Logo
Logo

विश्वकप बेटिङको सेटिङ प्रहरीसम्म



काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा मंगलबारदेखि सेमिफाइनल चरणका खेल सुरु हुँदैछन् । ६० मध्ये ५६ खेल सम्पन्न भइसकेको छ । फुटबल विश्वकपको फिभरले विश्वलाई नै छोएको छ, नेपाललाई नछुने कुरै भएन ।

खेलका कारण मात्र नभई हारजीतको बाजी(बेटिङ)का कारण पनि फुटबलमा धेरैको चासो बढेको छ । फुटबलमा विगतदेखि नै नेपालमा बेटिङ हुँदै आएको छ । गोप्य रुपमा विभिन्न समूहले बेटिङ खेलाउँथे । निश्चित समूहबीच बाजी चल्थ्यो ।

यसपटक भने खुलेआम रुपमै विश्वकपमा बेटिङ लागेको छ । वानएक्सबेट नामक अन्तर्राष्ट्रिय बेटिङ कम्पनीले एजेन्टहरू नै नियुक्त गरेर नेपालमा बेटिङ खेलाइरहेको छ । उसले इसेवा, खल्ती जस्ता मोबाइल वालेटमार्फत सहजै पैसा लेनदेन गर्न मिल्ने गरी बेटिङ चलाएको छ । मोबाइल वालेटमा फेक कागजपत्रका आधारमा अकाउन्ट खोलेर यस्तो धन्दा चलाइएको छ ।

अचम्म त के छ भने यसरी खुलेआम भइरहेको धन्दामा प्रहरीले आँखा चिम्लिएको छ । यस्ता अपराधको अनुसन्धान गर्ने बिशिष्टकृत निकायहरू केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी), काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय जस्ता निकायले अनुसन्धानमा चासो दिएका छैनन् । केही एजेन्टले फेसबुकमै बिज्ञापन गरेर बेटिङ चलाइरहेका छन् । सट्टेबाजका नाइकेहरुसँग कतिपय प्रहरीको दोस्ती भएकाले पनि अनुसन्धानमा चासो नदिएको आरोप लागेको छ ।

सट्टेबाजी खेलाउनेमध्ये कतिपय दरबारमार्ग तथा ठमेलका ब्लक÷रेष्टुरेन्टका सञ्चालक छन् । उनीहरुको प्रहरी अधिकारीसँग घनिष्टता छ । केहीले प्रहरीकै पैसा मिटरब्याजमा चलाएका छन् । यही कारण बेटिङको अनुसन्धान हुन नसकेको एक उच्च प्रहरी अधिकारी बताउँछन् ।

प्रहरी नेतृत्वले बेटिङको अनुसन्धान गर्न पटक पटक निर्देशन दिदा पनि ती निकायले सक्रियता देखाएका छैनन् । जसकारण सिआइबीका एआइजी उत्तमराज सुवेदी तथा अपराध अनुसन्धान कार्यालयका प्रमुख जनकराज भट्टराईमाथि समेत प्रश्न उठेको छ ।

अपराध अनुसन्धान कार्यालयमा १० वर्षभन्दा लामो समयदेखि केही प्रहरी कार्यरत छन् । उनीहरुको गुन्डादेखि अवैध गतिविधिमा संलग्नहरूसँग दोस्ती छ । जसकारण पक्राउ गर्नेभन्दा जोगाउनेमा उनीहरुको भूमिका हुँदै आएको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्