Logo
Logo

प्रहरीमा बेथितीः आइजिपीको निर्देशन डिआइजीले मानेनन्




काठमाडौं । गत १८ कात्तिकमा मधेस प्रदेशको राजधानी जनकपुरमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुँदै थियो । आसन्न चुनावका लागि लक्षित यस्तो गोष्ठीमा भाग लिन गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव विनोद प्रकाश सिंह, आइजिपी धिरजप्रताप सिंह, सशस्त्र प्रहरीका आइजिपी राजु अर्याल, गुप्तचरका प्रमुख हुतराज थापालगायत जनकपुर पुगेका थिए ।


त्यही दिन धुनषाको सीमा प्रहरी चौकी लग्मा जटहीमा कार्यरत सइ देवकीलाल चौधरी चार हजार घुससहित पक्राउ परे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक पसलेसँग घुस लिदै गर्दा उनलाई पक्राउ गरेको थियो ।
गृहमन्त्रीसहित देशका उच्च सुरक्षाकर्मी जिल्लामै भएको बेला भएको घुसकाण्डले सगठनकै बेइज्जत भयो । गृह मन्त्रालयका अधिकारीले समेत प्रश्न उठाए । त्यसपछि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले धनुषाका एसपी बसन्त रजौरेमाथि कारबाही गर्न मधेस प्रदेशका डिआइजी मसउद आलम खाँलाई निर्देशन दिए ।

तर, प्रहरी संगठन कस्तो अवस्थामा पुगेको छ भने १० दिन बित्दा पनि डिआइजी खाँले आइजिपीको आदेश टेरेका छैनन् । आइजिपीको आदेश डिआइजीले यसरी इन्कार गर्ने अवस्थाले प्रहरीभित्र संगठित रुपमा बढेको बेथिती र दण्डहिनतालाई प्रष्ट पार्दछ ।

पछिल्लो केही महिनायता मधेसका सीमा नाकामा प्रहरी मिलेमतोमा खुलेआम तस्करी बढेको छ । डिआइजी खाँ आफैंले अधिकाश सीमा क्षेत्रमा घुमुवा र सीमा चौकी इन्चार्ज खटाएर पैसा उठाइरहेका छन् । त्यो पैसा शक्तिकेन्द्रहरुसम्म पुगेको छ । त्यही बलमा डिआइजी खाँले आइजिपीलाई नटेरेका हुन् भनिन्छ ।

आइजिपीको आदेश टार्न डिआइजी खाँ केही दिन बिदामा बसेको स्रोत बताउँछ । जबकी, निर्वाचनमा सिपाहीलाई समेत विशेष अवस्थामा बाहेक बिदामा बस्न रोक लगाइएको छ । डिआइजी बिदामा बसेको बेला उच्च तहमा मिलाएर कारबाही रोकाएको स्रोत बताउँछ । एसपीलाई कारबाही गर्दा आफूलाई समस्या हुने भएपछि डिआइजीले कारबाही गर्न नसकेका हुन् ।

तुलनात्मक रुपमा एसपी रजौरे खराब अफिसर मानिन्नन् । तर, आफ्नो जिल्लामा भइरहेको अवैध धन्दा रोक्न पनि उनले सकेका छैनन् । धुनषामा पुराना घुस्याहा प्रहरीको जन्जाल र उनीहरुलाई माथिल्लो तहबाट संरक्षण छ । सोही कारण एसपी रजौरको चेन अफ कमाण्ड जिल्लामा राम्रो हुन सकेको छैन ।

पक्राउ परेका सइ चौधरीले सीमा क्षेत्रका पसलसँग हाकिमलाई बुझाउन भन्दै हप्ता असुली गर्दै आएका थिए । असुलीले सीमा नाघेपछि स्थानीयले अख्तियारलाई खबर गरी रंगेहात पक्राउ गराएका थिए । मधेसका अधिकांश सीमा नाकामा अहिले त्यस्तै अवस्था छ ।

धनुषा मात्र होइन धेरै जिल्लाका एसपीहरु तस्करीको सेटिङमा लागेको छानबिनमा पुष्टि हुँदा पनि विगतमा कारबाही हुन सकेको छैन । बाँकेका श्यामकृष्ण अधिकारी, पश्चिम नवलपरासीका ऋषिराम कँडेल लगायतका एसपीलाई शक्ति केन्द्रकै संरक्षणमा कारबाही हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्