
भोजपुर । भोजपुर बहुमुखी क्याम्पसका प्रमुख भुलानाथ राईमाथि पछिल्लो समय क्याम्पसमा मनपरी गर्दै आएको आरोप लागेको छ । जिल्लाको एकमात्र आंगिक क्याम्पसमा प्रमुख राईले एकपछि अर्को निर्णय तथा गतिविधि एकलौटी गर्न थालेपछि सबैको त्यस्तो आरोप लागेको हो ।
एक गाउँपालिकाको मेला समापन समारोह तथा कुलपूजाको लागि भन्दै सार्वजनिक बिदा दिएको विषय यतिबेला जिल्लामा आलोचनाको विषय बनेको छ । उनी यस्ता कमजोर निर्णायका कारण त आलोचित छन् नै विद्यार्थी संगठन माथिको हस्तक्षेप तथा आर्थिक अनियमितताको आरोप समेत विद्यार्थी सङ्गठनले लगाएका छन् ।
चमेनागृह निर्माणमा अनियमितताको आरोप
क्याम्पस प्रमुखमा राई नियुक्त भएपछि उनलाई क्याम्पस परिसरमा निर्माण गर्न लागिएको चमेनागृहमा आर्थिक चलखेल गरेकोसमेत विद्यार्थी सङ्गठनहरूले आरोप लगाएका थिए ।
क्याम्पस प्रशासनले कोटेशनमार्फत बनाएको सो भवनमा विनियोजित बजेटअनुसार नभएको आरोप राईमाथि थियो । चमेनागृह निर्माणका लागि विभिन्न स्थानीय तहबाट आएको १८ लाख बजेट मध्ये १४ लाखको कोटेशनमार्फत निर्मित चमेना गृह कम गुणस्तर र बजेट अनुसारको नभएको भन्दै विद्यार्थी आन्दोलित भएका थिए । विद्यार्थी संगठनको चर्को विरोधपछि सर्वदलीय बैठक बसेर समस्या समाधान गर्नुपरेको थियो ।
विद्यार्थी सङ्गठनमाथि हस्तक्षेपको आरोप
विद्यार्थी संगठनहरुले क्याम्पसमा संगठन विस्तार तथा गतिविधिहरू बढाएपछि एकाएक क्याम्पस प्रमुख राई रुष्ट बनेका थिए । उनले कक्षाकोठामा गएर विद्यार्थीहरूलाई आफू अन्य क्याम्पस प्रमुख जस्तो नभएको र आफ्नो हैसियत त्रिविको प्रमुखसँग मात्र मिल्ने भन्दै विद्यार्थीहरुलाई संगठनको क्रियाशीलतामाथि प्रश्न उठाएपछि सबै विद्यार्थी संगठनले प्रमुख राईलाई आपत्ति जनाउदै ध्यानाकर्षण गराएका थिए ।
क्याम्पसमा विद्यार्थीहरुको समस्याको पैरवी गर्न सक्रिय विद्यार्थी संगठनको औचित्यमाथि प्रश्न उठाएको भन्दै सबै विद्यार्थी संगठनले विज्ञप्तिमार्फत विरोध जनाएका थिए ।
अनावश्यक शुल्क वृद्धि
त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित आंगिक क्याम्पसले क्याम्पसका अन्य सरोकारवाला निकायसँगको समझदारीमा शुल्क वृद्धि गर्न पाउने नियम छ । तर, भोजपुर बहुमुखी क्याम्पसले सरोकारवाला निकायसँग पर्याप्त छलफलनै नगरी शुल्क वृद्धि गरेको छ । छलफलका क्रममा विद्यार्थी संगठनहरुले शुल्क वृद्धि गर्न नहुने मत राखेका थिए । तर, क्याम्पस प्रशासनले १० प्रतिशतले शैक्षिक शुल्क वृद्धि गरेको थियो ।
