Logo
Logo

कहाँ-कहाँ भेटिए शंकास्पद बस्तु ?


252
Shares

काठमाडौं । आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि मतदान जारी छ । आइतबार निर्वाचन भइरहँदा देशभरका विभिन्न स्थानमा शङ्कास्पद वस्तु भेटिएका छन् ।

देशका विभिन्न ठाउँमा भेटिएकाे शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको र कतिपय ठाउँमा डिस्पोजको तयारी भइरहेको प्रहरी प्रवक्ता एवम् डीआईजी टेकप्रसाद राई जानकारी दिए ।

निर्वाचन बहिस्कार गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पछिल्लो समय देशका विभिन्न ठाउँमा विस्फोट गराउने र शङ्कास्पद वस्तु राख्ने गरेको छ ।

काठमाडौंको तिलगंगा स्थित शारदा माविको मतदान केन्द्र नजिकै सुटकेशमा शंकास्पद वस्तु फेला परेको छ । एकाबिहानै बोरामा बेरिएको सो शंकास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

त्यस्तै अछामको ढकारी गाउँपालिका–२ कालिका मावि मतदान केन्द्रमा शङ्कास्पद वस्तु फेला परेको छ । बिहान ३–४ बजेतिर नै मतदान केन्द्रको गेटमा उक्त शङ्कास्पद बस्तु फेला परेको हो ।

त्यसैगरि दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नम्बर ५ स्थित जनता मावि बस्ताकोट मतदानस्थलमा शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद बस्तु फेला परेपछि त्यहाँ अझैसम्म मतदान सुरु हुन सकेको छैन । यता बझाङका तीन मतदान स्थलमा शंकास्पद बस्तु भेटिएको छ ।

जयपृथ्वी नगरपालिका १० चैपुरमा रहेको बालमन्दिर मतदान केन्द्र, थलारा गाउपालिका २ को शारदा मावि र बुङ्गल नगरपालिकाको तोलिचौर मावि मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेको हो । ती शंकास्पद बस्तु डिस्पोजको तयारी भइरहेको बझाङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।

मुगुमा पनि ५ वटा मतदान केन्द्रमा शंकास्पद वस्तु भेटिएको छ । खत्याड गाउँपालिकाको रातापानी, जिउका, लाम्रु, गम्था र चिमाडुङ्रीमा शंकास्पद वस्तु भेटिएको हो ।

मतदान केन्द्रमा भेटिएका शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरिसकेको र अहिले स्थिति सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।,

प्रतिक्रिया दिनुहोस्