षेपबाट आक्रान्त हुँदै आएको पनि छ । नेपाल कम्युनिष्ट पार्टी आफ्नो स्थापना कालदेखि नै नेपाल राष्ट्रको स्वतन्त्रता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता सम्पन्नता र स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिदै आएको छ । आज पनि हामी त्यही दृढताका साथ उभिने प्रतिबद्धता जाहेर गर्दछौँ । हामी राष्ट्रहरूबिचको समानता, पारस्परिक लाभ, अहस्तक्षेप र सम्मानलगायत पञ्चशीलका सिद्धान्त, संयुक्त राष्ट्र सङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनी मान्यताका आधारमा हाम्रा छिमेकीलगायत सबै देशसँग सुमधुर सम्बन्ध राख्न चाहन्छौँ र अरूले पनि हामीसँग तदनुरूपकै सम्बन्ध राखुन् भन्ने अपेक्षा गर्दछौँ ।

८. योजना प्रणालीमा आमूल परिवर्तन
भौतिक विकास–निर्माणका सन्दर्भमा हाम्रो योजना छनौट र कार्यान्वयन प्रक्रियामा गम्भीर समस्या छन् । योजना छनौटमा दाताहरू र प्रभावशाली ठानिएका नेताहरूको दबाबका कारणले लगानी र प्रतिफलको यथार्थ मूल्याङ्कन नगरी विकास आयोजनाहरू लैजाने प्रवृत्ति गम्भीर समस्याका रूपमा देखापरेको छ । करोडौं लागत लाग्ने योजनाहरूमा बर्सेनी केही लाख मात्र बजेट छुट्याउने प्रवृत्तिले गर्दा योजनाहरू वर्षौंसम्म सम्पन्न हुन नसक्ने र विनियोजित रकमको प्रतिफल प्राप्त नहुने अवस्था रहेको छ । योजनाको छनौट र बजेट विनियोजनको यस प्रणालीमा आमूल परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस्