Logo
Logo

बर्दीमा अपराधः जवानदेखि इन्सपेक्टर थुनामा



काठमाडौं । अपराध नियन्त्रण गर्ने जिम्मेवारी बोकेका सुरक्षाकर्मी आफैँ अपराधमा संलग्न हुन थालेका छन् । पछिल्लो समय जवानदेखि इन्सपेक्टरसम्म आफैँ हिरासतमा छन् ।

इन्सपेक्टर अपूर्व ढुंगाना बलात्कारजस्तो गम्भीर अपराधमा हिरासतमा छन् । इलाका प्रहरी कार्यालय खानीखोलाको प्रमुखका रुपमा कार्यरत रहँदा उनले एक महिला प्रहरीमाथि बलात्कार प्रयास गरेका थिए । १४ असोजको मध्यराती महिला ब्यारेकमा गएर उनले जबर्जस्ती सम्बन्ध राख्ने प्रयास गरेका थिए । भोलिपल्टै उनलाई जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा लिएको थियो । उनीविरुद्ध सोमबार मुद्दा दायर भएको छ ।

यो घटनाले सिंगो प्रहरीकै छवि धुमिल भएको छ । कार्यालय प्रमुखका रुपमा कार्यरत इन्सपेक्टर आफ्नै महिला प्रहरीमाथि यसरी बलात्कार प्रयास गर्नुले प्रहरीभित्र बढेको अनुशासनहीनता समेत प्रष्ट पारेको छ । एक कांग्रेस नेताका आफन्त रहेका इन्सपेक्टर ढुंगाना पावर लगाएरै त्यहाँ गएका थिए । खराब व्यक्तिलाई इन्चार्जमा खटाउन संगठन त्यसबारे पीडित बन्यो ।

आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा एक प्रहरी पक्राउ परेका छन् । कारागारमा लागुऔषध ओसारेको आरोपमा प्रहरी सहायक हवल्दार अपिल भाट यतिबेला थुनामा छन् ।

गत ३१ असोजमा धनगढी उपमहानगरपालिका–७ हुलाकी राजमार्गको मनेहराबाट १३ ग्राम लागुऔषधसहित पक्राउ परेका कैलारी गाउँपालिका–६ बस्ने ३३ वर्षीय यादवकुमार चौधरीको वयानका आधारमा उनी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले हवल्दार भाटलाई निलम्बन गरेर थुनाम राखेर मुद्दा अघि बढाइएको बताए । दुई साताअघि पक्राउ परेका चौधरीले भाटकै सहयोगमा कारागारका कैदीबन्दीका लागि लागुऔषध ओसारपसार गर्ने गरेको बयान दिएको अनुसन्धानमा संलग्न प्रहरीहरूको भनाइ छ । हवल्दारलाई पनि लागुऔषध मुद्दा चलाउने प्रहरी तयारी छ ।

उता सप्तरुमिा प्रहरीबाटै प्रहरीको हत्या भयो । सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) सत्यनारायण यादवको प्रहरी जवान होमबहादुर खत्रीले हत्या गरे । तस्करीको विवादलाई लिएर हत्या गरिएको आकलन गरिए पनि व्यक्तिगत कारणले हत्या गरेको खुलेको छ ।

रक्सी खाँदा झगडा भएको र त्यही आवेशमा हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । गत १९ असोजमा यादवको हत्या भएको थियो । सशस्त्र प्रहरीको छिन्नमस्ता बोर्डर आउटपोष्टमा कार्यरत असइ यादव असोज २० गते भारतमा मृत फेला परेका थिए ।

सुरुमा तस्करको समूहले वा तस्करीको विवादमा हत्या गरेको हुनसक्ने अनुमान गरिएको थियो । अनुसन्धानको क्रममा व्यक्तिगत कारण देखिएको छ । यसअघि पनि उनीहरुको झगडा परिरहने गरेको खुलेको छ । दुवै जना पदीय मर्यादाविपरीतको गतिविधि गरेको आरोपमा कारबाहीमा परेका थिए । तर, पावर लगाएर सधैँ बोर्डरमै बस्थे । झगडाकै कारण उनलाई सहायक हबल्दारबाट जवानमा घटुवा गरिएको थियो । असई यादव पनि रक्सी खाने र झगडा गर्ने तथानाम बोल्ने गरेको खुलेको छ । उनको पनि ५ ग्रेड रोक्का भएको थियो ।

घटना भएको दिन खाना समयमा किन पकाइनस् भन्दै असइ यादवले जवानलाई गाली गरेका थिए । त्यस दिन उनीहरु दुवैले रक्सी पनि खाएका थिए । त्यही आवेशमा हत्या गरेको र शव खोलामा बगाइदिएको बयान उनले दिएका छन् ।

यो घटनाले सशस्त्र प्रहरीको समेत छवि बिग्रिएको छ । सशस्त्र प्रहरीले पनि यस घटनाको छानबिन गरिरहेको छ । एआइजी चन्द्रप्रकाश गौतमको संयोजकत्वको एक समिति नै यसका लागि गठन भएको छ ।

घटनापछि राजविराजस्थित सशस्त्र प्रहरी गणका गणपति एसपी प्रदीप खड्कालाई हेडक्वार्टर तानिएको छ । उनलाई युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, नुवाकोटमा सरुवा गरिएको छ । अहिले त्यहाँ एसपी तीर्थराज पौडेललाई पठाइएको छ ।

गत साउनमा दुई प्रहरी चिनियाँको अपहरण आरोपमा पक्राउ परेका थिए । हबल्दार कर्णबहादुर गुरुङ र शिव सुनुवार अपहरण आरोपमा पक्राउ परेका थिए ।

गत साउनमै इप्रका कोहलपुरका कार्यरत असई प्रवीण चौलागाईँ थुनुवा महिलालाई बलात्कार प्रयासको आरोपमा पक्राउ परेका थिए । गत जेठमा हवल्दार शालिकराज नेपाली सुन लुटपाटको आरोपमा लैनचौरमा पक्राउ परेका थिए । आन्तरिक निरीक्षण र कारबाही प्रणाली बलियो हुन नसक्दा यसरी बर्दीमै अपराध बढ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्