Logo
Logo

नवलपुर- १ : चौथोपटकका उम्मेदवार काेइरालालाई कति सहज ?


567
Shares

फाइल फोटो

नवलपुर । राज्य पुनः संरचनासँगै सिङ्गो नवलपरासी दुई जिल्लामा विभाजन भयो । जिल्ला टुक्रिएसँगै जिल्लाको पूर्वी भाग नवलपरासी (बर्दघाट-सुस्तापूर्व) गण्डकी प्रदेशमा र पश्चिमी भाग नवलपरासी (बर्दघाट-सुस्तापश्चिम) लुम्बिनी प्रदेशमा राखियो ।

पुनःसंरचनासँगै नवलपरासी (बर्दघाट-सुस्तापूर्व) नवलपुरमा सम्पूर्ण संरचना नयाँ निर्माण भए । चार गाउँपालिका र चार नगरपालिका गरी आठ स्थानीय तह रहेको जिल्लालाई दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा विभाजन गरियो । नवलपुरको बौदीकाली गाउँपालिका, बुलिङटार गाउँपालिका, गैँडाकोट नगरपालिका, देवचुली नगरपालिकाका सबै क्षेत्र र कावासोती नगरपालिकाका ११ वटा वडा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा समेटिएका छन् ।

विसं २०४८ देखि नेपाली कांग्रेसले जित्दै आएको नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को क्षेत्र नम्बर १ बाट यसपटक पनि वीपी कोइरालाका पुत्र नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइराला चौथो पटक निर्वाचनमा होमिएका छन् । कोइराला यस क्षेत्रबाट संविधानसभा निर्वाचन २०६४, २०७० र प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा भारी मतका साथ विजयी भएका थिए ।

चौथोपटक निर्वाचन जित्ने कसरतका साथ उम्मेदवार बनेका डा कोइरालाको प्रतिस्पर्धीका रुपमा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णप्रसाद पौडेलले उम्मेदवारी दिएका छन् । नवलपुर क्षेत्र नम्बर १ कांग्रेसको सुरक्षित निर्वाचन क्षेत्र र राष्ट्रिय राजनीतिमा प्रभाव पार्नसक्ने व्यक्ति भएकाले कोइरालाको विकल्प नभएको कांग्रेसको दाबी छ तर, देशव्यापी रुपमा नयाँ नेतृत्वको खोजी भइरहेको बेला र स्थानीय तह निर्वाचन २०७९ मा यस क्षेत्रमा पर्ने अधिकांश पालिकामा एमालेका उम्मेदवार विजयी भएकाले पौडेल विजयी हुने एमालेको दाबी छ ।

विसं २०६४ मा डा कोइरालाले १७ हजार ४३० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी तत्कालीन माओवादीका ठाकुरप्रसाद चापागाईं रहेका थिए । एमाले तेस्रो स्थानमा रहेको थियो । विसं २०७० को निर्वाचनमा कोइराला १८ हजार दुई सय २८ मत ल्याएर दोस्रोपटक विजयी बने । कोइराला विजयी बन्दा एमाले उम्मेदवार दीपक अधिकारी क्षेत्रीले १२ हजार एक सय १० र माओवादीका धनप्रसाद सापकोटाले चार हजार तीन सय १७ मत प्राप्त गरेका थिए ।

त्यस्तै २०७४ सालको निर्वाचनमा कोइराला ३६ हजार छ सय ५२ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी तत्कालीन बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका भविश्वर पराजुलीले ३२ हजार तीन सय आठ मत प्राप्त गरेका थिए । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई हेर्दा कांग्रेसलाई केही सहज देखिन्छ ।

कांग्रेस महामन्त्रीसमेत भइसकेका कोइराला १५ वर्षसम्म संसदमा रहँदा आफ्नो क्षेत्रमा टुक्रे र वितरणमुखी योजनाका कामबाहेक विकासका माध्यमबाट परिवर्तन गर्न नसकेको आरोप खेप्दै आएका छन् । अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनको दबदबा रहेका बेला जित निकालेका डा. कोइराला यसपटक गठबन्धन आफ्नो पक्षमा रहेकाले जित सहज भएको बताउछन्। गठबन्धनले कोइरालालाई सहज बाटो बनाएको कांग्रेसका तर्फबाट गैँडाकोट नगरप्रमुखमा निर्वाचित मदनभक्त अधिकारी बताउछन् ।

विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन नवलपरासी-३ बाट संविधानसभा सदस्य बनेका एमाले उम्मेदवार कृष्णप्रसाद पौडेलले त्यो निर्वाचनमा कांग्रेस उम्मेदवार हालका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई पराजित गरेका थिए । एमालेका पौडेल १४ हजार आठ सय चार मत ल्याएर विजयी हुँदा कांग्रेसका पोखरेलले १४ हजार चार सय ७९ मत प्राप्त गरेका थिए । सो क्षेत्र अहिले नवलपरासी पूर्वको क्षेत्र नम्बर २ मा पर्छ ।

विसं २०४८ यता कांग्रेसले जित्दै आएको नवलपुरको यो क्षेत्र विकासमा पछि परेकाले यो पटक एमालेको जित निश्चित भएको एमालेका तर्फबाट देवचुली नगरपालिका प्रमुख बनेका हरिप्रसाद न्यौपाने बताउछन् । नवलपुरमा एमाले विभाजनको कम असर, बलियो सङ्गठन तथा लोकप्रिय र चिरपरिचित उम्मेदवार भएकाले निर्वाचनको परिणाम आफ्नो पक्षमा आउने एमालेको दाबी छ ।

नवलपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ३१ हजार एक सय ८१ मतदाता रहेका छन् । यहाँ ६२ हजार पाँच सय ९६ पुरुष, ६८ हजार पाँच सय ८४ महिला र तेस्रो लिङ्गी एक मतदाताले ५७ मतदान स्थलका एक सय ५३ मतदान केन्द्रबाट मतदान गर्ने जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालले जानकारी दिए ।

नवलपुर–१ मा प्रतिनिधिसभातर्फ कोइराला र पौडेलसहित १५ जनाले उम्मेदवारी मनोनयन गराएका छन् । पाँच स्वतन्त्रका साथै जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाली पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपालका लागि नेपाली पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय जनमुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसमेत चुनावी मैदानमा छन् । मुख्यतया कोइराला र पौडेलबीच नै चुनावी प्रतिस्पर्धा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्