क्याम्पस सञ्चालनका निम्ति स्थानीय सरकारदेखि अन्य सरोकारवाला संस्थाहरूले समेत सहयोग गरिरहेका छन् । थप क्याम्पसको उन्नयन र विकासका लागि समेत छलफल गर्न सकिने पर्याप्त सम्भावना हुँदाहुँदै क्याम्पस प्रशासनले मनमौजी शुल्क वृद्धि गरिएको विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् ।

पुरानो संरचना भत्काउँदा जिन्सी सामान अपचलन
भवन निर्माणका क्रममा पुरानो भवन भत्काउँदा त्यहाँ रहेका जिन्सी सामग्री अपचलनको आरोपसमेत प्रमुख राईलाई लागेको छ । उनले स्थानीय व्यापारीहरुसँग मिलेमतो गरेर सखुवाको काठहरु अपचलन गरी लाखौं रकम हिनामिना गरेको विद्यार्थी संगठनहरुले आरोप लगाएका छन् ।
स्थानीय मेला र देवाली पुजामा सार्वजनिक बिदा
जिल्लाको एक गाउँपालिकाले आयोजना गरेको मेलाको समापन कार्यक्रम र भट्टराईहरुको देवाली पूजामा समेत सार्वजानिक बिदा दिने क्याम्पसको निर्णयपछि क्याम्पस प्रमुख भुलानाथ राई झनै विवादमा तानिएका छन् ।
क्याम्पस प्रशासनले सार्वजानिक सूचना जारी गर्दै रामप्रसाद राई गाउँपालिकाको वडा नम्बर २ भुल्केमा २७ गते सञ्चालन हुने भट्टराईहरुको कुलपूजा देवाली र पौवादुङमा गाउँपालिकामा सञ्चालित मेलाको समापन समारोह भन्दै सार्वजानिक बिदा दिने निर्णय गरेको हो ।
क्याम्पस प्रमुखको यस्ता गतिविधिहरुको विद्यार्थी सङ्गठनहरूले त भण्डाफोर गरेकै छन् क्याम्पसमा अध्यानरत कुनै पनि संगठनमा आवद्ध नभएका स्वातन्त्र विद्यार्थीहरुले समेत ज्ञापनपत्रमार्फत क्याम्पस प्रमुखको ध्यानकर्षण गराएकाछन् ।
क्याम्पस प्रमुख राईको गतिविधिबाट स्थानीय राजनीतिक दलम समेत असन्तुष्ट छन् । क्याम्पस प्रमुखले राजनीतिक आस्थाका आधारमा दादागीरी गरीरहेको नेपाली कांग्रेसका एक नेता आरोप लगाउँछन् । उनले भने– ‘प्रमुख भुलानाथ राई पहिले पेलेर जान खोज्छन् अनि समस्यले उग्ररुप लिएपछि क्षमायाचना माग्छन् । त्यति मात्रै होइन, उनी तल्लो तहमा गिरेर याचनासमेत गर्छन । यो प्रवृत्ति उनको लागि समेत घातक हो अहिले जुन हर्कत गरिरहेका छन् उनले यसबाट दण्डित हुनुपर्छ ।’
यता क्याम्पस प्रमुख राईले भने आ–आफ्नो राजनीतिक पार्टी र विद्यार्थी संगठनहरुलाई नमिलाए काजमा बाहिर जान खोज्ने सवै प्राध्यापकहरुको काज तथा सरुवासमेत रोकिदिने धम्कि दिदै आएका छन् ।
क्याम्पस प्रमुख राई पूर्व मुख्यमन्त्री शेरधन राईलाई देखाएर समेत अध्य प्राध्यापकहरुलाई धम्की दिने गरेका छन् । एक प्राध्यापक भन्छन– ‘पूर्व मुख्यमन्त्रीको नाम लिएर धम्की दिने काम भइरहेको छ । ‘शेरधनलाई मैले राजनीतिक सिकाएको हो । यहाँको सबैभन्दा ठूलो नेता उहीँ हो । मलाई कसैले राजनीति नसिकाए हुन्छ’ भन्दै हामीलाई धम्की दिने काम हुँदै आएको छ ।














