
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लाकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर बाहेक सबै पार्टीका शीर्ष नेताहरुको अग्रता कायमै रहेको छ । आइतबार सम्पन्न निर्वाचनको मतगणनामा ठाकुर र यादवबाहेक सबै दलका शीर्ष नेताहरू प्रतिनिधिसभा निर्वाचनको मतगणनामा अगाडि देखिएका छन् ।
सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले झन्डै तेब्बर मतले यादवलाई पछि पारेका छन् । त्यस्तै लोसपा अध्यक्ष महन्थ ठाकुर पनि महोत्तरी ३ मा पछि परेका छन् । उनलाई रामआधार कापर स्वतन्त्र उम्मेदवारले पछाडि पारेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातौंपटक विजयी हुने दाउसहित डडेल्धुराबाट अग्रता कायम गरिरहेका छन् । उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइरहेका छन् । नेपाली कांग्रेस बिपीका कर्ण मल्ल पनि प्रतिस्पर्धामा छन् ।
एमालेका अध्यक्ष केपी ओलीले झापाको निर्वाचन क्षेत्र नं ५ मा झन्डै दोब्बर मतले अग्रता कायम गरिरहेका छन् । सत्तारुढ गठबन्धनबाट उठेका नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाई उनले सुरुदेखि नै पछाडि पारेका छन् ।
हालसम्म घोषणा भएको मतपरिणामअनुसार गोरखा–२ वाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निरन्तर अग्रता कायम गरिरहेका छन् । उनलाई गोरखा–२ मा एमालेका अब्दुस मियाँले पछ्याइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटी पनि प्रतिस्पर्धामा छन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एमालेका अजयकुमार गुप्ताबीच कडा टक्कर देखिएको छ । नेपालले ७६ सय ५७ मत पाएका छन् । गुप्ताले सात हजार २८ मत ल्याएका छन् ।














