Logo
Logo

उद्योग विभाग बन्यो भ्रष्टाचारको अखडा



काठमाडौं । उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले विभागलाई भ्रष्टाचारको अड्डा बनाएका छन् । उद्योग दर्तादेखि नवीकरण, ट्रेडमार्क बितरण र ट्रेडमार्कको मुद्दाको फैसला गर्दा समेत पैसा विना नभएको सेवाग्राहीको गुनासो छ । उद्योगीहरुले विभागभित्र हुने गरेका अनियमितताका बारेमा पटक पटक महानिर्देशकलाई जानकारी गराएको भए पनि उनले चासो देखाएका छैनन् । केही उद्योगीहरुले उद्योग बाणिज्य महासंघको नेतृत्वलाई उद्योग विभागका गलत क्रियाकलापबारे जानकारी गराएका छन् ।

समाचार स्रोतका अनुसार तत्कालीन महानिर्देशक महेश्वर न्यौपानेलाई माथ गर्ने गरी तिवारीले नेतृत्वले भ्रष्टाचार गरेको आरोप छ । उद्योग विभागका हरेक क्रियाकलापमा पैसाविना काम नहुने अवस्था सृजना गरिएको छ । महानिर्देशक आफैं रकम उठाउन तल्लीन भएपछि मातहतका कर्मचारीहरु पनि सेवाग्राहीहरुसँग पैसा उठाउन तँछाडमछाड गरिरहेका छन् ।

निर्वाचन आचारसंहिता जारी भएपछि आफ्नो सरुवा विभाग बाहिर नहुने सुनिश्चित भएपछि महानिर्देशक तिवारीले महिनौं स्थगन गरेर राखेर ट्रेडमार्कका विवादास्पद मुद्दाहरु बोलकबोलका आधारमा फैसला गरेको स्रोतको दाबी छ । स्रोत भन्छ, हरेक हप्ताको बुधबार प्रायः जसो बस्ने इजलास आचारसंहिता जारी भएपछि महानिर्देशकको तजबिजी अधिकार प्रयोग गरी आवश्यकता अनुसार राखिएको छ । प्रायः दिनहुँजसो इजलास राखेर आफ्ना स्वार्थअनुकूलका मुद्दाको फैसला गर्दै आएको बताइन्छ ।

स्रोतका अनुसार कानुनका उपसचिव दीपक घिमिरे र तिवारीको सेटिङका आधारमा मुद्दाको पेशी तोक्ने गरिएको छ । केही समयअघि महानिर्देशक तिवारीकै सेटिङमा औद्योगिक प्रबद्र्धन बोर्डमा मदिराको क्षमताबृृद्धि, म्यादथप लगायतका प्रस्ताव लगिएको थियो । माइक्रो बु्रअरीको लाइसेन्स खोल्नका लागि मापदण्ड बनाउने प्रस्ताव होस् वा नयाँ डिष्टीलरी दर्ताका लागि चुनावअघि नै तिवारीले बोर्डबाट निर्णय गराउन खोजे पनि बदनामीको डरले उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडु पछि हटेका थिए ।

२०७९ असोज २३ गते प्रतिनिधिसभाको उम्मेदवारी मनोनयन दर्ता गर्न मन्त्री बडु दार्चुला गएदेखि नै मंसिर ४ सम्म फर्किएका छैनन् । मन्त्री नभएको मौका छोपी महानिर्देशक तिवारीको विभागमा मनपरी चलिरहेको छ । ट्रेडमार्क मुद्दाको पेशी तोक्दा प्राथमिकता मिचिने गरिएको सेवाग्राहीको आरोप छ । प्रायः यस्तो सेटिङ एभरेष्ट होटलमा हुने गरेको छ ।

बालुवाटारको अदृश्य शक्तिको नाम लिएर असुलीमा लिप्त रहेका तिवारीले मन्त्रालयको उच्च नेतृत्वलाई समेत गुमराहमा राख्ने गरेका छन् । बालुवाटारको दुहाई दिएर मन्त्रालयको नेतृत्वको निर्देशन समेत अवज्ञा गर्दैआएका तिवारीले कार्यकक्षलाई कांग्रेसको चियाखाने अखडा बनाएको आरोप छ । मातहतका कर्मचारीले भन्दा पनि कांग्रेस कार्यकर्ताले उनको कार्यकक्ष भरिभराउ हुने गरेको छ ।

महानिर्देशक तिवारीलाई विभागमा उनी निकट निर्देशक घनश्याम उपाध्याय, शाखा अधिकृतहरु यज्ञ अर्याल, लिला काफ्ले, पवन गुप्तासहितको टीमले अनियमिततामा साथ दिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्