Logo
Logo

गणना नै नसकी ‘परिणाममा चित्त बुझ्यो’ भन्ने बेहोराको मुचुल्कामा हस्ताक्षर गराइयो



काठमाडौं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्र इलाम–२ मा मतगणना सम्पन्न नभइ गणनामा सहभागी उम्मेदवारका प्रतिनिधिलाई ‘परिणाममा चित्त बुझ्यो’ भन्ने बेहाेराको मुचुल्कामा हस्ताक्षर गराइएको पाइएको छ ।

यस क्षेत्रमा एमालेबाट नेम्वाङ र नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्का प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा छन् । तर, अन्तिम समयमा हस्ताक्षर नगरिएको मतपत्र भेटिएपछि गणना रोकिएको छ ।

अहिले पनि मतगणना सुरु हुन सकेको छैन । तर दिउँसो ३ बजे नै ‘मतगणना कार्य र परिणाममा हाम्रो चित्त बुझ्यो’ भनी मुख्य निर्वाचन अधिकृतले उम्मेदवारका प्रतिनिधिलाई हस्ताक्षर गराएका हुन् । 

मत परिणाम नै नआई परिणाममा चित्त बुझ्यो भन्ने बेहाेराको मुचुल्कामा हस्ताक्षर गराएको हो । मतगणना सकिएपछि गर्नुपर्ने भएपनि अगाडि नै हस्ताक्षर गराइएको पाइएपछि प्रश्न उठेको छ ।

इलाम नगरपालिकाका वडा नम्बर १ को मतगणनाको क्रममा मतदान अधिकृतको हस्ताक्षर नभएको ४० वटा मतपत्र भेटिएपछि नेपाली कांग्रेसका मतगणना प्रतिनिधि गणनास्थल छाडेर बाहिर निस्केपछि मतगणना रोकिएको छ ।
 
हालसम्म नेम्वाङले २९ हजार १ सय ३५ मतसहित अग्रता लिएका छन् भने खड्काले २९ हजार ५ मत पाएका छन् । १ हजार ९ सय ९२ मत गणना हुन बाँकी नै छ ।

कांग्रेस कार्यकर्ताले गणनास्थल परिसरमा नाराबाजी गरेपछि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन । सर्वदलीय बैठकपछि मतगणना सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्