Logo
Logo

मतदानका लागि भारतबाट घर फर्किंदै नेपाली


693
Shares

कामको सिलसिलामा भारतको विभिन्न ठाउँ गएका नेपाली घर फर्किरहेका छन् । पश्चिम सीमा नाका गड्डाचौकी भएर भारतबाट नेपाली नागरिक स्वदेश भित्रिरहेका हुन् ।

आउँदो आइतबार हुन गइरहेको प्रतिनिधि र प्रदेशसभा सदस्यको चुनावमा मतदानका लागि भारतमा काम गर्न गएका नेपाली घर फर्किरहेका छन् । ‘चुनावका लागि बिदा मिलाएर भोट हाल्न आएको हुँ, आफ्नो मताधिकारको प्रयोग गर्नुप¥यो’, अछामका हर्कबहादुर बोहराले भने, ‘हाम्रा दुःख कोही देख्दैनन्, भोट हाल्ने मात्रै छ ।’ स्वदेशमै रोजगारी सृजना नहुँदा कामको खोजीमा भारत पस्नु परेको बाजुराका मङ्गल साउदले बताए ।

‘“’स्वदेशमै मजदुरीको काम पनि पाइँदैन, कृषि गर्न खोजे मल, बीउ नै पाइँदैन”, उनले भने, “त्यसैले घरखर्च चलाउन भारत जानुपर्ने बाध्यता छ ।’ गाउँबाट मतदान गर्न आउन भनेपछि चुनावका लागि घर फर्किएको बैतडीका हरिश भट्ट बताउछन । ‘गाउँबाट फोन गरेर मतदानका लागि आउन भनेपछि काम छोडेर आएँ’, उनले भने, ‘अब स्वदेशमै रोजगारी सृजना गरेर विदेसिनुपर्ने बाध्यता हटाउनुपर्छ ।’

संविधान निर्माणपश्चात् स्वदेशमै रोजगारी पाएर विदेश हानिनुपर्ने बाध्यता हट्ने अपेक्षा गरे पनि त्यो पूरा हुन नसकेको बैतडीकै सन्तोष पन्तको भनाइ छ । ‘संविधान बनेपछि स्वदेशमै रोजगारी पाउने र देश विकास हुने अपेक्षा थियो’, उनले भने, ‘तर जनताले अपेक्षा गरेअनुसार सुधार हुन सकेन, अझै पनि कामका लागि विदेश जानुपर्ने बाध्यता छ ।’

सडक पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा क्रमिकरूपमा विकास भइरहेको भए पनि युवाहरूले स्वदेशमै रोजगारी नपाउने अवस्था रहेको छ । चुनावमा मतदान गरेर फेरि कामका लागि भारतर्फ जानुपर्ने बझाङका दुर्गा बोहरा बताउछन । ‘नेताहरूले चुनावको बेला हामीलाई सम्झन्छन्, गाउँबाट फोन गरेर भोट हाल्न आऊ कि आऊ भनेपछि आएको हो’, यनले भने,, ‘मतदानपछि हाम्रो मतलब नै गर्दैनन् ।’

चुनावको सुरक्षालाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सीमा नाकामा आवागमनमा रोक लगाएको छ । मतदान गर्न आउने पैदल यात्रुलाई सीमा प्रवेश गराइरहेको सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए । ‘सीमा नाका पूर्णरूपमा सिल छन्, तर मतदान गर्न आउने मानिसलाई चेकजाँच गरेर भित्रिन दिइरहेका छौँ’, उनले भने, ‘यसमा प्रशासनले सहजीकरण गरिरहेको छ ।’

गड्डाचौकी नाका भएर दैनिक तीन-चार सयको हाराहारीमा नेपाली नागरिक भित्रिरहेका छन् । कामको खोजीमा सुदूरपश्चिम, कर्णालीलगायत ठाउँका नेपाली नागरिक भारतको विभिन्न ठाउँमा जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्