काठमाडौं । सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके राउत) जित नजिक पुगेका छन् । उनले आफ्ना प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई दोब्बरभन्दा बढी मतले पछाडि पारेका छन् ।

पछिल्लो मतपरिणामअनुसार सिके राउतले १५ हजार ३४ मत पाएका छन् भने उपेन्द्र यादवले ७ हजार २७१ मत पाएका छन् ।
यो क्षेत्रमा अघिल्लो निर्वाचनमा जसपाका अध्यक्ष प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । त्यसबेला उनले २१ हजार ६२० मत ल्याएका थिए ।
सिके राउत तिनै हुन्, जसले ‘स्वतन्त्र मधेश गठबन्धन’ नामक पार्टी खोलेर झण्डै ६ वर्ष अभियान चलाएका थिए । त्यसबेलदा उनी उनी पटक–पटक पक्राउ र जेल परेका थिए ।
राज्य विप्लवको मुद्दामा जेल सजाय भोगिरहेका उनी २४ फागुन २०७५ मा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारसँग ११ बुँदे सहमति गरेर खुला राजनीतिमा आएका हुन् । त्यसक्रममा उनले स्वतन्त्र मधेश गठबन्धन पार्टी विघटन गरेर जनमत पार्टी गठन गरेका थिए ।
आज उनै जनमत पार्टीका तर्फबाट संसदीय चुनाव लडेका सिके राउतको संसदीय यात्रा निश्चित भएको छ । यससँगै मधेशमा सिके राउतको उदय पक्का देखिएको छ ।














