Logo
Logo

किन जाग्छ कलाकारलाई नेता बन्ने रहर ?



काठमाडौं । कुनै समय नेपाली फिल्म क्षेत्रकी ‘हटकेट’ रेखा थापा यतिखेर चुनावी प्रचारप्रसारमा व्यस्त छिन् । पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को राजनीतिमा लागेकी रेखा मोरङ निर्वाचन क्षेत्र नम्बर–३ बाट उम्मेदवार छन् । उनी फिल्म क्षेत्रमा मात्र नभएर चुनावी मैदानमा पनि ‘हटकेक’ बनेकी छन् ।

चुनाव जित्नु/नजित्नु बेग्लै कुरा । तर, रेखा जहाँ पुग्छिन्, त्यहाँ दर्शकको भीड देखिन्छ उनका वरिपरी बालकदेखि बृद्धबृद्धासम्म झुम्मिने गर्छन् उनीहरुलाई रेखाले भन्ने गरेकी छन्, ‘यो क्षेत्रको माटो र यो क्षेत्रका हरेक घरपरिवार मेरा आफन्त हुन् । मैले यहाँको रक्षा गर्नुपर्छ र गलत प्रवृत्तिको अन्त्य गर्नुपर्छ । त्यसैले तपाइँहरुले यसपाली मलाई जिताउनुस् है ।’

निर्वाचन आउन धेरै दिन छैन । आम निर्वाचन–२०७९ अर्थात मंसिर ४ गते नजिकिँदै छ । निर्वाचन नजिकिँदै गर्दा रेखा थापामात्र होइन, थुप्रै कलाकारलाई चुनावी चटारोले छोएको छ । अहिले दर्जनभन्दा बढी कलाकार चुनावी मैदानमा छन् । तीमध्ये केही पार्टीगत छन् भने केही स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका हुन् ।

कुनै समय कलाकारहरु दलका प्रचारप्रसारको साधनमात्र थिए । तर, अहिले कलाकारहरु खुला राजनीतिमा देखिन थालेका छन् । विशेषगरी तत्कालीन नेकपा माओवादी खुला राजनीतिमा आएसँगै कलाकारहरु पनि राजनीतमा खुल्न थालेको पाइन्छ ।

माओवादी खुला राजनीतिमा आएसँगै सभा र सम्मेलनहरुको बढुवा भयो । त्यसपछि एक माओवादी कार्यक्रममा प्रचण्डसँग ‘लालूपाते नुइयो भूइँतिर’ गीतमा नाचेर चर्चा बटुलेकी रेखा थापा अहिले राप्रपाको उम्मेदवार छिन् ।

२०७० सालतिर प्रचण्डसँग नाच्दा उनलाई माओवादी राजनीतिमा लागेको आरोप लागेको थियो । त्यो आरोप स्वभाविक थियो किनकि, त्यसअघिसम्म कलाकार खाशै राजनीति दलका कार्यक्रममा खुलेका थिएनन् ।

दर्शकले माओवादीमा लागेको आरोप लगाएपछि २०७० को निर्वाचनमा रेखालाई माओवादीले प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउने प्रयास नगरेको होइन । तर, त्यो समय मतदाता नामावलीमा रेखाको नाम नभएपछि असफल भयो । अहिले उनलाई राप्रपाले उम्मेदवार बन्ने अवसर दिएको छ ।

यस्तै, गायन क्षेत्रमा स्थापित सञ्चारकर्मीसमेत रहेकी कोमल वलीले पछिल्लो समय राजनीतिमै ‘फुलटाइमर’ छन् । अहिलेसम्म ब्याचलर कोमल वली विशेषगरी ‘पोइला जान पाउँ’जस्ता गीतहरु गाएर चर्चामा छाइरहेकै बेला नेकपा एमालेको राजनीतिमा लागिन् । एमालेले उनलाई राष्ट्रियसभा सदस्यसमेत बनायो ।

