काठमाडौं । महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन खोजेपछि त्यहाँ आन्दोलन चर्किएको छ । सुकुम्बासी बस्ती हटाउन महानगरको टोली थापाथली पुगेपछि उनीहरु प्रतिकारमा उत्रिएका हुन् ।

बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले प्रहरी परिचालन गरेर हटाउन खोजेपछि खुकुरी, इँटा र ढुंगासहित स्थानीयहरुले प्रतिकार गरिरहेका छन् ।
आफूहरु बस्दै आएको ठाउँ नछाड्ने भन्दै उनीहरुले बालेन्द्रविरुद्ध चर्को नारावाजी गरिरहेका छन् । उनीहरुले बागमती किनारको बस्ती छिर्ने सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । जसका कारण अहिले सो क्षेत्र तनावग्रस्त बनेको छ ।
स्थानीयहरुले टायर बालेर बाटो अबरुद्ध गर्नुका साथै ‘मर्न र मार्न’ तयार छौँ भन्दै प्रर्दशन गरिरहेका छन् । उनीहरुले आफ्नो कर फिर्ता गर्न पनि माग गरिरहेका छन् ।
एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर नदी किनारका अतिक्रमित बस्ती खाली गर्न सूचना निकालेको थियो । सोही अनुसार बस्ती खाली गर्न टोली पुगेसँगै अहिले थापाथलीको स्थिति भने तनावग्रस्त बनेको छ ।














