Logo
Logo

सुरक्षा प्रमुखबीच उत्कृष्ट सहकार्य



काठमाडौं । सुरक्षा निकायहरूबीचमै अस्वस्थ प्रतिस्पर्धा र सहकार्यको अभाव नेपालमा राष्ट्रिय सुरक्षा कमजोर हुनुको एउटा प्रमुख कारण थियो । तर, पछिल्लो समय राष्ट्रिय सुरक्षामा सकारात्मक दृश्य देखिएको छ । चारैवटा सुरक्षा निकायबीच केही महिनायता उच्चस्तरको सहकार्य र समन्वय भइरहेको छ । त्यसको परिणाम आइतबार सम्पन्न निर्वाचनमा पनि देखियो ।

यो पटकको निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागबीच उत्कृष्ट सहकार्य भयो । जसकारण बाजुरालगायत केही जिल्लाबाहेक अन्यत्र निकै शान्तिपूर्वकरुपमा निर्वाचन सम्पन्न भएको छ ।

विगतका सुरक्षा निकायका प्रमुखहरुबीच नै बेमेल हुने गरेको थियो । नेपाली सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई कमजोर संगठनको रुपमा नजरअन्दाज गर्दथ्यो । नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच अधिकारको लडाइँ थियो ।

जसकारण दुई निकायका आइजिपीबीच कतिपय अवस्थामा बोलचालसमेत भएको थिएन । तर, अहिले चारै सुरक्षा निकायबीच मित्रवत व्यवहार छ । सेनाले पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई बलियो बनाउन सघाउँदै आएको छ । चारै निकायका सुरक्षा प्रमुखबीच सौहाद्रपूर्ण सम्बन्ध रहेको छ । जसका कारण सूचना र अनुभव आदान–प्रदानले सुरक्षा अवस्थालाई बलियो बनाएको छ ।

यसअघिको निर्वाचनमा बाहिरी सुरक्षा घेरामा रहने नेपाली सेना र सशस्त्र प्रहरीबीच समन्वय थिएन । जसकारण दुवै निकायले एकै ठाउँमा पट्रोलिङ गर्न पुग्थे । यसपटक त्यस्तो दोहोरोपन नहुने गरी सुरक्षा रणनीति तय गरी परिचालन गरिएको थियो । निर्वाचनका लागि सेनाले प्रहरीले हतियारलगायत स्रोत, साधनसमेत उपलब्ध गराएको थियो ।

त्यति मात्र होइन, शान्ति मिसनमा जान पनि सेनाले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सघाएको छ । सशस्त्र प्रहरीले एपिसी खरिद गर्न नसक्ने भएपछि सेनासँग सापटी लिएर माली मिसनमा आफ्नो फौज खटाउन लागेको छ । नेपाल प्रहरीले पनि सेनासँगै एपिसी लिने सहमति भइसकेको छ ।

युएनबाट आउने पैसा सेनाले नै पाउने गरी यस्तो सहमति गरिएको स्रोत बताउँछ । यो विषयले पनि सेना, सशस्त्र र नेपाल प्रहरीबीचको समन्वय प्रष्ट पार्छ । सूचना संकलनमा पनि पछिल्लो समय राष्ट्रिय अनुसन्धान विभागसँग अन्य निकायले सहकार्य गर्न थालेका छन् । तालिमको विषयमा पनि सुरक्षा निकायबीच सहकार्य बढेको छ ।

सरकारको पहलमा भन्दा पनि सुरक्षा निकायमा क्षमतावान व्यक्तिहरु नेतृत्वमा पुगेकाले यसरी सहकार्य बनेको हो । हाल चारै निकायमा विगतमा भन्दा इमान्दार र संगठनलाई केही गरौं भन्ने भावना भएका अधिकारीहरु छन् ।

प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरीका आइजिपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा चारै जना इमान्दार र क्षमतावान अधिकृतका रुपमा पहिचान बनाउन सफल व्यक्ति हुन् । उनीहरुबीच सहकार्य हुँदा राष्ट्रिय सुरक्षा पनि बलियो बनेको छ ।

प्रतिक्रिया दिनुहोस्