यिनै कोमल वली अहिले प्रत्यक्ष निर्वाचन लड्दैछिन् । उनी एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि दाङ–३ बाट उम्मेदवारी छन् । अहिले कोमल वली चुनावी प्रचारप्रसारमा व्यस्त छिन् । एमाले अध्यक्ष केपी ओलीको साथ पाएकी कोमल वलीले दाङ–३ बाट चुनाव जित्छन्÷जित्दैनन् । त्यो मंसिर ४ गतेपछि थाहा हुनेछ । तर, यतिखेर आफ्नो क्षेत्रमा मत माग्न व्यस्त रहेकी वलीले आफूलाई जिताउन मतदानसँग अनुरोध गरिरहेकी छन् ।

आफ्नो चुनावी कार्यक्रममा कोमल वलीले एमालेलाई भन्दा केपी ओलीलाई जिताउने अभियान चलाएकी छन् । त्यसो त ‘एमाले भनेकै केपी ओली र ओली भनेकै एमाले’ भनेजस्तै एमालेको चुनावी अभियानमा ओलीकै मात्र प्रचार गरिँदै आएको छ ।

यस्तै, अभिनेता राज तिमसिल्ना पनि चुनावी मैदानमा छन् । फिल्म क्षेत्रमा खाश जम्न नसकेपनि करिब एक दर्जन नेपाली फिल्ममा अभिनय गरिसकेका राज काठमाडौं–३ को प्रदेशसभा (क)मा स्वतन्त्र उम्मेदवार छन् । लौरा चुनाव चिन्ह लिएर चुनावी प्रचारप्रसारमा रहेका राजले कामनपाका मेयर बालेन साहको उदारहण दिँदै आएका छन् । अहिले घरदैला अभियानमा रहेका राजको चुनावी नारा छ, ‘बा आमालाई टेकाउने, भ्रष्टाचारीलाई सेकाउने ।’

त्यस्तै, हास्यकलाकार शिवशंकर रिजाल पनि चुनावी मैदानमा छन् । सरकारी जागिर छोडेर कांग्रेस निकट नेपाल सांस्कृतिक संघमार्फत राजनीतिमा अघि बढेका रिजाल सर्लाहीबाट प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ सिफारिस भएका थिए । तर, सूचीमा नअँटाएपछि उनी कांग्रेस उम्मेदवारलाई जिताउने अभियानमा व्यस्त छन् ।

यसैगरी ‘हिरो’का रुपमा जम्ने उद्देश्यसहित फिल्म क्षेत्रमा होमिएका करन क्रेजी श्रेष्ठ पनि अहिले राजनीतिमा सक्रिय छन् । फिल्म क्षेत्रमा अभिनयमा असफल भएपछि वितरणतिर लागेका करण लोकतान्त्रि समाजवादी पार्टी (लोसपा)बाट काठमाडौं–१ प्रदेशसभा (२)मा उम्मेदवार छन् । ‘देश र समाजका लागि केही गर्ने मेरो संकल्प’ भन्दै चुनावी मैदानमा उत्रिएका करणलाई जनताले पत्याउँछन् वा पत्याउँदैनन् । त्यो चुनावपछि नै थाहा हुन्छ ।

गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा बालेन साह र हर्क साम्पाङको जितसँगै कलाकारहरु राजनीतिमा झनै सक्रिय भएका छन् । राजनीति दलहरुले नपत्याका कलाकारहरु स्वतन्त्र उम्मेदवार बनेका छन् भने दलले पत्याएकाहरु दलगत चुनावी मैदानमा उत्रिएका छन् ।

यस्तै, फिल्म निर्माता तथा अभिनेता रोज राणा प्युठान–१ (ख)बाट प्रदेशसभा सदस्य उम्मेदवार छन् । उनी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी बनेका हुन् । फिल्म क्षेत्रमा सक्रिय हुँदासमेत रोज कांग्रेसको राजनीतिमा क्रियाशील थिए । कांग्रेसमा देउवा निकट मानिएका रोज राणालाई सत्ता गठबन्धनको समेत साथ छ । त्यसैले उनी जितका लागि विस्वस्त छन् ।

यस्तै, हास्य कलाकार मधुसुदन पाठक पनि काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी छन् । यसअघि उनी एमाले निकट मानिन्थे । तर, पार्टीले नपत्याएपछि स्वतन्त्र उम्मेदवारी दिएर उनी चुनावी मैदानमा होमिएका हुन् ।

