Logo
Logo
टिप्पणी

पुराना दलका हस्तीहरु किन हारे ?



काठमाडौं । आमनिर्वाचन सम्पन्न भएर अन्तिम नतिजा सार्वजनिक हुने क्रममा छ । अहिले नै सबै कुरा यकिन भन्न नसके पनि प्रारम्भिक नतिजाबाट धेरै कुरा आकलन गर्न सकिन्छ ।

यसपटकको निर्वाचन आमरुपमा सोचेभन्दा फरक नतिजा आएकामा धेरैले अप्रत्याशित मानेका छन् । तर, यो परिणाम अप्रत्याशित भने होइन । यसको संकेत गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँबाट बालेन्द्र साहले र धरानबाट हर्क साङपाङहरुले विजय प्राप्त गर्दा नै आइसकेको हो । तर, राजनीतिक दलहरुले त्यसलाई संवेदनशील ढंगले लिएनन् ।

त्यो संकेतलाई आत्मसात गरेर समयमै सचेत भएको भए यो परिणाम आउने थिएन अथवा यसको झट्का अलि कम हुने थियो । अझ भन्नुपर्दा पाँच वर्षको प्रतिनिधिसभा साढे तीन वर्षमै विघटन हुनु र त्यसले आम नागरिकलाई दिएको मानसिक तनावलाई सम्झने हो भने एमाले र दलहरुलाई यो झट्का पनि अपर्याप्त नै हो ।

निर्वाचन घोषणापश्चात राजनीतिक दलहरुले आ–आफ्नो सिट संख्या प्रक्षेपण गरेका थिए । नेकपा एमालेले एक्लै १ सय ५० सिटमा जितको घोषणा गरेको थियो । यसैगरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीहरूले पनि बढी नै आशा र अपेक्षा गरेका थिए ।

प्रत्यक्षतर्फ एमाले एक्लैले १४३ स्थानमा उम्मेदवारी दिएकामा मुस्किलले ४३ सिटको छेउछाउमा नतिजा हासिल गर्दैछ । यो मनोनयनको तुलनामा ३० प्रतिशत सफलता हो । नेपाली कांगे्रसले ९१ स्थानमा उम्मेदवारी दिएकामा ५३ को हाराहारीमा नतिजा आउँदैछ । यो करिब ६० प्रतिशत सफलता हो ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले जम्मा ४६ वटा क्षेत्रमा उम्मेदवारी दिएकामा करिब १७ सिटको हाराहारीमा जित हासिल गरेको छ । यो करिब ३७ प्रतिशत सफलता हो । नेकपा माओवादीले अपेक्षाअनुसार जित हासिल गर्न नसकेकै हो ।

नेकपा (एकीकृत समाजवादी)ले जम्मा २० निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएकामा १० सिट जितेको छ । यो ५० प्रतिशतको सफलता हो । राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले पनि धेरै स्थानमा उम्मेदवारी दिएर ७–७ सिट हात पारेका छन् ।

मधेसवादी दलहरुले पनि उम्मेदवारी दिएको तुलनामा कम सफलता प्राप्त भएको छ । यी दलको सफलता करिब ७–८ प्रतिशतको हाराहारीमा छ । यसपटक कुनै पनि दलले १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गर्ने क्षमता राखेनन् । समानुपातिकतर्फको विषय छुट्टै छ ।

यो निर्वाचनमा सर्वाधिक चोट नेकपा एमालेलाई परेको छ । होनहार भनिएका नेता सबै हारेका छन् । एमालेलाई मनोनयन दर्ता गरेको संख्याको तुलनामा ३० प्रतिशतमात्र जित हासिल भएको छ । यस अर्थमा नेपाली कांग्रेसले ६० प्रतिशत, एकीकृत समाजवादीले ५० प्रतिशत, माओवादी केन्द्रको ३७ प्रतिशत सफलता उल्लेखनीय हो । नेपाली कांग्रेससहितको गठबन्धनले करिब १५८ सिटमा मनोनयन दाखिला गरेकामा करिब ९० सिट जित्ने अनुमान छ । यो संख्या करिब ५५ प्रतिशत हुन आउँछ ।

अहिलेसम्म घोषणा भएको मतको परिणामलाई लिएर राजनीतिक दलका नेताहरूले यो परिणाम अप्रत्यासित हो र स्वतन्त्र नामका पार्टी र तिनका उम्मेदवारले ल्याएको मतले राजनीतिको दिशा बरालिन सक्नेजस्ता अभिव्यक्ति दिएका छन् । केही राजनीतिक दलका नेताहरुले पनि दलहरुले सोच्नुपर्ने, आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताउने गरेका छन् । निर्वाचन परिणाम सोचेजस्तो नआउँदा त्यो अभिव्यक्ति आउनु स्वभाविकै पनि हो ।

राजनीतिक दलहरुलाई रास्वपाजस्तो नयाँ दलले समानुपातिकसहित २०-२५ सिट लगेकोमा चिन्ता छ । यसमा अझ एमाले आत्तिनु स्वभाविक हो । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ क्षेत्र नं २, ६, ७, ८ ललितपुर–३ र चितवन–१ समेत ६ सिट एमालेको उम्मेदवारलाई हराइदिएको छ । यी सबै स्थानमा एमाले दोस्रो भएको छ ।

