Logo
Logo

धरानका मेयर हर्क साम्पाङ विवादित, आफूले भनेको नमान्नेलाई राजीनामा दिन सुझाव


3.1k
Shares

सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ एउटा आफ्नो अभिव्यक्तिका कारण विवादित भएका छन् । सामाजिक सञ्जालमा सक्रिय मेयर साम्पाङले केही दिनअघि फेसबुक लेखेको स्टाटसका कारण विवादमा आएका हुन् ।

मेयर साम्पाङले गएको मंसिर २७ गते आफ्नो फेसबुक वालमा ‘जोरी खोज्नेहरूको बास उठ्न सक्छ । बल होइन बुद्धि लगा चमारे बुद्धि’ भनेर स्टाटस पोष्ट गरेका थिए । उक्त साम्पाङको अभिव्यक्तिले दलित समुदाय माथि चोट पर्न गएको र यसले दलित समुदायको मौलिक हक र अधिकारलाई कुण्ठित पार्दै दुव्र्यवहार भएको भन्दै कार्यपालिकाका तीन जना सदस्यले विज्ञप्ति नै निकालेर विरोध जनाएका छन् ।

उनीहरूले जारी गरेको विज्ञप्तिमा छ, ‘मेयर साम्पाङले मंसिर २७ गते आफ्नो फेसबुक वालमा जोरी खोज्नेहरूको बास उठ्न सक्छ । बल होइन बुद्धि लगा चमारे बुद्धि’ भन्ने अभिव्यक्तिले दलित समुदाय माथि नै चोट गएको र यसले दलित समुदायको मौलिक हक र अधिकारलाई कुण्ठित पार्दै दुव्र्यवहार भएको’ उल्लेख गरेका छन् ।

धरान उपमहानगरपालिका कार्यपालिका सदस्यत्रय सावित्री परियार, देवीमाया विक र दिनेश गजमेरले विज्ञप्ति निकालेर साम्पाङको अभिव्यक्तिको विरोध गरेका हुन् ।

यसैबीच मेयर साम्पाङले अहिले आएर आफूले भनेको नमान्ने कार्यपालिका सदस्यहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने भन्दै धम्की दिएका छन् ।

कार्यपालिका बैठक नियमित रूपमा बस्न नसकेपछि उनले शुक्रबार पत्रकार सम्मेलन गरी आफूले भनेका नमान्ने कार्यपालिका सदस्यलाई राजीनामा दिन सुझाव दिएका हुन् ।

एक महिनादेखि धरानमा कार्यपालिका बैठक बस्न सकेको छैन । बैठकमा बहुसाँस्कृतिक पार्क बनाउने विषयमा कार्यपालिका सदस्य अनुप देवानले राय राख्दा मेयर साम्पाङले देवानलाई बाहिर जान भनेका थिए ।

मेयर र उपमेयरबाहेक अरु कार्यपालिका सदस्यहरूले बैठकमा रायसमेत राख्नबाट वञ्चित गराएको भन्दै मेयरले माफी माग्नुपर्ने माग राखेका छन् ।

कार्यपालिका सदस्यलाई बोल्न नदिई बाहिर जानु भनेपछि त्यसपछि बैठक बस्न नसकेको हो । बैठक बस्न नसकेपछि मेयर साम्पाङले शुक्रबार पत्रकार सम्मेलन गरेका हुन् । पत्रकार सम्मेलनबारे उनले बिहीबार नै फेसबुकमार्फत जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्