Logo
Logo

पाँच पदाधिकारीको पराजयले एमालेमा खैलाबैला



काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुनेक्रम लगभग अन्तिम चरणमा पुगेको छ ।

यस पटकको निर्वाचन विभिन्न कारणले रोचक बन्यो र बन्ने क्रम जारी छ । निर्वाचन रोचक बन्नुका कारणमध्ये ठूला दलका शक्तिशाली पदाधिकारीको पराजय पनि एक हो ।

हालसम्म नेकपा एमालेका पाँच जना पदाधिकारी तथा शक्तिशाली नेता पराजित भएका छन् । शक्तिशाली पदाधिकारी नै पराजित भएपछि एमालेमा सन्नाटा छाएको छ । खैलाबैला मच्चिएको छ ।

ईश्वर पोखरेल– विजय यात्रामा पूर्णविराम
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार थिए । तर, कांग्रेसका उम्मेदवार युवा नेता प्रदीप पौडेलसँग पराजित भए ।

निकटतम प्रतिस्पर्धी रहेका पोखरेलले १० हजार १७५ मत पाए थिए । तर, उक्त मत जितका लागि पुग्दो भएन । १५ हजार २३७ मत प्राप्त गर्दै पौडेलले फराकिलो जित निकाल्दा ईश्वर स्तब्ध भए ।

सुुरेन्द्र पाण्डे– बल्ल टिकट पाए तर जित्न सकेनन्
नेकपा एमालेका उपाध्याक्ष सुरेन्द्र पाण्डेलाई १२ बुँदे समूहका नेता भएकाले एमाले अध्यक्ष केपी ओलीले टिकट दिन चाहेका थिएनन् ।

अन्तिममा प्रतिनिधिसभा सदस्यको टिकट त पाए तर जित्न सकेनन् । चितवन–१ बाट प्रतिनिधिसाभ सदस्यको उम्मेदवार बनेका पाण्डे नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालसँग पराजित भए ।

३४ हजार १८९ मत पाएर ढकाल निर्वाचित हुँदा पाण्डेले भने २६ हजार ६०६ मात्र पाए ।

शंकर पोखरेल– सवथोक थियो तर जित सम्भव भएन
नेकपा एमालेका महासचिव शंकर पोखरेललाई निर्वाचन जित्न सबथोक थियो । पार्टी संगठनको बलियो साथ थियो । तर, जित सम्भव भएन ।

शंकर दाङ–२ बाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार थिए । तर, नेकपा माओवादी केन्द्रका उम्मेदवार शेखा शर्मासँग पराजित भए ।

मतका आधारमा राम्रै प्रतिस्पर्धामा रहेका शंकले अन्य नेताहरु जस्तै भारी मतले पराजित भएका होइनन् । तर, उनले पाएको मत जितका लागि पुग्दो भएन ।

२६ हजार ८७७ मत प्राप्त गर्दै रेखा निर्वाचित हुँदा शंकरले भने २६ हजार ६८१ मत पाए । तर, उक्त मतले शंकरको संसद यात्रा तय हुन सकेन ।

प्रदीप ज्ञवादी– संसद यात्रा रोकियो
एमालेका उपमहासचिव प्रदीव ज्ञवाली गुल्मी–१ बाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार थिए । तर, उनको पनि ससंसद यात्रा रोकियो ।

यस क्षेत्रबाट नेपाली कांग्रेसका चन्द्र भण्डारी ३३ हजार ७४४ मतसहित निर्वाचित हुँदा ज्ञवालीले भने ३२ हजार १५२ मत मात्र पाए ।

अघिल्लो पटक यसै क्षेत्रबाट निर्वाचित भएर मन्त्री भएका ज्ञवाली अबको पाँच वर्ष संसदमा देखिने छैनन् ।

लेखराज भट्ट– एमाले कार्यकताएले रुचाएनन् पूर्वमाओवादी
एमालेका सचिव लेखराज भट्ट पूर्वमाओवादी धारका नेता हुन् । उनी कैलाली–४ बाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार थिए । तर, उनले पनि जित हात पार्न सकेनन् ।

माओवादी हुँदा निर्वाचन जित्दै आएका भट्ट एमाले भएपछि भने कांग्रेसका उम्मेदवार वीरबहादुर बलायरसँग पराजित भए ।

२६ हजार १७१ मतसहित बलायर निर्वाचित हुँदा भट्टले भने २२ हजार ५७८ मत मात्र पाए । एमाले भएर संसदीय यात्रा गर्ने भट्टको सपना पाँच वर्षका लागि रोकिएको छ ।

एमाले सचिव पद्यमा अर्याल पनि प्रतिस्पर्धामा छन् । उनी स्याङ्जा–२ बाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार हुन् । तर, यस क्षेत्रमा विवादका कारण मतगणना हुन सकेको छैन । पद्यमा पनि पराजित हुने हो भने एमालेका ६ पदाधिकारी पराजित हुनेछन् ।

एमालेमा सन्नाटा र खैलाबैला
शक्तिशाली पदाधिकारी नै पराजित भएपछि एमालेमा सन्नाटा छाएको छ । साथै, जितिने भनेको ठाउँमा समेत पदाधिकारी पराजित भएपछि एमालेभित्र खैलाबैला भएको छ ।

देशभर राम्रै नतिज आइरहेको बेला पदाधिकारी नै पराजित भएपछि एमाले यसको कारण पत्ता लगाउन लागिपरेको छ । आन्तरघात नै पराजयको कारण रहेको बालकोटको प्रारम्भिक निष्कर्ष रहेको छ । यसै आधारमा बालकोटले आगामि दिनमा कदम चाल्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्