चितवन–२ नेपाली कांग्रेसको लगेको छ । त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक नोक्सान पुर्याएको भनेकै एमालेलाई हो । अरु दलले जित्ने सिटमा उसको अग्रता नै छैन । समानुपातिकमा अरु दललाई पनि दख्खल परेको छ । तर, प्रत्यक्षतर्फ नेकपा माओवादी र समाजवादीलाई कम छोएको छ ।

कतिलाई यो हार्नु नपर्ने व्यक्ति हार्यो भन्ने लाग्न सक्छ । कतिपय ठूला नेता मेहेनत नगरेका कारण हारेको हुन् । जनतासँग नजोडिएका कारण हारेका हुन् ।

अहिले रवि लामिछानेले जितेको धेरैले आश्चर्य मानेका छन् । उसले कति मेहेनत र परिश्रम गरेर रणनीति अपनाएको छ भन्ने आंकलन गर्ने हो भने उ जतिकै मेहेनत गरेर जनतासँग जोडिएको भए अरु नेता आफ्नो थाकथलो छोडेर हिँडनैपर्ने थिएन ।

‘जनतासँग सिधा कुरा’ टेलिभिजन कार्यक्रम सञ्चालन गर्दादेखि नै लामिछानेले अहिलेका दल र मन्त्रीलाई चुनौती दिँदै आएका हुन् । नेताहरूले रविलाई सामान्य एउटा टेलिभिजन सञ्चारकर्मीको रुपमा मात्र लिए । उनको पछाडि कति पीडित जनता छन् भन्ने सोचेनन् ।

धेरै नेता हार्नुको पछाडि अहंकार र दम्भ हो । सामान्य मानिस जित्नुको पछाडि मेहनत, नम्रता र शिष्टता हो । उहारणको लागि दाङवाट माओवादी केन्द्रका रेखा शर्माले एमालेका महासचिव शंकर पोखरेललाई हराइदिइन । शंकर पोखरेल जो आफूभन्दा शक्तिशाली मुलुकमा कोही नै छैन भनी हुंकार दिएर हिडने एउटा पात्र हुन् । नेकपा माओवादा केन्द्रमा रेखा शर्मा एक मात्र निर्वाचित हुने महिला हुन् ।

त्यसैगरी दाङकै एकीकृत समाजवादीका मेटमणि चौधरीले पनि जित हासिल गरे । उपविजेता एमालेकी शान्ता चौधरीले आफ्नो निधारको अबिर झिकेर मेटमणिलाई टीका लगाएर राजनीतिक संस्कार देखाइन् ।

यस्तै, मोरङमा माओवादी केन्द्रका अमनलाल मोदीले कडा मेहेनत साथ एमालेका विनोद ढकाललाई पछारे, भोजपुरका सुदन किराँतीले अर्को भारी मतसहित शेरधन राईलाई पछारे, खोटाङका रामकुमार राईले विशाल भट्टराईलाई पछारे भने एकीकृत समाजवादीका भानुभक्त जोशी, शेरबहादुर कुँवर, प्रेम आलेहरूले पनि जितेर तरक्की गरेका छन् ।

त्यस्तै रुकुमपश्चिमका जनार्दन शर्मा प्रत्येक निर्वाचनमा मत बढाइरहेका छन् । यसपटक करिब ७० प्रतिशत मत प्राप्त गरी विजयी भए । नेपाली कांग्रेसका सीता गुरुङले एमालेका विजय सुब्बालाई पाखा लगाएर जित हासिल गरे । सीता गुरुङ पनि नेपाली कांग्रेसबाट निर्वाचित हुने एक मात्र महिला हुन् ।

तर, केही चर्चित नेता मन्त्रीहरु सतही चर्चामा रहे । निर्वाचनको परीक्षामा उत्तीर्ण हुन सकेनन् । उदाहरणका लागि नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, सुजाता कोइराला, कृष्णप्रसाद सिटौला, महालक्ष्मी उपाध्याय, एमालेका ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, लालबाबु पण्डित, भानुभक्त ढकाल, सुरेन्द्र पाण्डे, महेश बस्नेतहरुको पत्तासाफ भयो ।

त्यस्तै माओवादी केन्द्रका देव गुरुङ, ओनसरी घर्ती, पम्फा भुषाल, गिरिराजमणि पोखरेल, मात्रिकाप्रसाद यादव र नेकपा एकीकृत समाजवादीका विरोध खतिवडा, रामकुमारी झाँक्रीहरू पनि बढारिए ।

राजपाका अध्यक्ष उपेन्द्र यादव बाहिरिँदा जनमत पार्टीका सिके राउत भित्रिएका छन् । लोसपाका अनिल झा र राजेन्द्र महतो पनि बाहिरिएका छन् । उता, नागरिक उन्मुक्ति पार्टीबाट नयाँ अनुहार संसद् प्रवेश गरेका छन् ।

आमरुपमा यसपटकको निर्वाचन परिणाम हेर्दा राजनीतिक दलका नेताहरुप्रति वितृष्णा फैलिएको छ भन्ने स्पष्ट भयो । अघिल्लो प्रतिनिधिसभालाई कहिले विघटन त कहिले घेराबन्दीको नाममा कुनै काम गर्नै दिइएन ।

नेकपा विभाजनले वाम मतलाई छिन्नभिन्न बनाइदियो । यो सबै घटना र परिस्थितिको जिम्मेवार विगतको संसद् विघटन गर्ने पात्रहरू हुन् । तर, जनताले अझै पनि मूलपात्रलाई चेत्ने गरी सजाय दिन सकेनन् । विकृतिका हाँगाबिँगा छिमलिएका छन्, जड बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्