यस्तै, गायक दर्पण कुसुम्या (प्रदेशी चौधरी) बर्दिया–२ प्रदेशसभा (क)बाट उम्मेदवार भएका छन् । उनी नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका हुन् । त्यस्तै, फिल्म तथा सिरियलका निर्देशक बसन्त पोख्रेलले कपिलबस्तु–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । उनी एकीकृत शक्ति नेपालको तर्फबाट उम्मेदवार बनेका हुन् ।

यस्तै अभिनेता सम्राट सापकोटा पनि काठमाडौं क्षेत्र नं १ (क)बाट प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका छन् । उनी स्वतन्त्र राजनीतिक शक्ति पार्टीको तर्फबाट चुनावी मैदानमा उत्रिएका हुन् ।

पार्टीले पत्याएका र मौका पाएकाहरु उम्मेदवार बनेका छन् भने कतिपय कलाकारले इच्छाएर पनि उम्मेदवार बन्नबाट व्यञ्चित भए । स्थानीय निर्वाचनको मुखैमा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले उम्मेदवार बन्ने इच्छाएकी थिइन् । तर, एमालेले नपत्याएपछि करिश्मा चुनावी मैदानमा उत्रनबाट व्यञ्चित भइन् ।

एमालेमा प्रवेशसँगै नामसमेत ‘सूर्यकुमार’ बनाउँदै आफू केपी ओलीको राष्ट्रवादी राजनीतिबाट नतमस्तक भएको बताएकी करिश्मा अहिले एमालेलाई नै गाली गर्दै बसेकी छन् । डा बाबुराम भट्टराईको तत्कालीन पार्टी नयाँ शक्तिबाट राजनीतिमा होमिएकी करिश्मा अहिले पुनः दल फेर्ने चक्करमा रहेकोसमेत चर्चा चल्न थालेको छ ।

पदमा बस्न पाउँदा सन्तुष्ट हुने र लाभको पद नपाउँदा ठुस्किने र पार्टीले परिवर्तन गर्ने नेपाली राजनीतिक बृत्तमा संस्कारकै रुपमा चलेको छ । तर, यदि हुँदाहुँदै पनि कतिपय कलाकार दलगत रुपमै खुल्दै आएका छन् । जसले उम्मेदवार बन्ने इच्छा गरेर पनि व्यञ्चित भएका छन् । बरिष्ठ कलाकार नीर शाह उम्मेदवार बन्न नपाएपछि काठमाडौं–५ का कांग्रेस उम्मेदवार प्रदीप पौडेलका लागि मत माग्दै आएका छन् ।

चलचित्र वितरण, निर्माण तथा प्रदर्शक उद्धव पौडेल, कलाकार संघको अध्यक्ष तथा अभिनेता रविन्द्र खड्का, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, फिल्म निर्देशक तीर्थ थापा, कलाकार, निर्माता, निर्देशक युवराज लामा, शिवहरी बैरागी, राधिका हमाल, बद्री पंगेनी, दिनेश डीसी, चेतन सापकोटा, सुभास गजुरेललगायतका थुप्रै कलाकार राजनीतिमा छन् ।

पछिल्लो समय कलाकारहरु राजनीतितर्फ आकर्षित हुँदै गएपनि सफल हुन सकेका छैनन् । स्थानीय तहदेखि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म आउँदा कलाकारले जितेको उदाहरण छैन । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवार बनेकाले पनि जित्छन् भन्ने छाँटकाँट देखिएको छैन ।

कलाकारलाई नेता बन्ने रहर जागेपनि दलका शीर्ष नेताले नपत्याउँदासम्म् राजनीतिमा उनीहरु असफल हुँदै आएका छन् । जबसम्म दलका नेताको विश्वास जित्दैनन्, तबसम्म उनीहरुको नेता बन्ने रहर केवल रहरमै सिमित हुनेछ । नेपाली राजनीतिमा वर्षौ संघर्ष गर्दै आएका र गरिरहेकाहरु समेत मौका मिल्दा फालिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्