
काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुले आफ्ना कार्यकर्ता हत्याको घटनालाई लिएर आन्दोलन सुरु गरेको छ ।
अनेरास्ववियुले केन्द्रीय सदस्य चेतन ऐडीको हत्या भएको विषयलाई लिएर बाजुराको सदरमुकाम मार्तडी बजार बन्द गराउनुका साथै टायर बालेर प्रदर्शन समेत गरेको छ ।
आइतबार त्रिवेणी नगरपालिका–७ मा मतदानका क्रममा विवाद हुँदा प्रहरीले चलाएको गोली लागेर कांग्रेसका कार्यकर्ताको मृत्यु भएको थियो । सोही घटनापछि उत्पन्न विवादले उग्र रुप लिँदा आइतबार राति नै अनेरास्ववियुका नेता ऐडीको घरभित्रै सुतिरहेका बेला हत्या भएको थियो ।
उनको मृत्युपछि अनेरास्ववियुले बाजुरासँगै अछाममा समेत आन्दोलन थालेको छ । सम्भावित थप घटना हुन नदिन भन्दै प्रशासनले सदरमुकाममा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ ।
नेपाल प्रहरीसँगै नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरिएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।














