Logo
Logo

‘आगामी संसद्मा निर्णायक शक्तिको रुपमा रहन्छौँ’


गरिमा शाह सचिव, नेकपा (एकीकृत समाजवादी)


काठमाडौं । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै छ । मुख्यगरी, दुई गठबन्धन प्रतिष्पर्धामा छन् । संविधान रक्षा गर्ने पंक्तिको वाम–लोकतान्त्रिक गठबन्धन र संविधानविरुद्ध उभिएको एमाले नेतृत्वको गठबन्धनबीच नै मुख्य प्रतिस्पर्धा हुनेछ । दुवै शक्ति आफ्नो पक्षमा परिणाम ल्याउन चुनावी मैदानमा होमिएका छन् । कुन शक्तिको पक्षमा कस्तो परिणाम आउँछ भन्ने मंसिर ४ मै टुङ्गो लाग्ने छ ।

संविधानको रक्षा, स्थिरता र समृद्धिको लक्ष्य हासिल गर्न भन्दै सत्तारुढ गठबन्धनले भोट मागिरहेको छ । गठबन्धनले अपेक्षाकृत मत प्राप्त गर्ला ? यसै सन्दर्भमा नेकपा (एकीकृत समाजवादी)का सचिव एवं सुदूरपश्चिम ईञ्चार्ज गरिमा शाहसँग गरिएको संवाद प्रस्तुत छ ।

निर्वाचन प्रचारको अवधि करिव–करिव सकिनै लाग्यो । कस्तो छ पार्टी र गठबन्धनको प्रचार अभियान ?
निर्वाचन केन्द्रित गतिविधिहरू तीब्र रुपमा भइरहेका छन् । गठबन्धन व्यवस्थित र बलियो हुँदै गइरहेको अवस्था छ । गठबन्धन दलका नेता तथा कार्यकर्ता चुनावी प्रचारमा युद्धस्तरमा खटिएका छौँ । गठबन्धन दलहरूले प्रत्यक्षमा १५० भन्दा बढी सिटमा जित्ने अपेक्षा गरेका छौँ ।

मतदाता समक्ष के एजेन्डा लिएर जानुभयो ?
हामी पार्टीको नीति, विचार र दृष्टिकोण लिएर जनतामा गएका छौँ । हामीले पूरा गर्न नसक्ने आश्वासन जनतालाई दिएका छैनौँ । मुल्य–मान्यताको आधारमा पूरा गर्न सकिने र आगामी पाँच वर्षमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा सम्पन्न गर्न सकिने विषयबस्तु छन् ।

संविधानको रक्षा, स्थिरता, समृद्धि, नागरिक हक उपयोगमा वृद्धिको विषयलाई हामीले प्राथमिकता दिएका छौँ । भ्रष्टाचार नियन्त्रण, सुशासन, पारदर्शितासहित सूचना प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवा प्रवाह गर्ने विषय उठाएका छौँ । आधारभूत शिक्षा र स्वास्थ्य उपचार निःशुल्क गर्ने, भूमिसमस्याको दीर्घकालीन समाधान गर्ने, योग्यताअनुसारको अवसर दिने हाम्रो प्रतिवद्धता छ । उच्च शिक्षालाई रोजगारीसँग जोड्ने हाम्रो योजना छ । त्यसका लागि हामीले ‘सिक्दै र कमाउदै’को नीति लिएका छौँ ।

कृषिमा आत्मनिर्भर बन्ने, पर्यटनबाट समृद्धि खोज्ने, सूचना प्रविधिको माध्यमबाट सेवा प्रवाह चुस्तदुरुस्त बनाउने छौँ । पूर्वपश्चिम मेघा नहरको निर्माण गरी कृषि भूमिका सिंचाईँका साथै बाढी नियन्त्रण र जलयात्रासहित पर्यटन प्रवद्र्धन गर्ने संकल्प गरेका छौँ । यसका साथै, स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरूको प्रवद्र्धनमार्फत विदेश मुद्रा आर्जन र स्वदेशमै रोजगारी सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने हाम्रो नीति रहेको छ ।

