Logo

फरैना : एक कमलरीको उत्प्रेरक कथा


डी.आर


संगीत र साहित्य फरक विधा । संगीतबाट निस्केको झङ्कारले भित्र कतै स्पर्शको आभास दिलाउँछ भने आख्यानले आफ्नै परिवेशमा घुमाउने गर्दछ । दुवै विधामा पारङ्गत स्रष्टाबाट ‘फरैना’ उपन्यासको प्रादुर्भाव भएको छ । तर, फरैना शब्दले मात्र चित्त बुझाउन सकिन्न, गाह्रो छ ।

भित्र के छ र के हो ? नपढी प्यास मेटिन्न र बाध्य भइन्छ । हेर्दा र समाउँदै सङ्गीतजस्तो लाग्ने उपन्यासभित्र चुरा र घुँगुराको छमछमी धुन सुन्न सकिन्छ ।

दुःख, पीडा र विरहको गीतहरूले परिवर्तन खोजेको भेटिन्छ । बेतिथि, विसङ्गति, असमानता र संघर्षका आवाजले विद्रोहको उद्घोष गर्छ भने प्रगति र सफलताको हरिया फाँटमा मिठो फल फलाएको छ, फरैनाले ।

अनेकौं शब्दहरू सङ्गीत भएर बग्दै गर्दा किनारमा जुगौंदेखिको भूमिपुत्रले पीडादायी जीवनलाई घिसारिरहेको कसैले देखेनन् या त उनीहरूले सुसेलेका कसैले सुनेनन् । तर सङ्गीतकारको कोमल हृदयले त्यो सुसेलीमा फरैनाको धुन भरेर गीत गाउँदै गर्दा आख्यानकार पनि बने ।

ति घटना परिघटनाहरू लेखकको आफ्नै गाउँ ठाउँको सेरोफेरोमा घटेका हुनसक्छ सायद । नेपालको पश्चिम भेगमा पुस्तौंदेखि चलिआएको कमैया प्रथाको अन्त्य गर्न र शोषित वर्गलाई मुक्ति दिलाउन निक्कै मिहिनेत गरेको देखिन्छ ।

गरिब निमुखाहरूको जीवनस्तरलाई जमिनदारले कहिल्यै माथि उठ्न नदिएपछि उपन्यासकारले यस्तो पात्रको जन्म गराइदियो, जो गोठालोबाट माथि उठेर राष्ट्रकै सम्मानित राष्ट्रपति भए ।

जन्मदा नै साहुको ऋणको भारी बोक्न बाध्य कमैयाको दर्दनाक कहानीदेखि देशको प्रमुख हुँदासम्मको फेहरिस्तले एकपछि अर्को ऊर्जा थप्ने काम गरेको छ । चाहे र गरे के हुन्न, भन्ने सकारात्मक सोचको उदय गराएर लक्ष्य प्राप्ति गरेको कथाले पाठकवर्गलाई मज्जाले तान्ने गर्छ ।

हुन त यस्ता कथावस्तु सुन्नमा आइरहे पनि फरैनाले फरक ढङ्गबाट उठाएर समतामूलक सन्देश दिएको देखिन्छ । उनीहरूमाथि जमिनदार र ठुलाबडा साहुहरूको दमन र शोषण त थिँदै थियो ।

जहाँ जति थिचिन्छ र च्यापिन्छ उतिनै त्यसबाट अमृत रस निकाल्ने कोसिस गरेका छन्, लेखकले । गाईवस्तु चराउन जाँदा एउटा बटुवाले सुझाएपछि बाल मस्तिष्कमा कतकता नयाँ सोचको बिरुवा हुर्कन थालेको देखिन्छ ।

एउटा झिङ्नी बस्तीमा थारु समुदाय चरम शोषण र उत्पीडनमा परेको कथाभित्र गरिब र धनीबिचमा ठूलो खाडल छ, जातपातको विभेद छ, कमैया र जमिनदारको अन्तर छ, यौनहिंसाले पिल्सेका छोरीचेलीको आँशु छ । दिनदुःखी विपन्नहरू शिक्षा स्वस्थ्यबाट बन्चित छन् र मान्छेले मान्छेलाई गर्ने व्यवहारमा धेरै भिन्नता छ । त्यसैले न्यायको ढोकासम्म पुग्न फरैनाको रचना गरिएको छ ।

