Logo
Logo

सचिव बढुवामा वरिष्ठलाई अन्याय



काठमाडौं । प्राविधिक सचिव बढुवामा सरकारले वरियता मिचेको छ । शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेपछि सचिव बढुवामा वरियता मिच्ने प्रथालाई अन्त्य गरिएको भनिए पनि चुनावको मुखमा भएको बढुवामा भने वरियता मिचिएको छ ।

रामआधार साह, केशव शर्मा र विश्वबाबु पुडासैनी

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले छानीछानी सचिव बढुवा गर्ने प्रथा चलाएकोमा सरकार परिवर्तनसँगै प्रधानमन्त्री देउवाले त्यो प्रथाको अन्त्य गरेको विश्वास गरिएको थियो ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले तेस्रो नम्बरमा सिफारिस भएका केशव शर्मालाई सचिवमा बढुवा गरेपछि उच्च प्रशासकहरुसमेत आश्चर्यमा परेका छन् । मंगलबार सचिव बढुवाका लागि तीन जनाको नाम सिफारिस भएको थियो । सिँचाइ सचिव सागर राई कात्तिक ७ गते अवकाश भएपछि प्राविधिकतर्फको सचिव पद रिक्त हुन पुगेको थियो । तिहार बिदा लगत्तै कार्यालय खुलेसँगै सचिव बढुवाका लागि बढुवा समितिले ३ जनाको नाम सिफारिस गरेको हो ।

सिफारिस गरिएकामध्ये पहिलो नम्बरमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा कार्यरत सहसचिव रामआधार साह, दोस्रो नम्बरमा बागमती प्रदेशका उद्योग सचिव विश्वबाबु पुडासैनी र तेस्रो नम्बरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत केशव शर्मालाई सिफारिस गरिएको थियो । तर तेस्रो नम्बका शर्माले सचिव बढुवामा बाजी मारेका छन् ।

शर्माको अवधि करिब तीन वर्ष रहेको छ । कम अवधि भएको भए उनलाई सचिवमा बढुवा गरेर न्याय गरियो भन्ने अवस्था हुन्थ्यो । तर उनकै जति जागिर अवधि बाँकी रहेका पहिलो नम्बरका साह र दोस्रो नम्बरका पुडासैनीलाई समेत पन्छाई शर्मालाई अगाडि बढाएपछि प्रशासनिक क्षेत्र रुष्ट हुन पुगेको हो । शर्मा ३ बर्ष सडक विभागको महानिर्देशक समेत थिए । सडक विभागको महानिर्देशक हुँदा परामर्शका बीसौं करोडका प्याकेजहरु सितारा कन्सलटेन्सीका कृष्णप्रसाद सापकोटासँग मिलेर सेटिङमा विनाप्रतिस्पर्धा दिने गरेको आरोप लागेको थियो ।

सडकका इञ्जिनियर शर्मा जागिरे अवधिमा अकूत सम्पत्ति जोड्ने भाग्यमानी राष्ट्रसेवकका रुपमा चिनिन्छन् । अहिले अख्यियारमा कार्यरत रहनु, अकूत सम्पत्ति जोड्नु र काँग्रेस निकट हुनु उनका लागि सचिव बढुवाको योग्यता बन्यो । विगत तीन महिनादेखिनै बढुवाका लागि लविङ गरेका शर्माले बढुवाका लागि प्रधानमन्त्री पत्नी डा.आरजु देउवालाई ठूलै थैलो चुनाव खर्च बुझाएको चर्चा छ ।

भूमिगत शैलीमा सेटिङ मिलाउने दक्षता भएका शर्मा बढुवासँगसँगै मालदार मानिने सिँचाइ मन्त्रालयको सचिवमा पोष्टिङ गराउन सफल भएका छन् । सिँचाइ सचिव बन्नका लागि विज्ञान सचिव प्रमिला बज्राचार्य, नेपाल ट्रष्टका सचिव सर्जुकुमार वैद्य, प्रधानमन्त्री कार्यालयका सचिव सुरेश आचार्यको चर्को लविङ थियो । पुरानालाई पन्छाउँदै अख्तियार र पैसाका बलमा सिञ्चाई मन्त्रालय सम्हाल्ने अवसर पाएका हुन् ।

यसैबीच, शहरी विकास सचिव रमेश सिंहले मंसिरको पहिलो साता अवकाश पाउँदैछन् । सचिव बनेपछिका अधिकांश समय शहरी विकास मन्त्रालयमै बिताएका सिंहको अवकाशपछि सो स्थानमा जान फेरि सचिव बढुवा मिच्ने प्रयत्न भित्रभित्रै चलिहरेको छ ।

यसअघि चौथो नम्बरमा रहेका अर्जुन थापा अबको बढुवा सिफारिसमा तेस्रो नम्बरमा पर्दैछन् । सडक विभागका हालका महानिर्देशक रहेका थापाले शर्माकै शैली पछ्याउँदै घरदैलो अभियान थालिसकेका छन् । उनको दौडधूप बढ्नुको कारण पनि खाली हुन लागेको शहरी विकास मन्त्रालयको सचिव पद नै हो ।

प्रतिक्रिया दिनुहोस्