काठमाडौं । प्रतिनिधि सभाका पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध दायर भएको मुद्दा बुधबार पनि हेर्न नभ्याइने हुँदै सुनुवाइ सरेको छ ।

सापकोटाविरुद्धको रिट निवेदनमाथि सुनुवाइका लागि लामो समयपछि बुधबार संवैधानिक इजलासमा पेसी तोकिएको थियो । बुधबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा पेसी तोकिएकोमा हेर्न नभ्याउने हुँदै सुनुवाइ सरेको हो ।
सापकोटाविरुद्धक मुद्दा यसअघि पनि पटकपटक पेसीमा चढे पनि हेर्न नभ्याइने हुँदै सर्दै आएको थियो । यसअघि पछिल्लोपटक २०७९ वैशाख १४ गते उक्त मुद्दा पेसीमा चढेको थियो । तर, हेर्न नमिल्ने हुँदै स्थगित भएको थियो ।
सापकोटाविरुद्ध काभ्रेकी पूर्णिमाया लामा, सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते रिट निवेदन दर्ता गरेका थिए । बुधबार समेत गरी हालसम्म यो मुद्दा ५३ पटकसम्म सुनुवाइको पेसी तोकिएको छ । उक्त मुद्दा २०७२ सालदेखि संवैधानिक इजलासमा विचाराधीन छ।