त्यस्ता थिचोमिचोको दलदलबाट थारु समुदायलाई बाहिर निकाल्न फरैना पात्रलाई सक्षम र सामथ्र्यवान बनाउँदै अघि सारेर विजयको यात्रामा लम्केको छ । अनेकौं कठिनाईहरूको सामना गर्दै उपन्यास आफ्नै रफ्तारमा दौडिरहन्छ ।

भूमिपुत्र थारु समुदाय भूमिहिन भएको मुद्दालाई उठाइएको पाइन्छ भने उनीहरूको रीतिरिवाज, संस्कार, भाषा, भेषभूषा, संस्कृति, जीवनयापनको तौरतरिका, मर्दापर्दा र विवाह, झोपडी घर भित्ताहरूमा आफ्नै शैलीको बुट्टा, कलाकृति आदि इत्यदिको वर्णनले सिङ्गो थारु समुदायको इतिहास बोकेर हिँडेको छ, उपन्यास ।

ठाउँ–ठाउँको संवादमा थारु समूदायको मातृभाषा प्रयोग गरेकोले अझ मिठासपन ल्याएको छ । तर त्यै पात्र प्रधानमन्त्री र राष्ट्रनायक भएपछि भाषा, संस्कार संस्कृतिको कुराहरूले खासै प्राथिमिकता नपाएको हो कि जस्तो लाग्यो ।

उता गायन कलामा प्रथम भएकी फरैनालाई काठमाडौंबाट एकै दिनमा गाउँ फर्काईयो । उपन्यासभित्र उपयुक्त फाँटहरू बनाएर सहरको रहनसहनमा भिजाउन पनि सकिन्थ्यो होला ।

सङ्घर्षका अनेक पाटाहरू पनि छन् । फरैनाको परिवारमा एकपछि अर्को दुर्घटनाहरू हुँदै गए । त्यसपछि कुनै उपाय लागेन । जालि फटाहाबाट घर परिवार खरानी भएपछि फरैना बाध्य भएर साहुकोमा कमैया बस्छन् ।

एउटै घरभित्रको फरक व्यवहारले बाल मस्तिष्कमा विद्रोही चेतले कताकता ठोकिरहन्छ । उता जमिनदारको साना छोराछोरीले पनि फरैनालाई स्कुल पठाउनु पर्छ भन्नुमा समानताको सानो झिल्को त्यहाँ झिल्किन्छ । बालकले अनजानमा बोलेको आवाजले बाल अधिकारको संकेत गर्दछ ।

उमेर पुग्दै गएकी फरैनाको सानैदेखिको साथी सोमलालसँगको प्रेम मौलाउँदै जाँदा गाउँका र जमिनदारको छोरा रमेशको दुव्र्यवहारलाई प्रतिकार गर्न सफल फरैनाले नारी आवाजलाई बुलन्द पारेर नारीमा आत्मबल र आत्मरक्षाको एउटा उदाहरण प्रस्तुत गरेका छन् ।

हुन त सानो छँदा झोपडीभित्रको बसाईमा बाआमाले छोराछोरीलाई एकसाईडमा राखेर यौन क्रियाकलाप गर्नु गरिबीको पराकाष्ठ देखाइएको छ भने उता जमिनदारको महलभित्र सुगन्धमय कोठाबाट कस्तो र के आनन्द लिन्छन् होला भन्ने जिज्ञासा र भिन्नतालाई लेखकले चलाखिपूर्ण तरिकाले यौनशिक्षाको राम्रो जानकारी दिलाएको पनि पाईन्छ ।

थारु महिलाहरूले टाटु खोप्नु परम्परागत चिनारी भएपनि कपडाले नछोपिएको भागहरूमा टाटु हान्नाले पुरुषहरूको गिद्घेनजर नपरुन भन्ने बुभिन्छ । जसले गर्दा यौनहिंसाबाट बच्ने उपायको अर्को परम्परागत शैलीलाई प्रस्टाईएको छ ।

