Logo
Logo

ईश्वर र प्रदीपबीच अस्वस्थ्य प्रतिस्पर्धा



काठमाडौं । मतदानको मिति नजिकिदै गर्दा चुनावी गर्मी देशभरी बढेको छ । अझ तिव्र प्रतिस्पर्धा हुने क्षेत्रमा त अस्वस्थ्य गतिविधि समेत देखिन थालेका छन् ।

आगामी निर्वाचनमा धेरैले चासोका साथ हेरेको क्षेत्रमध्ये एक काठमाडौंको क्षेत्र नम्बर ५ हो । चर्चित नेताबीच टकराव भएकाले यो क्षेत्रको चुनावी प्रतिस्पर्धा पेचिलो बनेको छ । यहाँ एमालेबाट ईश्वर पोखरेल र नेपाली कांग्रेसबाट युवा नेता प्रदीप पौडेल प्रतिस्पर्धामा छन् ।

हालसम्मको विश्लेषणमा यहाँको प्रतिस्पर्धा अन्य क्षेत्रमा भन्दा पेचिलो किन पनि छ भने जित–हारसँग दुवैको राजनीतिक भविष्यसँग जोडिएको छ । एमालेको भावी नेतृत्वको दाबी गर्दै आएका पोखरेल यो निर्वाचनमा पराजित भए उनको राजनीतिक भविश्य समाप्त हुने छ । प्रदीप पौडेलका लागि पनि यो निर्वाचन गर या मरको अवस्था छ । अघिल्लो निर्वाचनमा प्रदेशसभामा ५ मतले हारेका उनी कांग्रेसको महामन्त्रीमा पनि पराजित भएका थिए । त्यसकारण राजनीतिक करिअर जोगाउन जित्नैपर्ने दबाबमा उनीहरु छन् ।

यही दबाबका कारण पछिल्लो समय चुनावी प्रतिस्पर्धा अस्वस्थ हुन थालेको छ । एक अर्काविरुद्ध गाली गलौच तथा गोप्य रुपमा गलत सूचना फैलाएर मतदाता प्रभावित पार्नेसम्मका गतिविधि हुन थालेका छन् । पौडेलले पोखरेललाई लक्षित गरी पानी ट्याङकीमा पैसा लुकाएको आरोप लगाउने गरेका छन् । त्यसको काउन्टरमा पोखरेल निकट समूहले पौडेलले सुकुम्बासीको नाममा जग्गा लिएको गोप्य रुपमा प्रचारबाजी सुरु गरेको छ ।

पानी ट्याङकीमा पैसा लुकाएको आरोप पोखरेलमाथि विरोधीले लगाउँदै आएपछि त्यो प्रमाणिन हुन सकेको छैन । चुनावको बेला कांग्रेस कार्यकर्ताहरुले यो विषय उचालेका छन् । त्यसपछि पोखरेलका सहयोगीहरु पनि पौडेलविरुद्ध समाचार नै बनाएर सम्प्रेषणमा लागेका छन् । जसकारण पछिल्लो समय प्रतिस्पर्धा अस्वस्थ बन्दै गएको छ ।

स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा एमाले यस क्षेत्रमा कांग्रेसभन्दा अगाडि छ । स्थानीय तहमा वडाअध्यक्षमा एमालेका उम्मेदवारले कांग्रेसभन्दा दुई हजार बढी ल्याएका छन् । तर, काठमाडौंका मतदाताहरुले पार्टी भन्दा व्यक्ति हेरेर मत हाल्ने ट्रेन्ड भएकाले आगामी निर्वाचनमा के हुन्छ भन्न सक्ने अवस्था छैन । अर्काेतर्फ यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार पनि आक्रामक रुपमा अघि बढेका छन् । रञ्जु दर्शना, श्री गुरुङ लगायत उम्मेदवारले पाउने मतले पनि यहाँको हारजितलाई तय गर्ने देखिन्छ । अहिलेको विश्लेषणअनुसार केही सयको मतले मात हारजित हुने भएकाले पौडेल र पोखरेलबीचको टक्कर चर्काे बनेको हो ।

कोभिडको समयमा राम्रोसँग काम गर्न नसकेको अपजस बोक्नुपरेकाले युवा मतदाता तान्न पोखरेललाई गाह्रो हुने देखिन्छ । ओम्नी समूहसँग मिलेर सेटिङ गरेको आरोप उनीमाथि लाग्दै आएको छ । हालसम्म टेष्ट नभएका युवा नेता भएकाले त्यसको फाइदा कांग्रेसका उम्मेदवार पौडेलले उठाउन सक्छन् । बिज्ञ समूह नै गठन गरी युवा वर्गलाई प्रभाव पार्ने अभियानमा उनी लागेका छन् । तर, स्वतन्त्रहरुले कांग्रेसकै भोट धेरै काट्ने भएकाले पौडेललाई जित्न धेरै नै मेहनत गर्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्