जोखिमुक्त पूर्वाधारसहित आधुनिक शहर र बस्ती विकास, एकीकृत र योजनावद्ध भौतिक पूर्वाधार निर्माण गर्ने हाम्रो प्रतिवद्धता छ । सबैखाले कुरीति, हिंसा र असमानताहरूको अन्त्य गर्दै आर्थिक, सामाजिक रुपान्तरणसहितको सुसंस्कृत समाज निर्माण गर्ने संकल्प हामीले गरेका छौँ । परिपक्व कुटनीतिक पहलमार्फत सीमासम्बन्धि समस्याको समाधान गर्ने, स्वतन्त्र, असम्लग्न र सन्तुलित परराष्ट्र सम्बन्ध कायम गर्ने हाम्रो नीति रहेको छ ।

जनतासामू नीतिगत विषयमा मात्र कुरा राख्नुभयो कि व्यवहारिक पाटो पनि जोड्नुभयो ?
हामीले नीतिगत र कार्यक्रमिक दुबै पक्षबारे जनतालाई बुझाउने प्रयास गरेका छौँ । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको मूल काम कानुन बनाउने हो । कस्ता कानुन बनाउने, नीति निर्माण तहबाट जनताको समस्या कसरी समाधान गर्ने भन्ने नै मुख्य विषय हो । त्यसका साथसाथै, जनताका तत्कालीन कामहरूमा पनि हामीले ध्यान दिनैपर्छ । जनताका तत्कालीन समस्या कसरी सम्बोधन गर्ने भन्नेमा पनि हामी सचेत छौँ ।

मतदाताको रेस्पोन्स कस्तो रह्यो त ?
आम जनताले बाटोघाटो, पुलपुलेसो, शिक्षा, स्वास्थ्यका समस्या दर्शाएका छन् । र, कसरी सम्बोधन हुन्छ भन्ने प्रश्न पार्टी र उम्मेदवारसँग गरेका छन् । गठबन्धन दलहरूप्रति मतदाता उत्साहित देखिन्छन् । हामीले नीतिगत र व्यवहारिक पाटोबाट जनताको सेवा गर्ने प्रतिवद्धता जनाएका छौँ । विशेषगरी, सुदूरपश्चिमको कुरा गर्ने हो भने अहिले पनि कतिपय पालिका सदरमुकाममा मोटरबाटो पुगेको छैन ।

हामीले कालोपत्रे सडक पु¥याउने प्रतिवद्धता जनाएका छौँ । पठनपाठन संस्कृतिको विकास गर्न आधुनिक सुविधा सम्पन्न पुस्तकालय निर्माण गर्ने सोच बनाएका छौँ । सुदूरपश्चिमलाई पर्यटनको भर्जिन ल्याण्ड भन्ने गरिन्छ । धार्मिकस्थलहरूदेखि प्राकृतिक सौन्दर्यलाई आर्थिक समृद्धिमा उपयोग गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ । हामी सुन्दर पर्यटकीय गन्तव्यको रुपमा सुदूरपश्चिमलाई विकास गर्ने छौँ । खप्तडमा अन्तर्राष्ट्रिय साधना केन्द्र स्थापना गर्ने योजना छ । विशेषगरी, सप्तड र बडिमालिका जानका लागि केबलकारको सम्भाव्यता अध्ययनका लागि पनि पहल गर्ने छौँ ।

कृषि क्षेत्रको विकासका लागि हामीले हाम्रो सुदूरपश्चिम हामी बनाउँछौँ भन्ने नाराका साथ काम गर्ने छौँ । आत्मनिर्भरताको नारालाई सार्थक बनाउने गरी कृषि क्षेत्रमा स्वरोजगार बनाउने योजना छ । सुन्दर सुदूरपश्चिमलाई समृद्धि सुदूरपश्चिम बनाउने अठोट लिएका छौँ । हाम्रा एजेण्डालाई जनताले मन पराउनुभएको छ । जनता आगामी मंसिर ४ गते मतदान गर्न उत्साहित भएर बसेको अवस्था छ ।

