
काठमाडौं । देशभरका विभिन्न ९ निर्वाचन क्षेत्रमा मतगणना जारी छ । आइतबार रातिबाट सुरु भएको गणनामा हालसम्म नेकपा एमालेले पाँच क्षेत्रमा सुरुवाती अग्रता लिएको छ । जसमा एमालेले झापा २, धनुषा ३, ललितपरका तीनवटै क्षेत्रमा अग्रता लिएको हो ।
त्यस्तै कांग्रेसले भक्तपुर २, मुस्ताङ र झापा ३ मा अग्रता लिइरहेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं ७ र कास्की २ मा अग्रता लिइरहेको छ । झापा क्षेत्र नम्बर २ मा एमालेका देवराज घिमिरेले अग्रता लिँदा स्वतन्त्र उम्मेदवार स्वागत नेपालले पछ्याइरहेका छन् ।
त्यस्तै मधेस प्रदेशमा हालसम्म धनुषा ३ को मतगणना भइरहेको छ । सो क्षेत्रमा एमालेकी जुलीकुमारी महतो फराकिलो अग्रतासहित अघि बढ्दा जनमत पार्टीका शम्भु कुमार साहले पछ्याइरहेका छन् । काठमाडौं क्षेत्र नम्बर ७ मा घण्टी चिन्हका उम्मेदवार गणेश पराजुली अग्रता लिँदा एमालेका श्याम घिमिरे दोस्रोमा छन् भने ललितपुरका तीन वटै क्षेत्रमा एमालेका उम्मेदवारको अग्रता छ ।
ललितपुर र १ मा एमालेका नवराज सिलवाललाई कांग्रेसका उदयशम्सेरले पछ्याइरहेका छन् भने २ मा एमालेका प्रेम महर्जनलाई नेकपा एसका कृष्णलाल महर्जन र ३ मा एमालेकै अमृत खड्कालाई स्वतन्त्र पार्टीकी डा। तोसिमा कार्कीले पछ्याइरहेकी छन् ।
त्यस्तै कास्की २ मा स्वतन्त्र पार्टीका माधव कडेलले अग्रता लिँदा एमालेकी विद्या भट्टराई दोस्रो स्थानमा छिन् । यता मुस्ताङमा कांग्रेसका योगेश गौचनले अग्रता लिइरहँदा एमालेका प्रेम तुलाचन दोस्रो स्थानमा छन् । भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापाले अग्रता कायम गरेका छन् । उनले एमालेका महेश बस्नेतलाई पछि पारेका हुन् ।














