Logo
Logo

ब्लग- चोथाले बा !



काठमाडौं । नेपाली बृहत् शब्दकोशमा ‘चोथाले’ शब्दको अर्थ छ– छिटोछिटो रिस उठ्दो ढङ्गले जवाफ दिने । प्रस्तुत शब्द र अर्थ पढ्दा नेपाली राजनीतिका एक मूर्धन्य व्यक्तिको याद आउँछ । जो आदर्शका पिताको रुपमा स्थापित हुन चाहन्छन् । 

यसो सम्झँदा प्रस्तुत शब्द ‘बालकोटे बा’कै बिम्बका लागि बनेझैँ लाग्छ । त्यसैले त ‘चोथाले’ शब्द सुन्नेबित्तिकै याद आउँछ, उनै वालकोटे बा !

धेरै शब्दहरू मानिसको व्यवहारबाट बनेको देखिन्छ । केही शब्द कुनै वस्तुको आकार र प्रकारबाटै पनि बन्लान् ।
 
तथापि, शब्दसँग सभ्यता जोडिएको हुन्छ । चोथाले शब्दको सभ्यतातिर नलागौं । किनकि, चोथाले शब्द त्यति भव्य लाग्दैन । त्यति उचित पनि लाग्दैन । यो शब्दलाई व्यक्तिको गलत आचरणको बिम्बको रुपमा प्रयोग गरिन्छ ।

आदर्श पिता ‘वालकोटे बा’सँग प्रस्तुत शब्द जोडिएको सुन्दा वा पढ्दा आदर्शपुत्र (सन्तान)हरूलाई नमिठो पक्कै लाग्छ । मनन् गर्नुपर्छ, चिराइतो अत्याधिक तीतो भएपनि गुणका आधारमा अचूक औषधि हो ।

स्वास्थ्यको दृष्टिमा ‘बा’को सक्रियता अभूतपूर्व हो । चुनावी दौड लोभलाग्दो छ । मध्यमवर्गीय मत पक्षमा पार्न चाल्नुपर्ने कदम बाँकी छैन । तल्लो वर्गसँग खासै मतलव नहुनु नीतिगत आचरण भन्नुपर्छ !

तर, सबथोक ठीक लाग्दा लाग्दै पनि केही कुरा यस्ता हुन्छन्, जुन कुराले सबथोक नमिठो बनाइदिन्छ । सम्झनुस्, जेरीको स्वादमा रमेको जिब्रोमा चिराइतोको झोल परोस् ! ‘वालकोटे बा’का बोली त्यस्तै लाग्छन् । आदर्शपुत्रहरूलाई पनि त त्यस्तै लाग्नुपर्ने हो ! तर, के लाग्थ्यो र ?

त्यसो त ‘बा’ आजमात्रै यस्तो बोलिरहेका छैनन् । नानीदेखिकै बानी हुनुपर्छ ! उनका हरेक बोली नपाकेका हलुवाबेतझैँ लाग्छन्– सुनौँ लाग्ने तर सुनेपछि अठ्याउने, कोक्याउने । ‘बा’का हरेक भाषण र अन्तर्वार्ताहरू यस्तै लाग्छन् ।

केही दिन अगाडि टीकाराम यात्रीसँगको अन्तर्वार्ता त सबैले हेर्नु भएकै होला, सुन्नु भएकै होला । ताजै छ, नहेरेकाले हेर्नु, नसुनेकाले सुन्नु अनि ‘आदर्श बा’को जयजयकार गर्नु ।

यस्तो लाग्छ– ‘बा’लाई एउटा अम्मल छ । अरुलाई चोथाले भएर गाली नगरेसम्म चित्त नबुझ्ने ! त्यसैले त ओछ्यानैदेखि गाली गर्छन्, आफूलाई राम्रो देखाउन अरुलाई हिलो छ्याप्छन् ।

निर्वाचनको गतिविधि सुरु भएता ‘बा’का हरेक भाषण लोकले सुनेको छ । त्यस्तो कुनै एक भाषण होस्, जहाँ चोथाले स्वभाव प्रकट नभएको । कुनै एउटा यस्तो भाषण होस्, जुन भाषणले आम मानिसमा सकारात्मक प्रभाव पारोस् । त्यस्तो कुनै बचन होस् जनताले विश्वास गरुन् ।

​​​​​​​निर्वाचनको पूर्वसन्ध्या जनतालाई आफ्नो नीतिप्रति विश्वस्त पार्ने समय हो । निर्वाचन जिते आफ्नो पार्टीले गर्ने कामबारे आस्वास्त बनाउने समय हो । तर, बा के गरिरहेका छन् ? कुनै आदर्श सन्तानले हेक्का राखेका होलान् ?

भोट माग्न ठाउँ–ठाउँ पुग्ने ‘बा’ अरुलाई सरापिरहेका छन् । तथानाम गाली गरिरहेका छन् । आफूलाई राम्रो देखाउन अरुको अनुहारमा मोसो दल्ने कोसिस गरिरहेका छन् । यस्तो लाग्छ– ‘बा’ अर्धचेतनबाट बर्बराइरहेका छन् !