एकीकृत समाजवादीले पहिलो पटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन फेस गर्दै छ, कस्तो अनुभव हुँदैछ ?
पक्कै पनि हाम्रो पार्टीले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पहिलो पकट फेस गर्दै छ । तर, हामी एमालेबाट विद्रोह गरेर गठन भएको पार्टी भएका कारण हामीसँग चुनावी अनुभव राम्रै छ । हाम्रो पार्टीले राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचन पनि फेस गरेर आयो । ती निर्वाचनमा हाम्रो उपस्थिति राम्रै छ । म आफैँ पनि एकीकृत समाजवादीबाट राष्ट्रिय सभामा केही समयअघि निर्वाचित भएको हुँ । हाम्रा उम्मेदवार जनतामा घुलमिल भएका जनप्रिय भएका कारण हामीलाई सहज भएको छ ।

एकीकृत समाजवादीले जित्ने आधार के-के छन् ?
हाम्रो जित्ने मुख्य आधार भनेको हामीले लिएको नीति र विचार नै हो । विद्रोहबाट निर्माण भएको पार्टी भएका कारण हामीप्रति जनविश्वास छ । अन्याय, अत्याचार र जनविरोधी कामप्रति विद्रोह गर्न सक्ने पार्टीका नेताले सुशासन र समृद्धि दिन सक्छन भन्ने बुझाइ जनतामा छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षाका लागि विद्रोह गरेको पार्टी भएकाले मूल्य–मान्यताको राजनीतिकप्रति हामी प्रतिवद्ध छौँ ।

मुलुकलाई नै भड्खालोमा जाक्न खोजेहरूलाई परास्त गर्न हामीले विद्रोह गरेका हौँ । अनेक चुनौतीको सामना गर्दै व्यवस्था बचाउन विद्रोह गरेको पार्टीलाई जोगाउनुपर्छ भन्ने मतदाताको भावना छ । हाम्रो जित्ने एउटा आधार यो हो । अर्को, हामीले अगाडि सारेका उम्मेदवार जनप्रिय हुनुहुन्छ । विकास, निर्माण र जनजीविकाको सवालमा अब्बल हुनुहुन्छ । त्यसका साथसाथै हामीसँग गणतान्त्रिक आन्दोलन र प्रतिगमनविरोधी आन्दोलनमा सँगसँगै रहेका सत्तारुढ गठबन्धनमा आवद्ध दलहरू सहयात्री छन् ।

सुदूरपश्चिमको अवस्था के हो ?
सुदूरपश्चिममा प्रतिनिधि सभामा ३ र प्रदेश सभामा गठबन्धनबाट दुई सिट पाएका छौँ । अन्य तीन ठाउँमा मित्रवत प्रतिष्पर्धा र एक ठाउँमा आफ्नै ढंगले प्रतिष्पर्धा गरिरहेका छौँ । प्रदेशमा गठबन्धनमा थोरै सिट प्राप्त गरे पनि चार क्षेत्रमा निर्वाचित हुन्छौँ । समानुपातिकमा सात सिट जित्ने लक्ष्यसहित हामी चुनावी मैदानमा छौँ । सुदूरपश्चिम प्रदेशमा हाम्रो राम्रो उपस्थिति हुने छ । प्रतिनिधि सभाका तीन वटै क्षेत्रमा हामी जित्दै छौँ ।

