
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा मतदान सकिएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा केहिबेरअघि सकिएको मतदानमा ८९ मत खसेको छ ।
केही बेरपछि मत गणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । कांग्रेस दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा उम्मेदवार छन् ।
सभापति देउवालाई संसदीय दलको नेतामा वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्ताव गरेका छन् । समर्थकमा उपसभापति पूर्णबहादुर खड्का बसेका छन् ।
महामन्त्री थापाको प्रस्तावक डा. शेखर कोइराला बनेका छन् । थापालाई पार्टी संसदीय दलको नेता बनाउने शेखरको प्रस्तावको समर्थकमा उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल बसेका छन् ।
संसदीय दलको नेता नै पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले यस निर्वाचनलाई महत्वपूर्ण मानिन्छ ।