कसैलाई हत्यारा भन्छन्, कसैलाई पागल भन्छन्, कसैलाई मतियार भन्छन्, कसैलाई भरौटे भन्छन्, कसैलाई सुसारे भन्छन् त कसैलाई भष्मासुर आदि इत्यादी …। गाली गर्न प्रयोग गरिने शब्द ‘बा’को मुखारविन्दबाट प्रकट हुन बाँकी नै छैन !

जो आफूलाई आदर्श पिताका रुपमा स्थापित गर्न चाहन्छन् । तर उनी आफैँ, आदर्श र पिता दुवै शब्दको महानतम् मर्ममाथि प्रहार गरिरहेका छन् । ‘बा’को यो चाल स्वयम् ‘बा’का लागि त हानिकार भइसक्यो नै, आदर्शपुत्रहरुलाई पनि हानी अवश्य गर्छ ।
 
पुनः नेपाली बृहत् शब्दकोशमै फर्कौँ । जहाँ ‘आदर्श’ शब्द र त्यसको व्याख्या गरिएको छ । आदर्श शब्दको अर्थ हुन्छ– रूप, गुण र विचारको अनुकरण गर्न सुहाउँदो व्यक्ति ।

‘वालकोटे बा’लाई आदर्श पिताको रुपमा स्थापित गर्न खोजिन्छ । जसरी, राजा महाराजाहरूलाई पुजिन्थ्यो । देशभर सन्तान छन्, ‘बा’ पुग्दा जयजयकार गुञ्जिन्छ । अबिर मालाले सुशोभित गरिन्छ । तर, आदर्श शब्दको अर्थसँग आदर्श पिता बिल्कुल मिल्दैनन् ।

‘आदर्श बा’ राजासनबाट फलाक्न थाल्छन् । सुरु हुन्छ, गाली वाणी ! त्यो पनि चोथाले शैलीमा । तिम्रो र हजुरको, टाउको र शिर, बाउ र पितामा तात्त्विक भिन्नता त छैन । तर, ‘तिम्रो बाउको टाउको’ भन्नु र ‘हजुरको पिताको शिर’ भन्नुमा हाम्रो समाजले ठूलै भिन्नता देख्छ ।

‘आदर्श पिता’बाट सुनिने भनेको– तिम्रो बाउको टाउको नै हो ।

​​​​​​​अब भन्नुस्– आदर्श सन्तानले के अनुशरण गर्ने ? रूप, गुण वा विचार ? आधुनिक विज्ञानमा प्लास्टिक सर्जरी गरेरै भएपनि ‘बा’को रूप धारण गर्न सम्भव छ । त्यो अलि झन्झट होला । सजिलो त गुण अनुशरण गर्ने हो । धेरैले त गरिरहेकै छन् । अनुशरण गर्नका लागि विचार त हुनु पर्यो होला नि !

कल्पना गरौँ न, बा र ‘बा’को नक्कल गर्ने केहीले समाज कस्तो बनाएका छन् । अझ आदर्श नै मानेर सन्तान सबैले ‘बा’को चोथाले गुण अनुशरण गर्ने हो भने समाज कस्तो बन्दो हो ? कल्पना गर्दा पनि अत्यास लाग्छ ।

शहर शहरमा ओली, गाउँ गाउँमा ओलीको साटो ‘शहर शहरमा चोथाले, गाउँ गाउँमा चोथाले’ भन्दै र्‍याप हान्ने दिन आयो भने के गर्ने ? कम्तिमा आदर्श सन्तानहरूले त्यो परिस्थितिको बाटो नरोजे हुन्थ्यो ।

कुरा ‘बालकोटे बा’को मात्रै होइन । ‘जनयुद्धका बा’देखि देउ‘बा’को हालत त उस्तै छ । ड्याङ त एउटै हो । तर, को कतिको भन्ने मात्र हो ।

निश्चित कुनै दल वा तिनका नेताको खोइरो खन्नु छैन, कसैको विरोध वा समर्थन गर्नु पनि छैन । यत्ति हो, आदर्श व्यक्ति बन्न चाहनेहरूको आचरण अनुशरण योग्य होस् । के नेपाली राजनीतिज्ञबाट त्यो सम्भव छ ? त्यस्तो लाग्दैन ।

बोट गुणाको फल हुँदो हो सायद । वर्तमान नेपाली राजनीतिका अनेक हाँगाको बिउ त एउटै हो । हावापानी अनुरुप केहीको रंग फेरिएको मात्र हो । नाभो राजनीतिज्ञको पनि हाल उस्तै छ ।

वैकल्पिक राजनीतिक धारका रुपमा आफूलाई उभ्याउन चाहनेहरूको हालत उस्तै छ । उनीहरू पनि उनै दुर्गुणयुक्त उत्पादनको नक्कल गरिरहेका छन् । यसरी त कसरी सम्भव होला एउटा आदर्शयुक्त सभ्य समाज ?

प्रतिक्रिया दिनुहोस्