गठबन्धनको उम्मेदवार भएपनि कांग्रेसका भोट आउँदैन भन्ने आंशका गर्नेहरू पनि देखिन्छन्। कांग्रेसका नेता–कार्यकर्तासँग कसरी समन्वय भइरहेको छ ?
कांग्रेसका नेता तथा कार्यकर्ता गठबन्धनप्रति प्रतिवद्ध हुनुहुन्छ । त्यसमा हामीले शंका गर्नुपर्ने कुनै ठाउ नै छैन । जनताको मन जित्ने कुरा हाम्रो पार्टी र उम्मेदवारको काम हो । नेताहरू इमान्दार र प्रतिवद्ध भएकाले हामीले अधिकांश जनताको मन जितेका छौँ । हाम्रा उम्मेदवार जनप्रिय हुनुहुन्छ । त्यसकारण हामीले प्राप्त गरेका सबै सिटमा जित निकाल्ने गरी अगाडि बढेका छौँ । जनताको शतप्रतिशत मत आउँछ भनेर हामीले आश गर्नु हुँदैन । त्यस्तो आश हामीले गरेका पनि छैनौँ । हामी शानदार जितको अवस्थामा छौँ ।

समानुपातिकमा कति मत आउने आकलन छ ?
हामीले समानुपातिकमा २० लाख मत ल्याउने लक्ष्यका साथ काम गरेका हौँ । त्यसका लागि देशव्यापी रुपमा संगठन परिचालित भएको छ । तर, गठबन्धनका कारण समानुपातिकमा हामीले सोचेको मत ल्याउन केही कठिनाइ हुने देखिएको छ । गठबन्धन दलका नेता तथा कार्यकर्ता सँगसँगै हुन्छौँ । प्रत्यक्षतर्फ हामीले कलम, रुख र हसियाँ हथौडा जे चिह्न छ, त्यसैमा भोट हाल्न जनतालाई आग्रह गरेका हुन्छौँ । अनि, समानुपातिकमा छुट्टाछुट्टै मत मागिरहेका हुन्छौँ । त्यसबाट निश्चित जनतामा अन्योल पर्ने देखिन्छ । यसले समानुपातिकमा मत बदर हुन्छ कि भन्ने आशंका छ ।

स्थानीय तह निर्वाचनमा पनि मत बदर हुँदा गठबन्धनका केही उम्मेदवारले हार्ने अवस्था बन्यो । मत बदर हुन नदिन विशेष रणनीति अपनाउनु पर्दैन ?
मत बदर हुन नदिन मतदाता शिक्षा प्रभावकारी रुपमा संचालन गर्नुपर्ने आवश्यकता देखिएको छ । निर्वाचन आयोगले पनि मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्छ । गठबन्धन दलहरूले पनि मत बदर हुन नदिन रणनीतिक योजनाका साथ काम गर्नुपर्छ । जनताको घरदैलोमा नमुना मतपत्रसहित पार्टीपंक्ति खटिनुपर्ने आवश्यकता छ ।

प्रत्यक्षमा कम उम्मेदवार हुँदा समानुपातिकको लक्ष्य भेट्न गाह्रो देखियो होइन ?
प्रत्यक्षमा उम्मेदवार भएको क्षेत्रमा मत माग्न जति सजिलो हुन्छ, उम्मेदावर नभएको क्षेत्रमा अलि कठिन हुँदोरहेछ । प्रत्यक्षमा गठबन्धन दलका उम्मेदवारलाई मत माग्नुपर्ने अनि समानुपातिकमा कलम चिह्नमा मत माग्नुपरेको अवस्था छ । हामीले सकेसम्म बढी मत ल्याउने गरी अभियान संचालन गरिरहेका छौँ ।

प्रत्यक्षमा उम्मेदवार नहुँदा समानुपातिकमा पार्टीलाई भोट दिनुपर्छ भन्ने संस्कृतिको विकास भइसकेको छैन । हुन त यो अभ्यास पनि लामो छैन । यद्यपि, हामीले जनताबाट राम्रो प्रतिक्रिया पाइरहेका छौँ । २० लाखको लक्ष्य भेट्न गाह्रो देखिए पनि हामीले राम्रो मत ल्याएर एकीकृत समाजवादीलाई निर्णायक शक्तिको रुपमा स्थापित गछौँ ।

