Logo
Logo

कर्णालीमा एमाले पत्तासाफ, अन्य कुन दलले कति सिट जिते ?



सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमाले शून्य भएको छ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेशका १० जिल्लाका १२ वटै निर्वाचन क्षेत्रमा एमाले पराजित भएको हो ।

अन्तिम नतिजाअनुसार प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले समान चार–चार सिट जितेका छन् भने नेकपा एकीकृत समाजवादीले तीन सिट जितेको छ । राप्रपाले एउटा सिटमा जित हात पार्दा एमाले शून्यमा झरेको हो ।

विसं २०७४ को निर्वाचनमा कर्णालीका १२ मध्ये ६ क्षेत्रमा एमालेले जित हासिल गरेको थियो । तर कर्णालीमा यसपटक प्रतिनिधिसभातर्फ एमाले शून्य भयो ।

प्रत्यक्ष र समानुपातिक गरी कर्णाली प्रदेशसभा ४० सदस्यीय बन्ने छ । निर्वाचनको नतिजा अनुसार प्रदेशमा बहुमतको सरकार बनाउन २१ सदस्य आवश्यक पर्छ ।

प्रदेशका २४ निर्वाचन क्षेत्रमध्ये गठबन्धनभित्र रहेका दल माओवादी केन्द्र र कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेका छन् भने एमालेले प्रदेशतर्फ पाँच सिटमा जित हात पार्दा एक जना स्वतन्त्र सदस्यमा प्रवेश गर्दै छन् । पार्टीगतरूपमा हेर्दा कांग्रेसले नौ र माओवादी केन्द्रले पनि नौ सिटमा जितेकाे छ ।

प्रत्यक्षमा सबै नतिजा आउँदा अहिलेको कांग्रेस-माओवादी गठबन्धनले सरकार बनाउने देखिन्छ । कांग्रेस-माओवादीको गठबन्धन रहेको खण्डमा समानुपातिकसहितको मत जोड्दा कर्णालीमा दुईतिहाइको सरकार बन्ने देखिन्छ ।

अहिलेसम्मको समानुपातिकको नतिजाको प्रतिशतलाई हेर्ने हो भने कर्णालीमा एमालेको बढीमा पाँच सिट आउने देखिन्छ । एमालेको पाँच सिट समानुपातिकतर्फ आएका खण्डमा उक्त पार्टीको प्रदेशसभा सदस्य सङ्ख्या १० पुग्ने छन् भने गठबन्धनमा आवद्ध दलको समानुपातिकतर्फ ११ सिट आउने देखिन्छ ।

यसमा माओवादी केन्द्रको छ र कांग्रेसको पाँच सिट समानुपातिकमा आउने सङ्केत देखिन्छ । यसरी कांग्रेस र माओवादीका प्रदेशसभा सदस्यको सङ्ख्या २९ हुने छ । बहुमतको सरकार गठनका लागि २१ सदस्य आवश्यक पर्छ भने यी दुवै दलसँग दुइतिहाइभन्दा बढी सदस्य हुनेछन् ।

सत्ता समीकरण बदलिएको खण्डमा तीनवटै पार्टीले आफ्नो नेतृत्वमा सरकार गठन गर्नका लागि पहिलो प्रयास गर्नेछन् । समीकरण फेरिएको खण्डमा प्रदेश सरकार गठनका लागि एमाले निर्णायक ‘पोजिसन’मा हुने छ ।

प्रतिक्रिया दिनुहोस्