Logo
Logo

लगानीकर्ता न्यौपाने र प्रधानलाई कारबाही गर्ने नेपाल धितोपत्र बोर्डको निर्णय


1k
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डको लगानीकर्ता गुरूप्रसाद न्यौपाने र ज्ञानेन्द्रलाल प्रधानलाई कारबाही गर्ने भएको छ । बोर्डको यही मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

रिडी हाइड्रोपावर कम्पनीमा अध्यक्ष रहेकै समयमा न्यौपानेले ०७७ चैतदेखि २०७८ भदौ पहिलो सातासम्म कम्पनीको सेयर किनबेच गरेका थिए ।

त्यस्तै नेपाल हाइड्रोवापर लिमिटेडको अध्यक्ष रहेका बेला प्रधानले आफ्नो श्रीमती बिमला श्रेष्ठ प्रधान, छोरा चेतन प्रधान र छोरी निभिता प्रधानको नाममा रहेको सेयर कारोबार गरेको खुलेको थियो ।

धितोपत्र दर्ता तथा निस्कासन नियमावली २०७९ अनुसार संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष संलग्न व्यक्तिले पदबाट अवकाश लिएको एक वर्षसम्म त्यो संस्था वा त्यसको सहायक कम्पनीको सेयर किनबेच तथा हस्तान्तरण गर्न नपाउने व्यवस्था छ ।

तर, प्रधान र न्यौपानेले पदमै रहेका बेला शेयर किनबेच गरेकाले उनीहरुलाई कारबाही गर्ने निर्णय गरेको हो । रिडीमा न्यौपानेले गरेको कारोबारबारे अध्ययन गर्न बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई तोकिएको छ भने नेपाल हाइड्रोवापरमा प्रधानले गरेको कारोबारको अध्ययन गर्न कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठलाई अनुसन्धान अधिकृत तोकिएको छ । उनीहरुले ४५ दिनभित्र अध्ययन प्रतिवेदन पेस गर्न दुवै अधिकृतको नेतृत्वमा गठन भएको समितिलाई बोर्डको सञ्चालक समितिले निर्देशन दिएको छ ।

कसुर प्रमाणित भएको खण्डमा २५ देखि ७५ हजारसम्म जरिवाना र कुनै पनि सूचीकृत कम्पनीमा १० वर्षसम्म सञ्चालक समितिलगायतका महत्वपूर्ण पदमा नियुक्ति लिन पाउने छैन ।

प्रतिक्रिया दिनुहोस्