एमाले अध्यक्ष केपी ओलीको दाबी त एकीकृत समाजवादीले थ्रेस होल्ड नै कटाउँदैन भन्ने छ नि ?
उहाँको त्यो अभिव्यक्ति आत्तिएर आएको हो । एकीकृत समाजवादीको माहोल देखेपछि जनतामा भ्रम छर्न सकिन्छ कि भन्ने हिसाबको आएको अभिव्यक्तिप्रति हामीलाई टिप्पणी गर्नु छैन । देशव्यापी संगठन भएको पार्टीले थ्रेस होल्ड नकटाउने भन्ने कुरा हास्यास्पद छ । हावादारी गफ गर्नेलाई स्थानीय तहको निर्वाचनमा हामीले कति मत ल्यायौँ भन्ने हेर्न चुनौती छ ।

स्थानीय निर्वाचनमा ७२ प्रतिशत ठाउँमा त हामीले उम्मेदवार नै उठाएका थिएनौँ । जम्मा २८ प्रतिशत स्थानमा उम्मेदवार उठाउँदा ९ लाख मत पाएका थियौँ । जबकि, ३ लाख मत कटाउँदा थ्रेस होल्ड कट्छ । अहिले त हामीले प्रतिनिधि सभाको समानुपातिकतर्फ १६० वटै सिटमा उम्मेदवार उठाएका छौँ । प्रत्यक्षतर्फ प्रतिनिधि सभामा २० र प्रदेश सभामा ६० सिटमा उम्मेदवार हुनुहुन्छ । हाम्रा सम्पूर्ण कमिटीहरू परिचालित छन् । नेता तथा कार्यकर्ता र उम्मेदवार जनताको घरदैलोमा मत मागिराख्नुभएको छ ।

चुनावपछि एकीकृत समाजवादी कत्रो दल बन्छ त ?
हामी राष्ट्रिय पार्टी मात्र बन्दैनौँ, निर्णायक शक्तिको रुपमा रहन्छौँ । आगामी संसदमा हाम्रो पार्टीको सशक्त उपस्थिति रहन्छ ।

स्वतन्त्र र साना दलका उम्मेदवार पनि चुनावी मैदानमा देखिन्छन् । एमालेले पनि विपक्षी गठबन्धन बनाएको छ । एकीकृत समाजवादीलाई जोखिम छ कि छैन ?
निर्वाचनमा हामी सम्पूर्ण शक्ति लगाएर लागेका छौँ । हामीले देशभर उम्मेदवार उठाएका क्षेत्रमा अवस्था राम्रो छ । गत स्थानीय तह निर्वाचनमा अन्य गठबन्धनको भन्दा सत्तारुढ गठबन्धन दलहरूले पाएको मत धेरै छ । तर पनि, हामीले निर्वाचनलाई कम आँक्नु हुँदैन । सम्पूर्ण तयारी गर्नुपर्छ नै । हामी शतप्रतिशत नतिजा ल्याउने गरी जनताको घरदैलोमा छौँ ।

चुनावपछि यही गठबन्धन कायम रहन्छ कि नयाँ गठबन्धनको पनि सम्भावना छ ?
लोकतन्त्र, गणतन्त्रको सुदृढिकरणका निम्ति सहकार्यको संस्कृति अगाडि बढाउँदा नै मुलुकको लागि हितकर हुन्छ । तथापि, राजनीति एउटै बाटोबाट मात्र हिड्दैन । भोलि कतिपय विषयमा मतभिन्नता पनि हुन सक्छ । त्यस्तो बेला सबै कुरा मान्नुपर्छ भन्ने पनि हुँदैन । त्यही कारण त, राजनीतिमा असम्भव भन्ने केही पनि हुँदैन भनिएको हो । तर, लोकतन्त्र, संविधान जोगाउन पनि यही गठबन्धनको सरकारलाई निरन्तरता दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्