Logo
Logo

यी हुन् प्रदेशसभाबाट केन्द्रमा उक्लिएका ८ सांसद



काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे यसपटकको निर्वाचनमा धादिङ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । विसं २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित पाण्डे यसपटक नेकपा एकीकृत समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

गत निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं १ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित भई प्रदेश नं १ को मुख्यमन्त्रीसमेत भइसकेका भीमप्रसाद आचार्य यसपटक सुनसरी निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

विसं २०७४ निर्वाचनमा कालिकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका महेन्द्रबहादुर शाही यसपटकको निर्वाचनमा कालिकोटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । शाही कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री भएका थिए ।

गत निर्वाचनमा लमजुङबाट प्रदेशसभा सदस्य निर्वाचित भई गण्डकी प्रदेशको मुख्यमन्त्रीसमेत बनेको पृथ्वी सुब्बा गुरुङ यसपटक भने प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । गुरुङ गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री बनेका थिए ।

विसं २०७४ को संसदीय निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं ८ बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका विराजभक्त श्रेष्ठ यसपटकको निर्वाचनमा काठमाडौं ८ बाट सांसद पदमा विजयी भएका छन् । गत निर्वाचनमा विवेकशील साझा पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्य निर्वाचित भएका श्रेष्ठ यसपटक स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

त्यसैगरी, सल्यानको प्रदेशसभा सदस्यमा निर्वाचित भएका प्रकाश ज्वाला यसपटक नेकपा एकीकृत समाजवादीबाट उम्मेदवा भई प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । गत निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित भई ज्वाला कर्णाली प्रदेशको मन्त्रीसमेत बनेका थिए ।

विसं २०७४ को निर्वाचनमा कांग्रेसका तर्फबाट कैलाली ५ (२) बाट निर्वाचित डिल्लीराज पन्त अहिले कैलालीको ५ नं क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । विसं २०७४ को निर्वाचनमा सिन्धुलीबाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका लेखनाथ दाहाल यसपटक सिन्धुली निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस्