Logo
Logo
कला

‘ब्ल्याक एण्ड व्हाइट टिभीमा पनि राम्री देखिएका थियौँ’



काठमाडौं । म्युजिक भिडियो मोडलिङका लागि चर्चित नाम हो, अञ्जु निरौला । अञ्जुले मोडलिङमै १६ वर्ष विताइसकेका छन् । उनले तीन हजारभन्दा बढी भिडियोमा मोडलिङ गरिसकेका छन् । एक समय लोकदोहोरीको भिडियोमा अञ्जुको राज थियो । मोडलिङ अञ्जुलाई यति फाप्यो, त्यो विगत सम्झेर उनी आफैँ दंग हुन्छन् । उनी भन्छन्, ‘०६३/६४ सालतिर मोडलिङ सुरु गरेकी हुँ । र, ०६५ सालतिर आइपुग्दा यति व्यस्त भएँ कि एकैदिन दुई वटासम्म भिडियो गरेँ ।’

अञ्जुले मोडलिङमा करिअर सुरु गर्दैगर्दा धेरै मोडलले काम पाउनै गाह्रो थियो भने कतिपय मोडल विना पारिश्रमिक काम गर्थे । तर, अञ्जुलाई त्यस्तो अवस्था आएन । उनी भन्छन्, ‘मैले पारिश्रमिक नलिइ काम गरिनँ । पहिलो भिडियोमै १५ सय पाएकी थिएँ ।’ झापामा जम्मेर काठमाडौंलाई कर्मथलो बनाएका अञ्जु अहिले पनि डिमाण्डेड मोडलमा पर्छन् । यिनै चर्चित मोडल अञ्जु निरौलासँग एमपी सुब्बाको जम्काभेट ।

हिजोआज कतिको व्यस्त हुनुहुन्छ ?
पहिले–पहिले जस्तो चाहिँ व्यस्त छैन । खासै फुर्सदमा पनि बस्नु परेको छैन । टेलिसिरियल र म्युजिक भिडियोहरू गर्दै आएकी छु ।

टेलिसिरियलहरू पनि गर्दै हुनुहुन्छ ?
म्युजिक भिडियोबाहेक टेलिसिरियल गर्न थालेको धेरै भयो । मेरो पछिल्लो ‘गौरी’ चाँडै एनटिभीबाट प्रसारण हुँदैछ । र, डिशहोमको ‘रमाइलो टिभी’बाट अर्को पनि मेरो सिरियल ‘बैकुण्ठ यात्रा’ प्रसारणको तयारीमा छ ।

मोडलिङ क्षेत्रमा लाग्नुभएको कति भयो ?
१६ वर्ष पूरा भयो । २०६३ सालदेखि मोडलिङ सुरु गरेकी हुँ । त्यसयता निरन्तर यसै क्षेत्रमा छु ।

त्यो समयमा मोडलहरूलाई काम पाउनै मुस्किल थियो नि, होइन ?
अरुलाई मुस्किल थियो होला । तर, मैले जब मोडलिङ सुरु गरेँ, त्यसपछि कहिल्यै खाली बस्नु परेन । ०६४ सालतिर आइपुग्दा त मैले धेरै काम गरिसकेकी थिएँ ।

त्यो बेला मोडलिङमा लाग्ने सोच कसरी आयो ?
मोडलिङ क्षेत्रमा लाग्छु भनेर मैले सोचेकै थिइनँ । न त मेरो कलाकार भन्ने योजना नै थियो । अचानक यो क्षेत्रमा आएँ । तर, मोडलिङमा लागेपछि अरु पेसा अँगाल्नु परेन । लगातार एक दशकभन्दा बढी मोडलिङमै व्यस्त भएँ ।

अचानक मोडलिङमा लाग्ने अवसर कसरी मिल्यो ?
पहिलो पटक मोडलिङका लागि गायक खड्ग गन्धर्वले आफ्नो गीतको भिडियोमा काम गर्न प्रस्ताव गर्नुभएको थियो । उहाँ रेडियो नेपालमा काम गर्नुहुन्थ्यो । प्रस्तावलाई स्वीकार्दै उहाँको गीत ‘सुनको चुरा’ बोलको गीतमा मोडलिङ गरेँ । त्यसपछि लगातार मोडलिङका लागि अफर आउन थाल्यो ।

तपाईंद्वारा पहिलो अभिनित ‘सुनको चुरा’ हिट भयो कि भएन ?
थाहा छैन । त्यो बेला अहिले जस्तो युट्युबको जमाना थिएन । गीत बज्ने भनेको टिभी वा रेडियोमा हो । अहिले त्यो भिडियो युट्युबमा पनि पाइँदैन ।

अहिलेसम्म कति भिडियोमा काम गर्नुभयो ?
तीन हजारभन्दा बढी गीतको भिडियोमा मोडलिङ गरेकी छु । कोरोनाकाल पछि त गन्न पनि छाडेँ ।

तीन हजारभन्दा बढी गीतमध्ये केही भिडियोको नाम लिनुपर्दा ?
थुप्रै छन् । झट्ट सम्झेर बताउन गाह्रो छ । तैपनि ‘माया लाउनेहरूमा’, ‘रुन्छु रातिमा’, अञ्जु पन्तले गाउनु भएको ‘कहाँ देखिन्छ र’लगायत छन् । जुन भिडियोहरूको अहिले पनि चर्चा गरिन्छ ।

निरन्तर मोडलिङमै डेढ दशक विताइसक्नुभयो, कलायात्रालाई सम्झदा कस्तो लाग्छ ?
एकदमै रमाइलो । अहिले भिडियो पनि क्वालिटीको बन्न थालेका छन् । राम्रो मान्छेहरूको इन्ट्री भइरहेको छ । मैले मोडलिङ सुरु गर्दा धेरैको घरमा ब्ल्याक एण्ड व्हाइट टिभी हुन्थ्यो । नेपालमा युट्यु्बको ट्रेण्ड थिएन । तैपनि ब्ल्याक एण्ड व्हाइट टिभीमा गोलो अनुहार देखाएर पनि राम्री देखिएका थियौँ ।

त्यो बेला पनि मोडलिङमा प्रतिस्पर्धा त थियो नि ?
मलाई त्यस्तो फिल भएन । किनकि, मैले कसैसँग प्रतिस्पर्धा गर्नु परेन । काम नपाएर खोज्दै हिड्नु परेको भए, थाहा हुन्थ्यो होला । तर, व्यस्त भएपछि काम छाडेर रेस्टमा बस्नु पर्ने अवस्था थियो ।

यति वर्ष मोडलिङका काम गर्नुभयो । तर, फिल्म किन गर्नुभएन ?
मैले केही फिल्म पनि गरेकी छु । ती फिल्म खासै चलेनन् । मलाई फिल्ममा अभिनय गर्ने खास इच्छा थिएन । त्यसैले अफर आएर पनि फिल्म गरिनँ ।

आजभोलि फिल्ममा अफर आयो भने गर्नुहुन्छ ?
गर्दिन, मलाई फिल्ममा काम गर्ने रुची छैन । मलाई भिडियो नै ठीक छ । म्युजिक भिडियोमा काम गरेरै नाम र दाम पाएकी छु । त्यसैले यसैमा खुसी छु ।

प्रतिक्रिया दिनुहोस्