टाटुले विवाहित महिला पनि जनाउँछ भने प्रेम प्रतिकलाई जोडेर करुणाभावमा थारुहरू कति धनी छन् भन्ने प्रमाण पेस गरेको पनि देखिन्छ । अर्कोतिर टाटुकै विषयमा मृत्युपछिको वंश चिनाउने काल्पानिक विश्वासलाई पनि उजागर गरिएको हो कि भन्ने लाग्छ ।

जमिनदारको अनेकौं दमन, अन्याय अत्याचारको ठोकाइ र पेलाइबाट फरैना एउटा धारिलो हतियार बनिसकेकी थिई । झिङ्गी र अन्य गाउँ भित्रभित्रबाट विरोधका आवाजहरू उठ्न थालिसकेका थिए ।

सबै गाउँले र थारु समुदायले फरैनालाई भरपर्दो विश्वास पात्र ठान्दै गएपछि आन्दोलनले उग्र रुप लिएको देखिन्छ । दिन प्रतिदिन चर्किँदै गए आवाजहरू, एकपछि अर्को थपिने क्रम जारी थियो ।

समयसँगै सोमलाललगायत धरै मान्छे जनयुद्घमा होमिए । सन्देहको भरमा फरैना जेल परी, फेरि निक्ली । यस्तै प्रक्रिया चल्दै जाँदा फरैनाको अगुवाईमा समूह, गाउँ कमिटी र संगठन हुँदै खुङ्खार नेता बन्न पुगी ।

धूलोबाट उठाएर एउटी नारीलाई प्रगतिको उचाईमा पुर्याउन सक्नु नै लेखनकलाको बेजोड प्रस्तुति मान्न सकिन्छ । लेखकले मिहिन ढङ्गबाट कथालाई सलल बगाउँदै गन्तव्यमा पुर्याउन भरपुर कोसिस गर्नुभएको छ ।

पढ्दै जाँदा कथाको पूर्ण तस्बिरभित्र उपन्यासकारले राम्रो र ठूलो योजना बुनेको भेटिन्छ । जसभित्र थारु समुदायको महत्वपूर्ण र ऐतिहासिक दस्तावेजहरूलाई कलम मार्फत सतहमा उतारेको पाईन्छ ।

उज्यालोको खोजीमा निस्केकी फरैनाले अनेकौं बाधा अड्चनको गाँठाहरू फुकाउँदै र चुडाल्दै अघि बढे । हुँदाहुँदै चरम शोषण र दमनको विरुद्घमा फरैनाले भाषणमा आगो ओकल्न थाले । जुन आगोको लप्काले शोषक र बेतिथिको कसिङ्गरलाई खरानी बनाउँदै लगे ।

जसरी फरैनाले एकपछि अर्को फड्को मार्दै जाँदा शिक्षा पनि अपरिहार्य छ भन्ने बुझाइमा लेखकको ध्यान तानिँदै गएको देखिन्छ, भने शिक्षाले दिएको त्यो उज्याला बाटामा फरैनाले चालेको कदमलाई अरुले पनि पछ्याए ।

कहिलेकाहीँ लेखकको उपल्लो चेतले पाठकलाई कहाँ पुर्याउँछ र केसम्म गराउन सक्छ भन्ने यो फरैना उपन्यास एउटा दृष्टान्त बनेको छ । जमिनदारको घरमा कमलरी बसेकी एउटी कमैयाले अनेकौं पहाडहरू उक्लेर सभासद, मन्त्री हुँदै सम्माननीय राष्ट्रपति भएर मुलुकलाई नयाँ दिशामा लगेर समृद्घ बनाएको कथाले सबैलाई उत्प्रेरणा जगाउने छ ।

थारुहरूको चुलाबाट निस्केको धुवाले आकास ढाक्दै मडारिन थालेपछि चट्याङसँगै झरी र वर्षात गरायो । जसले गर्दा अन्याय र अत्याचारले खडेरी पारेको सारा क्षेत्रमा हरियाली छायो । फरैनाले त्यहाँ ढकमक्क फूलहरू फुलाए ।

(लेखक साहित्यका हुन् ।)

प्रतिक्रिया दिनुहोस्