
काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । केही क्षेत्रको अन्तिम मत परिणाम आइसकेको छ भने केही क्षेत्रको आउने क्रममा छ ।
हलसम्मको मतपरिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले तीन ठुला पार्टीका उम्मेदवारलाई पराजित गरिसकेको छ भने २ स्थानमा अग्रता लिइरहेको छ । प्रचलित संविधानले व्यवस्था गरेको गणतन्त्र, धर्मनिरपेक्षता, संघीयतासहितका विषयमा फरक विचार राख्दै आएको राप्रपाका उम्मेदवारसँग केही पूर्वमन्त्री पराजित भएका छन् ।
झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग कांग्रेस नेता तथा पूर्वमन्त्री कृष्णप्रसाद सिटौला पराजित भए । लिङ्देनले ४० हजार ६ सय ४८ मत प्राप्त गर्दै निर्वाचित हुँदा सिटौलाले ३७ हजार ३ सय ७२ मत पाएर पराजित हुन पुगे ।
मकवनापुर क्षेत्र नम्बर १ मा राप्रपाका दीपकबहादुर सिंहसँग राप्रपा नेपालका अध्यक्ष तथा पूर्वमन्त्री कमल थापा पराजित भए । सिंहले २७ हजार ८१६ मत ल्याएर निर्वाचित हुँदा पूर्वउपप्रधानमन्त्री थापा २५ हजार ४२० मतसहित पराजित हुन पुगे ।
यसैगरी, ध्रुवबहादुर प्रधानले पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाई पराजित गरेका छन् । नवलपरासी–२ मा प्रधानले कांग्रेसका उम्मेदवार कंडेललाई १९ हजार ५९५ मतान्तरले हराएका हुन् । प्रधानले ३४ हजार ९५९ मतसहित निर्वाचित कँडेलले १९ हजार ५९४ मत मात्र ल्याए ।
रुपन्देही ३ मा बहालवाला गृहमन्त्री बालकृष्ण खाणलाई पछि पार्दै राप्रपाका दीपक बोहराले अग्रता लिइरहेका छन् । पछिल्लो अपडेटअनुसार बोहराले २७ हजार ६३१ मतसहित अग्रता लिइरहँदा खाणले २७ हजार १५८ मतसहित पछ्याइरहेका छन् ।
त्यसैगरी, चितवन क्षेत्र नम्बर ३ मा विक्रम पाण्डेले २२ हजार ९३७ मतसहित अग्रता लिइरहेका छन् । उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार डा भोजराज अधिकारीलाई ८ हजार ३५२ मतले पछि पारेका छन् । माओवादीका उम्मेदवार अधिकारीले १८ हजार ७५१ मत पाएका छन् ।














