काठमाडौं । सत्ता गठबन्धनका पाँच दलको बैठक आज बस्ने तयारी गरिएको छ । निर्वाचनपछि शक्ति बाँडफाँडका लागि छलफल गर्न बैठक बस्न लागेको हो । नेपाली कांग्रेसको संसदीय दलको नेता चयन भएलगत्तै सरकार गठनबारे छलफल गर्न बैठक बस्ने भएको हो ।

नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीका अनुसार गठबन्धनको बैठक आज साँझ बस्ने तयारी गरिएको छ । शक्ति बाँडफाँट बारेको प्रस्तावमा अनौपचारिक छलफलका लागि कांग्रेस संसदीय दलको मत परिणामपछि गठबन्धनको बैठक बस्ने तयारी भएको उनले बताएकी छन् ।
यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आज सत्ता गठबन्धनको बैठक बस्ने जनाएका छन् । प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख उपसभामुखमा सवालमा कांग्रेसको निर्वाचन परिणामलगत्तै बैठक बस्ने कुरा भएको प्रचण्डको भनाइ छ ।
यसअघि सांसदहरूको शपथ ग्रहणपछि शक्ति बाँडफाँटको छलफल गर्ने गठबन्धनको तयारी थियो । सांसदहरूको शपथ पुस ७ गते तोकिएको छ ।














