
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयन गर्न आज मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेबाट साँझ ५ बजेसम्म देशैभर एकसाथ मतदान हुनेछ ।
देशभर १० हजार ८ सय ९२ मतदानस्थल छन् भने २२ हजार २ सय २७ केन्द्रबाट मतदान गर्नेछन् । ती मतदान केन्द्रबाट १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले मतदान गर्न पाउनेछन् ।
त्यसबाहेक समानुपातिकतर्फका लागि अस्थायी मतदाताका लागि १ सय ४१ अस्थायी मतदान केन्द्र कायम गरिएको छ । ४ लाख ५० हजार अस्थायी मतदाता छन् । प्रतिनिधिसभा निर्वाचनका लागि २ हजार ४ सय १२ र प्रदेशसभाका लागि ३ हजार २ सय २४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
चुनावबाट प्रतिनिधिसभाका २७५ सदस्य र प्रदेश सभाका ५५० सदस्य चयन हुनेछन् । प्रतिनिधिसभाका लागि १६५ जना प्रत्यक्ष र ११० जना समानुपातिक प्रणालीबाट चयन हुनेछन् भने सात वटा प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ३३० जना र समानुपातिकतर्फ २२० जना निर्वाचित हुनेछन् ।
चुनावका लागि गृहमन्त्रालयले शनिबार मध्यरातिबाट यातायात बन्द गरिसकेको छ । तर, मतदानका दिन अत्यावश्यक सेवाको लागि सञ्चालन हुने तथा सञ्चारकर्मी, पर्यवेक्षक, अनुगमनकर्तालगायतका सवारी साधनलाई अनुमति लिनु नपर्ने व्यवस्था गरिएको छ । त्यसबाहेक सवारी पास लिएका सवारीसाधन र अत्यावश्यक सेवाका सवारीसाधन सञ्चालन हुनेछन् ।
आयोगबाट स्वीकृत मापदण्डबमोजिम निर्वाचनको स्वच्छता र स्वतन्त्रतामा प्रतिकूल असर नपर्ने गरी यातायातको व्यवस्थित सञ्चालन तथा सवारी आवागमनको उपयुक्त प्रबन्ध मिलाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारी तथा अन्य तोकएका अधिकारीलाई निर्देशन दिइसकिएको छ ।
सरकारले आज र भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।














